नर्स अन्जु न्यौपाने पहिलो मोडमा

कपिल अन्जान
कोहलपुर, जेठ १२,

नर्स अन्जु न्यौपानेको पहिलो उपन्यास ‘मोड’ शनिबार कोहलपुरमा विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान आख्यान विभागको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि सूदुरपश्चिम साहित्य समाजका अध्यक्ष तथा कथाकार रामलाल जोशी, वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले उपन्यासको संयुक्त रुपमा विमोचन गरे ।

कथाकार रामलाल जोशीले ‘मोड’ उपन्यास सशक्त रुपमा आएको र यसले जीवनको एउटा सुन्दर पाटोलाई उजागार गरेको बताए । उनले लेखकले सकेसम्म आफुले भ्याएसम्म कथा र पात्रलाई न्याय गरेको पनि बताए । लेखक सागर गैरे, नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य हरि प्रसाद तिमिल्सिनाले लेखक न्यौपानेलाई शुभकामना दिँदै उपन्यासले नेपाली साहित्यमा एउटा इटा थपिएको बताए ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले उपन्यासले आम महिलाहरुको जनजीवनका सवालहरुलाई माथी उठाएको बताए । पुरुषहरुले मात्रै पुस्तक प्रकाशन गरिरहँदा पुरुषहरुकै दाँजोमा अन्जुको उपन्यास आउनु एउटा चुनौती भएको र यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताए ।

आख्यान विभागका सचिव तथा कथाकार सुमित्रा न्यौपानले महिलाहरु पनि यसरी साहित्य लेखनसँगै पुस्तक प्रकाशन गर्नुले नेपाली साहित्यले फड्को मार्ने बताइन् । उनले अब महिलाहरुलाई लेखनमा सक्रिय बनाउन आफुहरु लागि पर्ने बताइन् ।

समालोचक पुष्कर रिजालले कृतिका विषयवस्तु, पात्र छनोट, लेखनशैली आदिले पाठकहरुलाई कुनै पनि ठाउँमा निराश नबनाउने बताए । उनले सामाजिक अभियन्ता समेत रहेकी लेखिका अन्जु न्यौपानेको मोेडले समाज परिवर्तनको अपेक्षा गरेको कुरा व्यक्त गरे ।

पछिल्लो समय समग्र पश्चिम क्षेत्र आख्यानमा सशक्त रुपमा अगाडि बढ्दै गएको र सबैका आख्यानमा मौलिकताले स्थान पाएको प्राज्ञ सनत रेग्मीले बताए । उनले आख्यानमा कलम चलाएको लेखक न्यौपानेले बधाई एवं शुभकामना पनि दिए ।

कार्यक्रममा सिर्जन लम्साल, टि.एस. ठकुरी, कृष्ण गिरी ‘मधुवन’ देवकी निरौला, हरि सुवेदी, ऋचा लुइँटेल, कल्पना खरेल, शान्ती अधिकारी, तुलसी पौडेल, गणेश जि.सी., कपिल अन्जान, हुकुम धड्कन, नमिता बराल लगायत १५० बढिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस