बेलायती मन्त्रिपरिषद् : गृहमन्त्री भारतीय मूलकी, अर्थमन्त्री पाकिस्तानी मूलका

बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो मन्त्रिपरिषद्मा भारतीय र पाकिस्तानी मुलका ४ नेता समावेश गरेका छन् । उनले गृहमन्त्रीमा भारतीय मूलकी प्रिती पटेल र अर्थमन्त्रीमा पाकिस्तानी मूलका साजिद जाविद नियुक्त गरेका छन्।

२ वर्ष अघि टेरेजा मेसँग विवाद भएपछि मन्त्री पद छाडेकी पटेल जोन्सनको कार्यकालमा पुनः मन्त्री बन्न सफल भएकी हुन् ।

४७ वर्षीय प्रितीको जन्म लण्डनमै भएको हो । तर उनका बाबु आमा भने भारतीय मूल अर्थात गुजराती हुन् । उनीहरु १९६० को दशकमा भारतबाट युगान्डा गएको र त्यहाँबाट भागेर इंग्ल्याण्ड पुगेका थिए । सानैदेखि प्रिती कन्जरभेटिभ पार्टीकी सदस्य भएकी थिइन् । २०१७ मा आफ्नो निजी भ्रमणको रुपमा इजरायल गएपछि विवाद भएको थियो । जसका कारण उनले अन्तर्राष्ट्रिय विकास मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। इजरायल भ्रमणमा गएको भन्दा पनि उनले बेलायती सरकार र राजदूतावासलाई जानकारी नै नदिइ त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्ता गरेकोमा विवाद भएको थियो ।

अन्तर्राष्ट्रिय विकास मन्त्री भएका बेला उनले विकासशील देशलाई बेलायतले दिने आर्थिक सहायतबारे काम गरेकी थिइन् । उनी यूरोपेली संघको कट्टर आलोचक हुन भने समलिंगीको विवाहविरुद्ध मतदान पनि गरेकी थिइन । यसैगरी धूमपानलाई प्रतिबन्ध लगाउन नहुने पक्षमा अभियान नै चलाएकी थिइन् । प्रिती पहिलो पटक २०१० मा सांसद् बनेकाी थिइन् भने ब्रेजिक्ट अभियानकी प्रखर समर्थक हुन् । उनी २०१४ मा ट्रेजरी मन्त्री बनिन् भने २०१५ मा रोजगार मन्त्री बनिन् । प्रितीको आदर्श नेता भने बेलायतकै पूर्व प्रधानमन्त्री मार्गरेट थेचर हुन् ।

यस्तै, ४९ वर्षीय साजिद जाविद पाकिस्तानी मूूलका नागरिक हुन् । उनको जन्म पनि बेलायतमै भएको हो । २०१८ मा थेरेसा मेले उनलाई गृहमन्त्री बनाएकी थिइन् । उनी बेलायतको जातीय अल्पसंख्यक समूदायबाट पहिलो गृहमन्त्री बनेका थिए । उनी २०१० देखि ब्रुम्सग्रोव क्षेत्रबाट लगातार सांसद बन्दै आएका छन् । उनको जन्म रकडेलमा पाकिस्तानी परिवारमा भएको हो । उनले आफ्ना बाबु १७ वर्षको उमेरमै पाकिस्तानबाट कामको खोजीमा बेलायत आएको बताएका थिए । उनका बाबुले सुरुमा कपडा मिलमा काम गरेको र पछि बस ड्राइभर बनेका थिए । दिन र रात नभनी काम गर्ने भएकाले उनका बाबुलाई त्यहाँ ‘मिस्टर नाइट एण्ड डे’ नामले पनि चिन्छन् ।

बोरिस जोनसनको सरकारमा भारतीयमूलका अर्का सांसद आलोक शर्माले पनि स्थान बनाएका छन् । उनी अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बनेका हुन् । ५१ वर्षीय शर्माको जन्म भारतको आग्रामा भएको थियो । उनी पाँच वर्षको उमेरमा बेलायत पुगेका थिए । पेसाले उनी चार्टड एकाउन्टेन्ट हुन् भने राजनीतिमा आउनुअघि १६ वर्षसम्म बैंकमा काम गरेका थिए ।

यस्तै, ४९ वर्षीय ऋषि सुनकलाई ट्रेजरी मुख्य सचिव बनाइएको छ । उनी वर्तमान मन्त्रिपरिषद्मा जुनियर लोकल मन्त्री हुन्। उनी रिचमन्डका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस