कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन ७ को फाइनल  आईतबार हुने

नेपालगन्ज १४ भाद्र । कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन ७ को फाइनल प्रतियोगिता भोली आईतबार हुने भएको छ । आईतबार नेपालगन्ज हुने फाइनल प्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समुहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिनुभयो ।
भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिसनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिसनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिसनवाट ११ जना र बाकेकै बैजनाथ गाउँपालिकामा आज भएको अडिसनवाट ७ टीम गरी २८ टीम फाइनलका लागि भएका छन । बाँकेको बैजनाथ गाउँपालिकामा आज भएको चौथो अडिसनवाट ७ टीम फाइनल प्रतिस्पर्धाका लागि छनौट भएका छन ।
अडिसनमा बिद्यालय, क्लब र समुह गरेर १८ वटा टीमको सहभागिता थियो । अडिसनमा पहिलो हुनेलाई रु ५ हजार, दोस्रो हुनेलाई रु ३ हजार र तेस्रो हुने टीमलाई रु २ हजार नगद पुरस्कार बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी विकले प्रदान गर्नु भएको थियो ।
आजको अडिसनमा नृत्य निर्देशक कुलमान नेपाली र नरेन्द्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । नेपालगन्जको विपी चोकस्थित सुनाखरी रेष्टुरेण्टको हलमा भोली बिहान ११ बजे फाइनल प्रतियोगिता शुरु हुनेछ । छनोट चरणमा १० हजारसम्मको नगद पुरस्कार वितरण गरिएको छ भने फाइनल प्रतियोगितामा ५० हजार रुपियां सम्मका नगद पुरस्कार राखिएको एफएमले जनाएको छ ।
तीज नृत्यमा निष्पक्ष मुल्यांकन होस् भनेर राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त कलाकारहरुलाई निर्णायकमा राखिएको छ । यसपाली पनि चर्चित नृत्य निर्देशक कुलमान नेपाली मुख्य निर्णायकमा रहनु भएको छ ।
नेपाली महिलाहरुको महान चाड तीजको संरक्षण संगै नृत्य क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले नाचौं तीज प्रतियोगिता नियमित रुपमा गरिरहेको एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिनु भयो । नियमित संचार कर्मका साथै कला क्षेत्रमा छरिएर रहेका प्रतिभाहरुको खोजी गरी उनीहरुमा भएको क्षमता प्रस्फुटनमा भूमिका खेल्न मिडियाबाट सकेको कोशिष गरिरहेको अधिकारीको भनाई छ ।
नाचौं तीजको सिजन ७ मा नेपालगंजको सुनाखरी रेष्टुरेन्ट, निशान कम्प्युटर टे«डर्स, कमल इन्टरप्राइजेज, कुमारी बैंक लिमिटेड, दैनिक नेपालगंज र खजुराको ग्रीन कटेजले प्रतियोतिामा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस