धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु

(धादिङ) : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।

जनकपुरबाट काठमाडौं जादै गरेको ना ७ ख ५३६४ नम्बरको बसको सिटमै साहको मृत्यु भएको हो । दुवै मृगौला फेल भएर गम्भीर बिरामी भएका साहको जनकपुरमा उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि बसमा चढाएर काठमाडौं लैजाँदै थियो ।

थाक्रे गाउँपालिका–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठक्कर खाएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववेशी बजारनजिकै हुलाकडाँडामा जाममा फसेको थियो ।

जाममै रहेका बेला बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात गम्भीर बनेपछि चालक र यात्रुहरुले एम्बुलेन्स खोज्दा खोज्दै बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले बताए ।

बसको सिटमै मृत्यु भएपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु साह महादेववेशी आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस