सुगर अर्थात मधुमेह राेगबारे जान्नै पर्ने कुरा थाहा छ?

पछिल्लो समय अधिकांश व्यक्तिले तनावपूर्ण जीवन बिताइरहेका छन्। उनीहरुले दैनिकीका साथै खानपानमा ध्यान दिएको देखिँदैन। जंकफुड, फास्ट फुडको प्रयोग बढ्दो क्रममा छ । तारेको, पोलेको, भुटेको खाने कुरामा लोभिरहेका हुन्छन्।

बिलासी जीवनको लत पनि व्यक्तिमा बढ्दै गएको छ । शारीरिक रुपमा सक्रिय हुने कम हुँदै गएको छन् । जसका कारण मानिसहरु विभिन्न रोगको शिकार भइरहेको चिकित्सकहरुको बुझाइ छ।

विज्ञापन

यस्तै मानिसहरुमा भयाभह रुप लिइरहेको छ मधुमेह रोगले। यो रोग नेपालमा मात्र होइन, संसारभरि नै बढ्दै गइरहेको चिकित्सकले बताएका छन्। समान्यतया मधुमेहलाई चिनी रोग भन्ने गरिन्छ।

रगतमा चिनीको मात्रा आवश्यक्ता भन्दा बढी भएको खण्डमा यसले शरीरका विभिन्न अंगलाई असर गर्ने विज्ञहरुले बताएका छन्। यसै विषयका केन्द्रित रहेर देश सञ्चार संवाददाता प्रतिभा चन्दले वीर अस्पतालमा इन्डोक्राइनोलोजिष्ट डा. दीपक मल्लसँग कुराकानी गरेकी छन् ।
मधुमेह भनेको के हो?

सामान्य भाषामा मधुमेहलाई बुझ्नु पर्दा रगतलाई सुगर चाहिन्छ, तर त्यही सुगरको मात्र ‘हाई’ धेरै भयो भने हामी त्यसलाई मधुमेह भन्ने गर्छौँ । चाहे ब्रत बसेको बेला तथा खाना खाइ सकेपछिको रगत चेक गर्दा पनि सुगरको लेभल हाई आयो भने मधुमेह भएको हन्छ।

ब्रत बसेको समयमा १ सय २६ भन्दा माथि, खाना खाएको २ घण्टापछि २ सय भन्दा माथि र सामान्य अवस्थामा पनि २ सय भन्दा माथि सुगर देखा पर्यो भने मधुमेह हो । पिसाब धेरै लाग्ने, धेरै तिर्खा लाग्ने, धेरै भोग लाग्ने, दुब्लाउँदै जाने जस्ता लक्षणहरु देखिएको खण्डमा हामी यसलाई मधुमेह भन्ने गरेका छौँ।
मधुमेह हुनुका मुख्य कारण के–के हुन्?

मधुमेह लाग्नुका थुप्रै कारणहरु छन्। टाइप वान र टाइप टू डाविटिज भन्ने हुन्छ। हाम्रो शरीरमा प्यांक्रियाज भन्ने एउटा ग्रण्थी हुन्छ। त्यो ग्रण्थीको बेटासेल भन्ने हुन्छ। बेटासेलबाट इन्सुलिन आउँछ। इन्सुलिन आउँदै आएन वा प्रोडक्सन नै भएन भने हामी त्यसलाई टाइप वान डाइविटिज भन्ने गर्छौँ, जसको उपचार इन्सुलिन मात्रै हो।

बेटासेलले इन्सुलिन उत्पादन गरिरहेको छ, तर पर्याप्त मात्रमा भने उत्पादन भएन वा इन्सुलिनले काम गर्नु पर्ने ठाउँमा पुगेर राम्रोसँग काम गर्न सकेन भने त्यसलाई हामी टाइप टू डाइविटिज भन्ने गर्छौँ ।

मुख्य हामीले जन्नु पर्ने कुरा भनेकै टाइप वान र टाइप टू डाइविटिज हो। तर अहिले आएर रेस्टेसनल डाइविटिज भन्ने छ। रेस्टेसनल डाइविटिज मुख्यतः गर्भवती महिलामा देखा पर्ने गर्छ। सुरुमा हुँदैन। गर्भवती भएको २४ हप्ता पछाडिदेखि लिएर २८ हप्तासम्ममा रगत जाँच गर्दा सुगर देखियो भने त्यसलाई रेस्टेस्नल डाइविटिज भन्ने गरेका छौँ।

अरु पनि मलिकुलर लेभलमा डाइविटिज प्रकारहरु छन्। टाइप वान डाइविटिज पनि स्टेज वान, स्टेज टू, स्टेज थ्री छ। तर त्यो हामीले जान्नै पर्ने अवस्था भने छैन। त्यसलाई हामीले स्टडिको वा रिसर्चको रुपमा लिने गरेका छौँ।
गर्भावस्थामा देखा पर्ने गरेको मधुमेह डेलिभरी पश्चात ठीक हुन्छ वा रहिरहन्छ?

गर्भावस्थामा सुगर हुन्छ नै। तर डेलिभरी पछि भने आमा र बच्चालाई हुन पनि सक्छ नहुन पनि सक्छ। जोखिम चाहिँ बढ्यो। रेस्टेस्नल डाइविटिज गर्भावस्थामा लाग्ने गरेको डाइविटिज भएका कारण भविष्यमा आमा र बच्चालाई लाग्नेसम्भावना धेरै नै हुन्छ। त्यसकारण डाक्टरको परामर्श लिइरहनु पर्छ।
कुनै पनि व्यक्तिले मधुमेह भएको कसरी थाहा पाउन सकिन्छ?

यसमा के हुन्छ भने किताबमा लेखिएको वा कसैले भनेको जस्तो हुँदैन। कतिपय बिरामी हामी कहाँ कस्तोसम्म आउने गरेका छन् भने आँखै नदेख्ने, मृगौला खराब भएर, खुट्टामा घाउहरु भएरसम्म आउने गरेका छन्। उनीहरुलाई आफूलाई के भएको भनेर थाहै हुँदैन।

मुख सुक्दै जानु, एकदमै धेरै तिर्खा लाग्नु, ज्यादा भोक लाग्नु, दुब्लाउँदै जानु, राति पख धेरै पिसाब लाग्नु नै मधुमेहका मुख्य लक्षण हुन्।

हामीले मधुमेह मात्रै हेरेर पनि हुँदैन, यसबाट हुने कम्पिलिकेसनहरुलाई पनि हेर्नु पर्छ। कम्पिलिकेसनहरु भनेकै आँखा, खुट्टा, मुर्गौला, नशा र मुटु हुन्। यी अंगहरुलाई मधुमेहले आजको भोलि नै हान्ने होइन, तर बिस्तारै हान्छ। कतिपयलाई थाहा हुँदैन र चिकित्सक कहाँ यस्ता समस्याहरु लिएर आउने बिरामीको संख्या धेरै छ।
कुन उमेर समूहमा मधुमेहको समस्या धेरै देखा पर्ने गरेको छ?

उमेरको कुरा गर्ने हो भने, पहिला टाइप वान डाइबिटिजको समस्या बच्चाहरुमा देखा पर्छ भन्ने गरिन्थ्यो। त्यसैगरी टाइप टू डाइबिटिज भने ४० वर्षदेखि माथिको उमेर समूहका व्यक्तिहरुमा देखा पर्छ भन्ने गरिन्थ्यो। तर अहिलेको सन्दर्भमा त्यस्तो छैन। पछिल्लो समय युवा अवस्थामा पनि टाइप टू र वृद्धा अवस्थामा पनि टाइप वान डाइबिटिज देखा पर्न थालेको छ। त्यही भएर यसको उमेर समूह छैन। जसलाई पनि हुन सक्छ।
पछिल्लो समय बालबालिकामा यो रोग बढेको हो?

हो, मधुमेह पछिल्लो समय बालकालिकामा बढ्दो छ। यसको मुख्य कारण भनेकै मोटोपन हो। पहिला पहिला बालबालिकाहरु बाहिर खेल्ने गर्थे र उनीहरुलाई भित्र आऊ भन्ने पर्ने अवस्था थियो। तर अहिले बालबालिकाहरु भित्रै बसिरहने भएकाले भित्रबाट बाहिर जाऊ भन्नु पर्ने अवस्था छ। बालबालिका लागि खेल्ने ठाउँ छैन, उनीहरुका लागि पार्क निमार्ण गरिएको छैन।

उनीहरुको हिँड्ने बानी छैन। शरीरिक व्यायाम बालबालिका लागि अत्यन्तै महत्वपूर्ण छ।

हामीले पनि ‘रन फर लाइफ’ सुरु गरेका छौँ। अर्थात अभिभावकहरु आफ्नो बालबालिकासँग हिँड्नु पर्छ वा स्कूलले पनि यस्ता विभिन्न खालका कार्यक्रमहरु संचालन गर्नु पर्छ।

हरेक दिन उनीहरुलाई ‘वाक अथवा रनिङ्ग’ मा लैजानु पर्छ। जसले गर्दा भविष्यमा उनीहरुमा कुनै पनि प्रकारको कम्पिलिकेसनहरु नआउन्।

दगुर्नु पर्छ भनेका हैनौँ। हाम्रो भनाई दिनमा आधा घण्टा हिँड्नुस् भन्ने हो। फोन गर्दा उभिएर वा बसेर गर्नुको साटो यता उता हिँडेर बोल्दा पनि त हुन्छ नि।
मधुमेहलाई वंशाणुगत रोग भन्न मिल्छ?

टाइप टू डाइबिटिज वंशाणुगतमै जान्छ। तर जानै पर्छ भन्ने पनि छैन। आफ्नो परिवारमा कसैलाई मधुमेह छ भने सजक हुनु पर्छ। परिवारमा कसैलाई मधुमेह भएको खण्डमा उक्त परिवारका अन्य सदस्यले समय समयमा रगत परिक्षण गराउन अत्यन्तै महत्वपूर्ण हुन्छ।

उसो त ४५ वर्ष कटेका प्रत्येक व्यक्तिले रगत परीक्षण गर्न अति आवश्यक छ। यति मात्र नभएर उच्च रक्तचापका बिरामीले ३० वर्षदेखि नै जाँच गराउनु उत्तम हुन्छ।
यसको उपचार के छ?

उपचार भनेको सबै भन्दा पहिला अनुशासनमा जान्छ। कुनै पनि व्यक्तिको क्रियाकलाप बढाउनु पर्ने हुन्छ। कोही बसिरहने छन् भने उनीहरुले हिँड्डुल गर्नु पर्छ।

त्यसैगरी सबै भन्दा महत्वपूर्ण भूमिका खेल्ने भनेकै डाइटले हो। चिल्लो, तारेको, फ्राई गरेका जस्ता खानेकुराहरु खानु हँदैन। फास्ट फुडहरु कम गर्नु पर्यो। खानामा सलाद, तरकारीको मात्र बढाउनु पर्यो।

कार्बोहाइड्रेट युक्त खाने कुराहरुबाट सदैव टाढा बस्नु पर्छ।
डा. दीपक मल्ल । तस्बिर : रविन आचार्य/देश सञ्चार

यति गर्दा पनि कम भएन भने मात्र हामी मेडिसिनमा जान्छौँ। ड्रग्स अर्थात औषधि पनि दुई किसिमको हुन्छ। टाइप वान डाइबिटिजमा इन्सुलिनमा जानु पर्छ भने टाइप टू मा भने हामी औषधिमा जाने गछौँ। जसले शरीरमा इन्सुलिनको मात्र बढाउने वा इन्सुलिनले गर्नु पर्ने काम गर्ने गर्छ। यति गर्दा पनि कन्ट्रोल नभएको खण्डमा टाइप टूका लागि पनि इन्सुलिनकै प्रयोग गर्नु पर्ने हुन्छ।

यसलाई पूर्ण रुपमा निको पार्न त सकिँदैन तर मिनिमम डोजको औषधि खाएरसुगर कन्ट्रोल छ भने ट्राइलमा राख्न मिल्छ। तर बिरामी आफै चिकित्सकको फलो अपका लागि भने आइरहनु पर्छ।
खानामा भातको साटो रोटी खाँदा मधुमेहलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने कतिपयको बुझाई छ नि?

होइन, रोटी मात्र खाएको ‘इग्जाम्पल’ हामी कहाँ भारत, पाकिस्तानमा छ। त्यहाँका मानिसहरु बढी रोटी नै खान्छन्। तर उनीहरुलाई नै मधुमेह छ।

रोटी खाएर मधुमेह कम हुने भन्ने होइन। रोटीको मात्रा कम गर्नु पर्छ। भात नखाएर रोटी मात्रै ६–७ वटा खान त भएन नि। त्यो पनि त कार्बोहाइड्रेट त हो। त्यसकारण रोटी, च्याँख्ला, ढेँडो खाएर मधुमेह घटाउँछु भन्ने तिर कोही पनि लाग्नु हुँदैन।
नेपालमा यसको अवस्था कस्तो छ?

नेपालका लागि हामीसँग सन् २०१९ को डाटा छैन। तर सन् २०१७–१८को तथ्याङ्कलाई हेर्ने हो भने नेपालका ४ प्रतिशत जनसंख्यालाई मधुमेह छ। सन् २०१६ मा ३.३ प्रतिशतलाई देखिएको थियो भने पछिल्लो समयमा बढेको देखिएको छ।

यो हरेक वर्ष बढ्छ, किनभने हरेक दिन नयाँ नयाँ प्रविधि भित्रिरहेका छन्। मोवाइल फोन, ग्याजेट, ल्यापटप, टिभी जस्ता कुराले मानिसलाई घरभित्रै बाँधेर राख्ने गरेका छन्। अझ पछिल्लो समय चलेको अनलाइन सपिङ्गले घर भित्रै बसेरै सबै कुरा घरमै आइपुग्छ।

जसले गर्दा मानिसहरुमा मोटोपन बढिरहेको छ। मधुमेह हुनुको एक प्रमुख कारण यो पनि एक हो।
यो रोगबाट बच्नका लागि कस्ता उपाय अपनाउन सकिन्छ?

मधुमेह मुख्य कारण भनेकै तनाव हो। त्यसैले सबै भन्दा पहिला तनाव कम गर्नु आवश्यक हुन्छ। आफ्नो जीवनशैली परिवर्तन गर्नु पर्यो। परिवारसँग समय बिताउन पर्यो।

हामी सबैलाई यहि सल्लाह दिने गरेका छौँ। जतिसक्नु हुन्छ हिँड्ने गर्नुस्। एकै पटक होइन थोरै–थारै गरेर पटक पटकमा खाना खाने गर्नुस्। धुम्रपान गर्नु हुन्छ भने स्मोक गर्नु छोड्नुस्।

परिवारमा कुनै पनि व्यक्तिलाई मधुमेह छ भने अन्य सदस्यले रगत जाँच गराइरहनु पर्छ। जसले गर्दा जति चाडो पत्ता लाग्यो त्यति नै रोकथाम गर्न सकिन्छ।
यो रोगका बिरामी कस्तो खाने कुरामा ध्यान पुर्याउन जरुरी छ?

हाम्रो नेपालीको कस्तो हुन्छ भने बिरामीले यो पनि नखाने त्यो पनि नखाने भन्ने हुन्छ। तर हामीले त्यस्तो गर्नै मिल्दैन। बिरामीलाई खानेकुरामा रोकटोक गर्न थाल्यो भने बिरामीले तनाव लिनुका साथै ऊ दुब्लाउँदै जान्छ।

बिरामी हिँड्डुल गर्नका लागि तागत चाहिन्छ। त्यसैले हामीले बिरामीलाई घरमा जे पाक्छ त्यो खानुस् भनेर सल्लाह दिने गरेका छौँ। तर अनावश्य भने खानु भएन। थोरै भात, आलु राटी खानुस् तर त्योभन्दा पनि धेरै मात्रामा सलाद, तरकारी खानुस्।
मधुमेहका बिरामीलाई भविष्यमा अप्ठ्यारो नआओस्, भन्नका लागि के गर्न सकिन्छ?

यो रोगका विरामीले एउटै चिकित्सकलाई मात्र नभएर विभिन्न अन्य चिकित्सकहरुलाई पनि भेट्न आवश्यक छ। आँखाको लागि आँखाको चिकित्सक, मृगौलाको लागि मृगौलाको चिकित्सक, मुटुका लागि मुटुकै चिकित्सकलाई भेट्नु पर्छ।

सकिन्छ ६ महिनामा एक पटक। सकिँदैन एक वर्षमा एक पटक आँखाको जाँच गर्ने पर्छ अझ विशेष गरी गर्भवती महिलाले। अन्धोपनको एक प्रमुख कारण मधुमेहलाई मानिने भएका कारण यसको चेकजाँच गर्नै पर्ने हुन्छ। साभार देशञ्चारबाट

प्रतिक्रिया दिनुहोस