पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि

१० पुस, काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् ।

नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका छन् । प्रतिनिधिसभाको सभामुख यसअघि नै तत्कालीन माओवादीको भागमा परेकाले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने बताएका छन् ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्डले व्यक्ति तोकेर छलफल गरेका छैनन् । उनले सचिवालयमा आफूले नाम प्रस्ताव गर्ने मात्र बताएका छन् । तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् । सम्भवतः नेकपा सचिवालय बैठक शुक्रबार बस्नेछ ।

स्रोतले भन्यो- सभामुखमा दुई अध्यक्षबीच कुरा मिलिसकेको छैन । उहाँहरु आ-आफ्नै अडानमा हुनुहुन्छ । प्रचण्डले सभामुख मैले प्रस्ताव गर्ने हो यसमा ओलीजीले अप्ठेरो पारिदिनुभएन भन्ने आशय प्रकट गर्नुभएको छ । तर प्रधानमन्त्रीचाहिँ अबको संसद झनै पेचिलो बन्ने भएकाले सुवास नेम्वाङलाई बनाउन चाहानुहुन्छ । अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस