नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ।

संस्थापन इतर समूहको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो। ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तरुण दलको म्याद थप गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको उनले बताए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्।

पौडेल समूहले अर्को वर्ष मंसिरभित्रै महाधिवेशन गर्ने गरी निर्वाचनको कार्यतालिका ल्याउनु पर्ने, नेविसंघ, तरुण दल, पार्टीका विभाग लगायतका विषयमा प्याकेजमै टुंगो लगाउनु पर्ने भन्दै बैठक बहिष्कार गर्दै आएको थियो। पटक पटक संस्थापन पक्ष र पौडेल पक्षबीच वार्ता भएपनि सहमति जुट्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस