जाडो मौसममै किन रुघाखोकीले बढी सताउँछ ?

सबैले थाहा पाएकै कुरा हो, जाडो मौसम बढ्दै गएपछि हामीलाई रुघाखोकीले सताउन थाल्छ । अरु बेला सामान्य अवस्थामा रहने हामीलाई जसै जाडो मौसम शुरु हुन्छ, नाक बग्ने, हाच्छिउँ आउने, खोकी लाग्ने जस्ता समस्याले सताउने गर्छ ।

गर्मी महिनामा रुघाखोकी नलाग्ने होइन, लाग्छ तर जाडोको तुलनामा कम नै लाग्५ । फेरि त्यसबेला लाग्ने रुघाखोकीले जाडो महिनामा जस्तो बढी सताउँदैन । अरु बेलामा सामान्य जस्तै लाग्ने रुघाखोकी जाडोमा जण्ड भएर निस्कन्छ, यसले अति नै बेसी दुःख दिन थाल्छ ।

अमेरिकाको सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार, अमेरिकामा मात्रै प्रत्येक वर्ष लाखौं मानिसहरु रुघाखोकीले ग्रस्त हुने गर्छन् ।

के हो रुघाखोकी?

रुघाखोकी भनेको भाइरसको कारण माथिल्लो श्वासप्रश्वास नलीमा हुने संक्रमण हो । यो मानिसहरुलाई सर्वाधिक हुने संक्रमण हो र यसको लागि सबैभन्दा मुख्य जिम्मेवार राइनोभाइरस नै हो ।

त्यसो त रुघाखोकी लगाउने भाइरसहरु २०० भन्दा बढी छन् । तिनीहरुको सख्या त्यतिविधि भएकै कारण हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले तिनका विरुद्ध सम्पूर्ण रुपमा प्रतिरोधी क्षमता विकास गर्न सक्दैन । त्यही कारण नै हो, हामीलाई बारम्बार रुघाखोकी लाग्ने गर्छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार औसत रुपमा एउटा वयस्क मानिसलाई वर्षको २–३ पटक र बच्चाहरुलाई त १२ पटक सम्म पनि रुघाखोकीले सताउन सक्छ ।

रुघाखोकी सरुवा रोग हो । यो हावा र रोगीसँगको सम्पर्कको माध्यमबाट सजिलै सर्ने गर्छ । कतिसम्म भने रोगीमा रोगको लक्षण देखिनुभन्दा १–२ दिनअघिदेखि नै रोगीसँग सम्पर्कमा आएका वा उनले खोकेको, हाँच्छिउ गरेको हावामा सास फेरेका निरोगी मानिसमा पनि यो रोग सर्न सक्छ ।

माथि हामीले चर्चा गरिसक्यौं कि रुघाखोकी जाडो मौसममा बढी लाग्ने गर्छ । यसरी गर्मी मौसमको तुलनामा जाडो मौसममा मानिसलाई बढी रुघाखोकीहरु लाग्नुका पछाडि धेरै कारणहरु विद्यमान रहेको हुन्छ ।

जाडो मौसममा रुघाखोकी लगाउने भाइरस अनुकूल बनिदिन्छ । त्यसैले जाडो मौसम र रुघाखोकी लगाउने भाइरसको बीच पक्कै पनि सम्बन्ध हुनुपर्छ ।

रुघाखोकी लगाउने भाइरस राइनोभाइरस

रुघाखोकी लगाउने भाइरसहरु थुप्रैथरिका हुन्छन् । तीमध्ये पनि प्रमुख भाइरस चाहिँ राइनोभाइरस नै हो । यो भनेको कुनै एउटा मात्रै भाइरस नभएर केही भाइरसहरुको समूह हे । रुघाखोकी र त्यो जस्तो लाग्ने रोगहरुमध्ये आधा जसोको कारण त यही राइनोभाइरस नै हुने गर्छ ।

यो भाइरस त्यस्तो भाइरस हो, जुन जाडो महिनामा चाँडो फैलिने गर्छ । अनुसन्धानहरुले के देखाएको छ भने ९८.६ डिग्री फरेनहाइटभन्दा मुनिको तापक्रममा यो भाइरस चाँडो र धेरै विकसित हुने गर्छ ।

राइनोभाइरसले हुने संक्रमण मूलतः रुघाखोकी जस्तै हुने गर्छ । तर यसले कमजोर इम्युन सिस्टम अर्थात् रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरुमा त बोङकाइटिस, निमोनिया जस्ता जटील रोगहरु पनि गराउन सक्छ ।

राइनोभाइरस मुख्यत दुई तरिकाले सर्छः

पहिलो, रोगीसँगको प्रत्यक्ष सम्पर्कबाट

दोस्रो, रोगीले सास फेर्दा, खोक्दा, हाँच्छिउ गर्दा निस्केको किटाणु हावाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा पस्दा

यसरी राइनोभाइरस हावाको माध्यमबाट शरीरमा पसेपछि त्यो नाकको नलीभित्र टाँसिएर बस्छ । त्यहाँ त्यो बृद्धि हुने र माथिल्लो श्वासप्रश्वास नलीमा सर्दै जाने हुन्छ ।

भाइरसमा जाडो मौसमको प्रभाव

केही अध्ययनहरुले देखाएअनुसार राइनोभाइरस ३७ डिग्री सेन्टिग्रेट वा ९८.६ फरेनहाइटभन्दा कम तापक्रममा बढी सजिलै बृद्धि हुने र फैलिने गर्छ । यो भनेको मानिसको शरीरको औसत तापक्रम हो । हाम्रो नाकको भित्री खोक्रो भागभित्रको तापक्रम ३३ डिग्री सेन्टिग्रेट अर्थात् ९१.४ फरेनहाइट हून्छ । जसले गर्दा त्यहाँको वातावरण राइनोभाइरसका लागि सबैभन्दा उपयुक्त स्थान बन्न पुग्छ ।

अर्को एक अध्ययनमा चाहिँ तापक्रम र वातावरणको आद्रताको विविधताले राइनोभाइरसको संक्रमणमा कस्तो प्रभाव पार्छ भन्ने अनुसन्धान गरिएको थियो । त्यस अध्ययनले तापक्रम र आद्रतामा ३ दिनसम्म घट्दा सहभागीहरुमा राइनोभाइरसको संक्रमणमा बृद्धि भएको देखाएको थियो । सोही अध्ययनमा के पत्ता लागेको थियो भने बहुसंख्यक संक्रमणह तापक्रम शून्य डिग्री सेन्टीग्रेड (३२ डिग्री फरेनहाइट) र त्यो भन्दा तल हुँदा बढी देखापरेको थियो ।

त्यसै गरेर फ्लू गराउने इन्फ्लुएन्जा भाइरस पनि चिसो र सुख्खा हावामा बढी बाँच्ने र सजिलै फैलने गर्छ । गिनीपिगहरुमा गरिएको एक अध्ययनमा इन्फ्लुएन्जा भाइरस फैलिनका लागि सबैभन्दा उत्तम तापक्रम ५ डिग्री सेन्टीग्रेड (४१ डिग्री फरेनहाइट) रहेको देखिएको थियो ।

रोगप्रतिरोधात्मक क्षमतामा असर

थुप्रै अनुसन्धानकर्ताहरुले के विश्वास गर्छन् भने जाडो मौसमले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा प्रतिकूल असर गर्ने गर्छन्, जसले गर्दा हाम्रो शरीरले रोगहरुसँग राम्ररी लड्न सक्दैन । यसको अर्थ के हो भने अरु बेलामा सामान्यत असर गर्न नसक्ने रोगका किटाणुहरुले जाडो मौसममा चाहिँ हामीलाई बिरामी बनाउन सक्छ । यो विश्वास गर्नुका कारणहरु पनि छन् :

भिटामीन डीको कमी: जाडो मौसममा मानिसले कम घामको किरण प्राप्त गर्ने भएको कारण कम भिटामीन डी प्राप्त गर्ने गर्छन् । अनुसन्धानले देखाएको छः भिटामीन डीले मानिसको रोग प्रतिरोधात्मक क्षमताको कार्यक्षमतालाई बलियो बनाउने काम गर्छ ।

वास्तवमा, जाडो मौसमले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्छ । यो मौसममा हाम्रो प्रतिरक्षा प्रणाली अलि सुस्त बन्न जान्छ, जसले गर्दा यसको संक्रमणहरुसँग लड्ने क्षमता पनि कमजोर बनेको हुन्छ । खासगरी, जाडो मौसममा दिन छोटो हुने र रात लामो हुने हुन्छ । यो हुनु भनेको घाम कम लाग्छ । सबैलाई थाहा भएकै कुरा हो कि घामको किरणबाट मानिसले भिटामीन डी प्राप्त गर्ने गर्छन् । भिटामीन डी भनेको त्यस्तो तत्व हो, जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय र बलियो बनाउने काम गर्छ ।

त्यसबाहेक जाडो मौसममा गर्मी मौसमको तुलनामा हावा सुख्खा हुने गर्छ अर्थात् जाडो मौसमको हावामा पानीको मात्रा कम हुन्छ ।

दिन छोटो भएकै कारण तापक्रम पनि घट्छ र चिसो बढ्छ । फलतः हामीलाई सजिलै चिसोले समात्ने सम्भावना पनि बढेर जान्छ । जाडो मौसममा सामान्य रुघाखोकीले सताइहाल्ने गर्छ ।

सबैलाई थाहा भएकै कुरा हो, रुघाखोकी लाग्नुको मुख्य कारण भाइरस हो । जाडो मौसम रुघाखोकीको भाइरसका लागि अनुकूल हुनुका विभिन्न कारणहरु हुने गर्छन् । त्यसमा पनि जाडो मौसममा हामीले अपनाउने जीवनशैली वा रहनसहनको पनि त्यससँग कुनै न कुनै सम्बन्ध रहेको हुन सक्छ ।

रुघाखोकी लगाउने भाइरस जाडो महिनामा चाँडै एक ठाउँबाट अर्को ठाउँमा फैलिने गर्छ । चिसो तापक्रमले यसको लिपिड कोटिङलाई झनै जटील बनाइदिन्छ, जसले गर्दा यो बढी सक्रिय हुन र बाँच्न सक्छ । तातो हावाको तुलनामा चिसो हावामा पानीको वाफ कम हुने गर्छ , जसले गर्दा यो सुख्खा हुने गर्छ । फलतः हामीले खोक्दा वा हाँच्छिउँ गर्दा हाम्रा मुख र नाकबाट निस्कने कणहरु हावामा लामो समयसम्म रहिरहन सक्छ । फलतः एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रुघाखोकी सजिलै सर्न सक्छ ।

जाडोबाट लुक्नुः जब तापक्रम घटेर जाडो बढ्छ, हाम्रो गतिविधि सीमित हुन थाल्छ । जाडोबाट बच्नको लागि हामी धेरै जसो समय घरभित्रै बिताउँछौं र हाम्रा घरका झ्यालढोकाहरु पनि प्रायः बन्द नै रहने गर्छ । यसले गर्दा एकातिर हामीले पर्याप्त मात्रामा ताजा हावा भेट्न पाउँदैनौं भने घरभित्र पनि ताजा हावाको आवातजावात कम हुने गर्छ । फलतः हावामा रहेका किटाणुहरुले बाहिरिने मौका काम पाउँछ र त्यो त्यहीँ वरिपरि नै रहिरहेको हुन्छ । फलतः हामीलाई ती किटाणुहरुले बिरामी पार्ने स्थिति बढी पैदा भइदिन्छ ।

जाडो मौसममा मानिसहरुले आफ्नो अधिकांश समय घरभित्रै बिताउने गर्छन् । यसको अर्थ के हो भने अधिकांश मानिसहरुले यो मौसममा एकआपसका साथ बिताउने गर्छन् । यो भनेको भाइरस फैलिनको लागि सजिलो अवसर हो ।

कम तापक्रमले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ: २०१५ सालमा मुसाहरुमाथि गरिएको एक अध्ययनले तापक्रम कम हुँदा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने गरेको देखिएको थियो ।

रक्तनलीहरु साँघुरो हुनुः चिसो र सुख्खा हावामा सास फेर्दा तातोपन जोगाउनको लागि हाम्रो श्वासप्रश्वास प्रणालीको माथिल्लो नली साँघुरो भएर आउँछ । यसले त्यस क्षेत्रको ओसिलो झिल्लीहरुसम्म सेतो रक्तकोषहरुको आपूर्तिमा पनि बाधा पुर्याउँछ । फलतः त्यसक्षेत्रमा घुसेका किटाणुहरुसँग हाम्रो शरीरले राम्ररी लड्न सक्दैन

प्रतिक्रिया दिनुहोस