बाँकेको नरैनापुर गाउँपालिकाले  स्कुल बस संचालन

‌नरैनापुर(बाँके), माघ १० । बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस संचालनमा ल्याएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस संचालनमा ल्याइएको हो । बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले आज वडा नम्बर १ कट्कुइँयामा स्कुल बसको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले स्कुल बस संचालनपछि सहज स्थितिको सुरुवात भएको बताउनुभयो । उहाँले अभिभावकहरु अब आफ्ना बालबालिकालाई स्कुल पठाउने झंझटबाट मुक्त भएको बताउनुभयो । सांसद् अथकले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उहाँले गंगापुरको जय किसान माविलाई नमुना बिद्यालयको रुपमा विकास गरिने बताउनुभयो। उहाँले प्राविधिक धारको पढाई सुरु गर्ने प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षा समग्र विकासको अपरिहार्य आवश्यकता भएकाले गाउँपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको बताउनुभयो । विद्यालयमा विद्यार्थीको संख्या बढाउन स्कुल बस संचालन गरेको उहाँले बताउनुभयो । शिक्षामा सुधार नगर्दासम्म नरैनापुर पछि परिरहने भन्दै शैक्षिक सुधारको लागि आफुलाई साथ दिन आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस