कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने

विश्व प्रसिद्व फुटबल खेलका खेलाडिहरु उत्पादन गर्नका लागि बाँकेको कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको १३ बिघा जग्गा अन्तर्गतको ५ बिघा १० कठ्ठा जग्गामा एन्फा प्रशिक्षण तथा फुटबल सम्बन्धी भौतिक संरचना निर्माण हुने भएको छ । कोहलपुर नगरपालिकाले अखिल नेपाल फुटबल संघलाई २५ वर्षका लागि उक्त जग्गा भाडामा दिएर प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको छ । मध्य तथा सुदुरपश्चिम क्षेत्रमा फुटबल खेलका खेलाडिहरु उत्पादन गर्ने लक्ष्यका साथ कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बिच उक्त जग्गा २५ वर्षका लागि भाडामा दिने र लिने सम्झौता बुधबार सम्पन्न भएको छ । जग्गा भाडामा लिएसँगै अखिल नेपाल फुटबल संघले सन २०२०को डिसेम्बर सम्म आवश्यक भौतिक संरक्षण निर्माण गर्ने प्रतिवद्वता जनाएको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले कोहलपुरमा आधुनिक र व्यवस्थित फुटबल प्रशिक्षण केन्द्र बनाउने प्रतिवद्वता जनाएका छन् । साथै उनले ६ वर्षदेखि १२ वर्षका बालबालिकाहरुलाई प्रत्येक हप्ताको शनिबार प्रशिक्षण दिईने, खेलाडिहरुलाई आवास सहितका भवन निर्माण गरिने र एकै पटक करिब चार सय बालबालिकाहरुले फुटबलको प्रशिक्षण लिनेसक्ने गरी भौतिक संरक्षणहरु निर्माण गरिने जानकारी दिएका छन् । कोहलपुरमा फुटबल प्रशिक्षण स्थापना भएसँगै पश्चिम नेपालको फुटबल क्षेत्रमा नयाँ आयाम थपिने भन्दै प्रशिक्षण केन्द्रले नेपाली फुटबलमा नयाँ ईट्टा थप्ने विश्वास उनले व्यक्त गरेका छन् ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुरलाई खेलकुदको हब बनाउका लागि फुटबल केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन् । फुटबल प्रशिक्षण केन्द्रको स्थापना भएसँगै यस क्षेत्रका खेलाडिहरुले विश्वमा भईरहने फुटबल खेलहरुमा सहभागिता जनाउने विश्वास लिएको भन्दै नगरप्रमुख रावतले भने ‘प्रशिक्षण केन्द्रले यहाँका बालबालिकाहरु अन्तर्राष्ट्रिय खेलाडिका रुपमा चिनाउने छ र खेलकुदजगतको ईतिहासमा कोहलपुरको नाम चिनाउन खेलाडिहरु सफल हुने विश्वास लिएका छु ।’ साथै उनले संघलाई जग्गा विक्रि नगरेको र खेलाडि उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न २५ वर्षका लागि भाडामा दिईएको बताएका छन् । नगरप्रमुख रावतका अनुसार अब बन्ने फुटबल प्रशिक्षण केन्द्रमा विभिन्न समयमा हुने फुटबलका प्रतियोगितालाई बाधा नपु¥याउने भन्दै पश्चिम नेपालमा फुटबलको केन्द्रका रुपमा कोहलपुरलाई विकास गराईने प्रतिवद्वता गरिएको छ ।
‘जग्गामा कुनै विवाद छैन
कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको १३ बिघा जग्गामा कुनै विवाद नगरेको कोहलपुर नगरपालिकाले स्पष्ट पारेको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले साविक रझेना गाविस वडा नं. ४ को कित्ता नं ९६ मा रहेको १३ बिघा जग्गा २०५३ पुस ४ गते ४९ वर्षका लागि भाडामा लिएको थियो । तर हालसम्म कुनै पनि भौतिक संरचना नबनाएका कारण हाल लुर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले नै दुई पटक कोहलपुर नगरपालिकालाई सो जग्गा आवश्यक नपरेको भन्दै पत्र पठाएको भन्दै जग्गामा कुनै विवाद नगरेको नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् । फुटबल प्रशिक्षणमा जग्गा आवश्यक रहेको खण्डमा अन्य जग्गा उपलब्ध गराउन स्थानिय सरकार तयार रहेको नगरप्रमुख रावतले बताएका छन् ।
१३ बिघामा रहेको उक्त खालि जग्गाको संरक्षण विगतदेखि कोहलपुर रेसिङ्ग साहारा क्लबले गर्र्दै आईरहेको थियो । सोहि जग्गामा फुटबलप प्रशिक्षण बन्ने भएपछि आफु खुशि भएको कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराले जानकारी दिएकाछन् । साथै उनले विगत केहि वर्षदेखि क्लबले संरक्षण गर्र्दै आईरहेको जग्गामा फुटबल प्रशिक्षण निर्माण हुँदा क्लबमा आवद्व खेलाडिहरुलाई फुटबल खेल्न प्रतिवन्द्व लगाउन नपाईने माग समेत गरेका छन् । फुटबलका नयाँ खेलाडिहरु कोहलपुरबाटै उत्पादन गर्न लागिने नेपाल अखिल फुटबल संघ प्रदेश नं. ५ का प्रशिक्षक यूवराज शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस