घरबेटी बा…..

मुरी, पाथी र माना
रोपनी, बिघा र आना
अन्जान यी गणितीय हिसाबहरु
मेरा लागी अनविज्ञ छन्।
तर पनि मलाई थाहा छ
गाउँमा मेरो चौपाया बाध्ने गोठ छ
गोठसँगै
चौपायाको गोबर फाल्ने एक मल खाडल छ।
हो, त्यत्रै पेरीफेरीमा होला
यो सहरमा घरबेटी बाको दुईतले महल छ।

विशाल सहर
सहरका साँघुरा गल्ली,
गल्लीभित्र घरबेटी बाको घर,
साँघुरा कोठा, अँध्यारा चोटा,
तिनै साँघुरा र अँध्यारा कोठाहरुमा
विवेकशिल, विशालता र उज्यालो
भविष्य खोज्नेहरु
जीवनका मिठा सपना बुन्नेहरु
कैयौँ सपना नसकिँदै
आधा सपनामै तर्साउछन्
घरबेटी बा

विश्व ब्रह्माण्ड यही सम्झन्छन्
चार भन्ज्याङ देखाउँदै
मेरो ठेगाना सोध्छन्
जात, धर्म, पेशा बढो केरकार गर्छन्
मनकामना सम्मको तिर्थ गरेको
ठुलो सेखी झार्छन्
घरबेटी बा

मेरा कोठाका चालहरु
ढोकामा तेर्सिएका
जुत्ता, चप्पलका हालहरु
बिजुलीका मिटरहरु
पानिका लिटरहरु
भित्ताका रंगहरु
बलेका बल्बहरु
घरी घरी निरीक्षण गरिरहन्छन्
घरबेटी बा१

दिनदिनै शरिर निउरी मुन्टि खेलेको छ
उमेर यमलोकपुरी
यात्राको सिढि चढेको छ
तेल सकिएको दिपजस्तै
डाँडामाथि घामको धुप जस्तै
तर पनि,
अन्तिम गतेहरुको पर्खाइमा
पात्रोका पानाहरु फर्काइमा
सूर्य ढिलो उदाएकोमा
जुन अस्ताएकोमा
झस्कीने गर्छन्
घरबेटी बा

देशले धेरै संविधान, ऐन र कानून पायो
गणतन्त्र लोकतन्त्र पनि आयो
विडम्बना१
असंसोधनिय र कठोर कानून बनाउछन्
एकात्मक र एक दलिय सत्ता चलाउछन
घरबेटी बा

लाग्छ
यी एक कुवेर हुन्
लंकाका राजा रावण हुन्
विश्व विजेताको सपना देख्ने
नेपोलिएन बोनापार्ट हुन्
हामीलाई यहुदी सम्झिने
निर्दयी हिटलर हुन्
घरबेटी बा

एउटै छाना छ, फरक माना छ
एक अर्कामा
न आशा छ, न भरोसा छ
न करुणा छ, न मानवता छ
तर पनि घरबेटी बा भन्ने एक अचम्मको नाता छ।

लेखक कुशल कुमार थापा
डुङ्गेश्वर गाउपालिका वडा नं. २
हाल : काठमाण्डौबाट

प्रतिक्रिया दिनुहोस