बाँकेका युवकको मृत्यु कोरानाबाटै भएको पुष्टि

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको मृत्यु कोरानाकै कारण भएको पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । हिजो मात्रै सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले ती युवकको मृत्यु कोरोनाबाटै भएको बताउनुभयो । भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजिटिभ देखिएपछि उनको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको हो ।

बैशाख ३० गते भारतको मुम्बईबाट आएर वडा नम्बर ५ भगवानपुरस्थित दिपेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ नयाँ बस्तीका ती युवकको आज विहान ६.४० मा मृत्यु भएको थियो ।

राति एक्कासी ज्वरो आएको र झाडापखाला तथा उल्टी गरेका उनको विहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

उनीसहित त्यस क्वारेन्टाइनमा बसेका ३९ जना र अन्य तीन क्वारेन्टाइनका गरी २ सय ६३ जनाको हिजो स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको थियो ।

यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४५ जनाको बैशाख ३१ गते स्वाब परीक्षण गरिएकोमा ८ जनामा कोरोना देखिएको थियो । उनीहरुको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस