प्यारा मेयर साहेब,
अभिवादन

कृष्ण सरगम भट्टराई
स्मार्ट सिटीको स्मार्ट गफमा सबैभन्दा स्मार्ट भएर नियुक्त भई सय दिन अर्थात हनिमून (सफलता) पूर्वक बिताउनु भएकोमा बधाई दिन उठाएको मेरो कलमको टुप्पो एकाएक भाँच्चिएको छ, सायद तपाईँका लागि प्रशंसाका शब्दहरु लेख्न कलमले मानिरहेको थिएन।
मैले प्राप्त गरेको सूचना यदि गलत हैन भने तपाईले प्रतिबद्धता गर्नु भएको थियो–‘सयदिनमै काठमाडाैंलाई परिवर्तन गरेर देखाईदिनेछु।’ अरुले के गरे थाहा छैन तर मैलेचाहिँ तपाईले शुरु गरेका सकारात्मक कामहरुको चर्चा गर्न भनेर चनाखो भएर बसेको थिएँ, तपाईका बिरोधीलाई यी मेयर साहेब तपाईहरुले सोँचे जस्तै नालायक छैनन् भनेर लेख्छु भनेको थिएँ।
मेयर साहेब,
हुन त यो भद्रगोल काठमाडाैंको ब्यवस्थापन गर्ने काम चानचुने थिएन। देशदेखि बिदेशका एकसे एक मान्छेहरु बस्ने शहर हो यो,त्यस माथिको यो कहाली लाग्दो प्रदूषण,अस्तब्यस्त र अपराधको शहरमा तपाईले सय दिनमै एक से एक काम गर्छु भनेर गणितको सामान्य सिद्दान्तलाई चुनौति दिनु भो तर पदभार भई तपाईको कुर्सी तात्न नपाउँदै जनप्रतिनिधिलाई स्मार्टफाेन किन्ने निर्णय गरेर विवादास्पद बन्नु भो।
पाँच बर्षमा मेट्रो र मोनो रेलको सपना देखाउनु भो जसको बिस्तृत योजनासम्म सम्भव थिएन, स्मार्ट सिटीको गफ दिदैँ स्मार्टफोन लिएर स्मेल सिटीलाई निरन्तरता दिनु भयो अर्थात महानगरको धुलो र धुवाँ र फोहोर ब्यवस्थापनमा सुको काम गर्नु भएन। तपाईँको शहरमा शास त राम्ररी फेर्न पाईन्न अरुको के आश गर्नु र ? नायक बन्ने घोषणा गरेर तपाई नालायक बनिरहँदा मलाई त तपाईँ प्रति रोष लागेर आयो भने मतदाताहरुले के सोच्दै होलान ?
तपाईँको स्मार्ट शहरमा जाबो ढलको बिर्कोसम्म लगाउन नसक्ने कर्मचारीहरु छन्, दिनदहाडै बालबालिकाहरु ढलमा डुबेर मर्छन्, तर तपाईँहरुकै हावा गफ पत्याएर जनताले तपाईँहरुलाई नै निर्वाचित गरे के नै लाग्दो रहेछ र ? तर कमसेकम लाज भन्ने शब्दको त ख्याल राखौँ न !
तपाईले हिलाम्य शहर काठमाडाैंमा बर्षातमा बाटो बनाएर जनताको करको दुरुपयोग त गर्दिन भन्नु भो तर आफैले सवा करोड़ माथिको बिलासी गाड़ी मगाउनु भो, जनताको करको दुरुपयोग गर्दिन भन्नेले त्यो बिलासी गाड़ी सडकमा हो या हावामा चलाउन मगाउनु भएको हो ?
ठूला ठूला गफ गरेर चुनाव त जित्नु भयो तर महानगरवासीको मन जित्न यो सय दिनको समयमा तपाईले सक्नु भएन। तपाईको पदार्पणको बिहानी त्यत्तिकै खेर गयो। यसबिचमा न त तपाईले तपाईकै प्रतिद्वन्द्वी बिज्ञ किशोर थापालाई सुझावका लागि बोलाउनुभयो, न त युवा जोशकी प्रतीक रन्जु दर्शनालाई नै महानगरका युवाका सपनाहरु सुन्न बोलाउनु भयो। तपाईँ पदाधिकारीहरुकै खटपटमा सय दिन खेर फालेको तमाशा हेरे जनताले।
हनिमूनको उत्तरार्धमा दुई पटक कूचो लिएर तपाईँ बाटोमा हिड्दा लागेको थियो–मेयरसाहेबले अब चाहिँ चेतेकै हुन् भनेर तर शहरका मुटु मुटुमा फोहोरका डंगुरमा खिचेका सेल्फीहरुले गिज्याउँदा पो थाहा भो तपाईँको देखाउने र चपाउने दाँत त फरक फरक पो रहेछन्।
मेयर साहेब,
अझै समय सकिएको छैन, आफ्ना नगरबासीहरुँंग यो गफ पुराणको लागि माफि माग्नुस र जनताका साधारण आँखाले देख्ने परिवर्तनका लागि आफ्नो दिब्य दृष्टिल गाउनुहोस् नत्र महानगरपालिकामा फोटो झुन्ड्याउने र जनता झुक्याउने भन्दा बढि केहि हुने छैन। तपाई त देशकै राजधानीको मेयर हो नि !
अरुलाई राम्रो नमूना देखाउने कि नालायकको नमूना देखाउने छनोट तपाईँकै। तपाईका बाँकी दिन सुखद रहून् र अब प्रशंसाका हरफहरु लेख्न कथाले मागोस् !
तपाईको शुभचिन्तक
सरगम
सेताेपाटिबाट