गुलरिया १८ भदौ । बाढी प्रभावित क्षेत्रमा बिरामीको संख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा चौबीसै घण्टा चिकित्सक नभेटिने र प्रयोगशालासमेत खुला नहुँदा रातको समयमा उपचारका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता रहेका छ । बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीलगायत बिरामी बढ्दै गए पनि जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या भइरहेको स्थानीयवासीको गुनासो छ ।
बाढीपछि बिरामीको चाप बढ्दै गएको र अस्पतालमा दैनिक १५० बढी बिरामी उपचारका लागि बहिरंग सेवामा आउने गरेको जिल्ला अस्पताल जनाएको छ । पचास श्ययाको अस्पतालमा दैनिक ५० भन्दा बढी बिरामी आकष्मिक सेवामा उपचारका लागि आउने गरेका छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मी पनि प्रायः नभेटिने गरेको गुनासो बिरामीको छ ।
अस्पतालमा एक वर्षदेखि एनालाइजर उपकरणको सुविधा भए पनि सेवा दिन सकिएकों छैन । एनालाइजर मेसिनमार्फत कलेजो, मिर्गाला र मधुमेहलगायत रोगको रगत परीक्षण हुने भए पनि चौबीसै घण्टा सुविधा उपलब्ध नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालले चौबीसै घण्टा औषधालय सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको जिल्ला अस्पताल जनाएको छ ।विशेषज्ञसहित १४ चिकित्सकको दरबन्दी भए पनि छ मात्र कार्यरत छन् । अस्पताल विकास समितिले दुई वर्षदेखि करारमा स्वास्थ्य सहायक, स्टाफ नर्स र प्रयोगशाला प्राविधिक गरी १८ जनालाई राखेको छ । समितिले करार सेवाका ती कर्मचारीलाई मासिक करिब दुई लाख तलबभत्ता दिँदै आएको छ ।