३१ बर्षिय मुस्लिम युवा रहबर अन्सारी, यतिबेलाको चर्चित नाम हो। वीरगन्जस्थित गण्डक अस्पतालका निर्देशक रहबर अन्सारीलाइ माओवादी केन्द्रले बिरगंज महानगरपालिकाको मेयरको उमेदवार बनाएपछी उनको चर्चा झन् एकाएक बढेकाे हो।
२०४३ सालमा काठमाडौंमा जन्मिएका हुन् रहबर अन्सारी । काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए। दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके। त्यसपछि हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नातकोत्तर सकेर नेपाल आए । हाल उनि माओवादीको पर्सा जिल्ला कमिटीका सदस्य र माओवादी आवद्ध मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य छन् ।
अन्सारी वीरगन्ज रोटरीलगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध छन्। ‘हाम्रोमा काम गर्ने उत्साहभन्दा पनि सधैँ उमेर हेर्न थालिन्छ,’ अन्सारीले भने, ‘मेरो पढाइ र ८ वर्षदेखि अस्पताल चलाएको अनुभवको आधारमा वीरगन्जको मेयर हाँक्न सक्छु भन्ने लाग्छ।’ वीरगन्जको रैथाने भएकाले यहाँका समस्यासँग परिचित भएको र बाहिरी संसारसँग पनि सम्पर्क रहेकाले आफूले वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्ने उनको तर्क छ।
उनि भन्छन् – ‘नेपालमा युवालाई राजनीतिक हतियार बनाइयो तर विकासमा लगाइएन । यसलाई परिवर्तन गराउन जरुरी छ । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । त्यो हटाउन भन्दै पहाड र मधेसबीच दुरी बढाउनु गलत हो।’
‘युवा पुस्ता र शिक्षित वर्गले मलाई बुझेका छन्’, याे नै मेराे जित्ने अाधार हाे । अाफ्नाे पक्षमा ६० प्रतिशत मत खस्नेमा उनि विश्वस्त छन् । वीरगन्जमा अर्को प्रमुख पार्टीबाट पनि मुस्लिम समुदायकै व्यक्ति मेयरमा प्रस्तावित छन्। प्रमुख प्रतिपक्षी दल एमालेले बसरुद्दीन अन्सारीलाई टिकट दिने लगभग निश्चित छ।
वीरगन्ज महानगरमा १५,००० भन्दा धेरै मुस्लिम मतदाता छन्। यी दुईको उम्मेदवारीले मुस्लिम भोट कति बाँडिन्छ भन्ने पनि चासोको विषय बनेको छ।