काठमाडौं । आयोजक मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा १० विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
मलेसियाको किनरारा ओभलमा मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले अर्धशतकीय पारी खेले । सन्दिप ५१ र आसिफ ५० रनमा अविजित रहे ।
छनोटको फाइनलमा पुगेसँगै नेपाल एसिया कपको लागि छनोट भएको छ । एसीसी यू–१९ एसिया कप आगामी नोभेम्बरमा हुने छ । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ । यस्तै अब नेपालले उपाधि लागि सिंगापुर र हङकङबिचको बिजेतासँग खेल्ने छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा अलआउट हुँदै १२१ रन बनाउन सक्यो । मलेसियाको लागि नलीन डी सिल्भाले ३९ तथा भिरनदिप जगजित सिंहले २५ रन बनाए । त्यस्तै महोमद शहरिलले १६ रन जोड्दा अम्मर हाजालनले १४ रन जोडे ।
मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान दिपेन्द्र सिंह एरीले ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित मात्र २९ रन खर्चिए । त्यस्तै पवन सराफले २ तथा सन्दिप लामिछाने, शाहब आलम र किशोर महतोले समान एक एक विकेट लिए ।