फिल्म क्षेत्रमा मिल्ने जोडीका रूपमा चिनिन्छन् पल शाह र आँचल शर्मा । उनीहरूले ‘नाइँ नभन्नू ल ४’बाट सँगै फिल्ममा डेब्यु गरेका हुन् । भर्खरै उनीहरू अभिनीत ‘जोनी जेन्टलमेन’ पनि रिलिज भइसकेको छ । यो जोडी सम्भवतः अझै कसिलो बन्दै जाने देखिएको छ । ‘मह’ जोडीले बनाउन लागेको फिल्म ‘शत्रु गते’मा समेत पल र आँचलले नायकनायिकाको भूमिका निर्वाह गर्नेछन् ।‘मह’ जोडी नामजस्तै गुलियो मानिन्छन् । जोडीका कामहरूले गुलियो स्वाद पस्किरहेका छन् । अब फिल्म हलमा समेत ‘मह’ पोखिने भएको छ । र, यसलाई थप गुलियो बनाउने अभिभारा पल र आँचलले पाएका हुन् । ‘मह’ जोडीको कम्पनी ‘मह सञ्चार’को प्रस्तुति र किरण केसी कार्यकारी निर्माता रहने ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । प्रदीपको पहिलो फिल्म ‘जात्रा’ गत वर्ष रिलिज भएर दर्शकको मन जित्न सफल भएको थियो । ‘शत्रु गते’मा मह जोडी, दीपकराज गिरी, दीपाश्री निरौला र प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ ।
नयाँपत्रिकाबाट