२९ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने क्रम जारी छ ।
सबैभन्दा पहिले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले बन्दसूची पेश गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार उसले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ११ उम्मेदवारको सूची बुझाएको छ ।यसैगरी नेपाल समाजवादी पार्टी (लोहियावादी)ले प्रदेश २ को लागि ४१ जनाको सूची बुझाएको प्रवक्ता ढकालले जानकारी दिए ।
साना दलहरुले सूची बुझाए पनि ठूला राजनीतिक दलहरु भने आयोगमा पुगेका छैनन् । ठूला राजनीतिक दलहरु बन्दसूचीलाई अन्तिम रुप दिन आन्तरिक छलफलमा छन् ।
आयोगले बन्दसूची बुझाउने समय बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म तोकेको छ ।