मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हेबीवेट’ नेताका प्रतिस्पर्धी हेबीवेट नै
  • मार्गरेखा संवाददाता

  • काठमाडौं / एउटै पार्टीमा रहँदा एकले अर्कोलाई स्वीकार नगर्ने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । फरक यति छ, भट्टराईलाई कांग्रेसको साथ छ भने श्रेष्ठ एमालेको सहयोगमा उम्मेदवार बनेका छन् ।

    वाम गठबन्धनमा एमालेको सूर्य चिह्न लिएर मैदानमा उत्रने निर्णय गरेका भट्टराईलाई अन्तिम समयमा माओवादी केन्द्रले ‘स्वीकार’ गरेन । र, भट्टराई वाम गठबन्धन छाडेर कांग्रेसको सहयोगमा उम्मेदवार बने ।

    जन्मथलो गोरखाबाट चुनावी मैदानमा उत्रेका श्रेष्ठ गोरखा २ नम्बर क्षेत्रलाई प्रतिष्ठाकै विषय बनाएर मैदानमा उत्रिए । गोरखावासी भट्टराई र श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ ।

    राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका छन् ।कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राणासँग वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटा मैदानमा उत्रिएका छन् । वाम गठबन्धनपछि कांग्रेसले पनि साना दलसँग तालमेल गरी राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । विगतमा काठमाडौंबाट चुनाव लडेका भट्टराई यसपटक भने गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको हो । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० गते र बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदै छ ।

    माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्ति बस्नेतले वाम गठबन्धनका तर्फबाट जाजरकोटमा उम्मेदवारी दर्ता गरेका छन् । राप्रपाबाट एमाले प्रवेश गरेका गोविन्दविक्रम शाहले बस्नेतविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए पनि शाहलाई फिर्ता गराउन प्रयास भइरहेको एमालेले जनाएको छ ।
    बस्नेतविरुद्ध कांग्रेसका निवर्तमान सांसद राजीवविक्रम शाहीले मनोनयन दर्ता गरेका छन् ।

    पहिलो चरणको निर्वाचनमा कांग्रेसका तर्फबाट ‘हेबीवेट’ मानिएका पूर्वअर्थमन्त्री डा.रामशरण महत र पूर्वमन्त्री अर्जुननरसिंह केसीले नुवाकोट १ र २ मा उम्मेदवारी दिएका छन् । नुवाकोटमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले मिलेर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । महत विरुद्ध माओवादीका हितबहादुर तामाङ र केसीविरुद्ध एमालेका नारायणप्रसाद खतिवडाले उम्मेदवारी दिएका छन् ।

    कांग्रेस नेता बलबहादुर केसीले सोलुबाट उम्मेदवारी दिएका छन् भने कांग्रेसका निवर्तमान प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गोरखा-१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
    वाम गठबन्धनमा सक्रिय भूमिका खेलेका माओवादी केन्द्रका नेता एवं निवर्तमान गृहमन्त्री जनार्दन शर्मा (रुकुम पश्चिम) बाट उम्मेदवार बनेका छन् ।

    पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दिएका छन् । सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहन बस्नेतले सिन्धुपाल्चोक १ बाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट एमालेका निवर्तमान सांसद शेरबहादुर तामाङ उम्मेदवार बनेका छन् ।

    यसैगरी, पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटबाट उम्मेदवारी दिएका छन् । कांग्रेसका दिलबहादुर घर्ती लमजुङ र भीष्मराज आङदम्बे पाँचथरबाट उम्मेदवार बनेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    लम्जुङमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता देव गुरुङले उम्मेदवारी दिएका छन् । एमालेले निवर्तमान सांसद यज्ञराज सुनुवार ओखलढुंगा, पार्वत गुरुङ दोलखा, जनार्दन ढकाल रसुवा, विशाल भट्टराई खोटाङ, दामोदर भण्डारी वैतडी र गणेश ठगुन्नालाई दार्चुलाबाट पुनः उम्मेदवार बनाएको छ ।

    कांग्रेसका युवा नेता रामहरि खतिवडा ओखलढुंगा र भूपेन्द्र शाही कालिकोटबाट उम्मेदवार बनेका छन् ।

    प्रदेशतिरका ‘हेबीवेट’

    एमाले सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । प्रदेश नम्बर ४ को भावी मुख्यमन्त्रीका रूपमा हेरिएका गुरुङ लमजुङको (ख) प्रदेशबाट उम्मेदवार बनेका हुन् ।

    एमालेकै नेता राजेन्द्रप्रसाद पाण्डे पनि धादिङबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । पाण्डेलाई ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । यद्यपि, दोलखाबाट पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं पनि प्रदेशसभातर्फ उम्मेदवार बनेकाले अहिले नै एमालेले मुख्यमन्त्रीको उम्मेदवार तय नभएको नेताहरू बताउँछन् ।

    माओवादीका शालिकराम जमरकट्टेल पनि धादिङको क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।पूर्वसञ्चारमन्त्री शेरधन राई पनि भोजपुरको प्रदेश (ख) बाट उम्मेदवार बनेका छन् । राईलाई एमालेले एक नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

    प्रदेश नम्बर ६ को माओवादीबाट मुख्यमन्त्रीका रूपमा अघि सार्न सकिने महेन्द्रबहादुर शाही पनि प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । उनले कालिकोटको (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् । कांग्रेसका पूर्वमन्त्री जीवनबहादुर शाही पनि मुख्यमन्त्रीको प्रतिस्पर्धाकै लागि हुम्लाबाट प्रदेशसभा निर्वाचनमा उत्रिएको कांग्रेसी नेता बताउँछन् ।अन्नपूर्ण पोष्ट् बाट

  • ६ कार्तिक २०७४, सोमबार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित