नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन।
पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको खवर आजको नेपाल समाचारपत्र दैनिकले खवर छापेको छ ।
श्रीपेच कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ। ‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन,’ संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने।
श्रीपेचको अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर हेर्ने भन्ने विषय नै अन्यौलमा छ।
पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि हाम्रा पिता पुर्खाको बिरासतको रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशबासीको नाममा अनुरोध गरेका थिए।