नेपालगन्ज, । निर्वाचनको मिति नजिँकिँदै छ । बाँकेमा यस पटक मुख्य कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकीकरणको समेत घोषणा भएपछि सिंगो जिल्ला गठबन्धनमय बन्दैछ । यो बीचमा अन्य पार्टीका चुनावी अभियानभन्दा वाम गठबन्धनले आफ्नो प्रचार अभियानलाई आक्रामक बनाएको छ ।
वाम गठबन्धनले आयोजना गर्ने घरदैलो, भेला लगायतका कार्यक्रमहरूमा व्यापक जनसहभागिता बढ्दै गएको छ । गठबन्धनका उम्मेदवार तथा नेताहरू घरदैलो अभियानमा केन्द्रित भएसँगै जिल्ला गठबन्धनमय बन्दै गएको छ । वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले गठबन्धनका तर्फबाट आयोजना गरिएका घरदैलो, भेला लगायतका कार्यक्रमहरूमा जनताको व्यापक उपस्थितिले जिल्ला गठबन्धनमय बन्दै बताउँछन् ।
बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं. २, प्रदेशसभा ‘ख’ उम्मेदवार विजयकुमार गुप्ता लगायतको नेपालगन्जका विभिन्न स्थानमा चुनावी अभियान चलाइरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकताको घोषणा भएपछि जनतामा उत्साह देखिएको निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ्गबताउँछन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा जसरी पनि जित हात पार्ने लक्ष्यका साथ वाम गठबन्धन चुनावी माहोलमा होमिएको छ । नेपालगन्जको वडा नं. २ र ४ मा घरदैलो र विभिन्न तहमा भेलाहरु सम्पन्न गरिरहेको वाम गठबन्धनले शुक्रबार वडा नं. ५ मा घरदैलो अभियान चलाएको छ । घरदैलोमा वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादव, वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का संयोजक रविन्द्र लम्साल लगायतका नेता कार्यकर्ताहरुले घरघरमा पुगेर मतदातासँग मत मागेका थिए ।
यसैबीच, नेपालगन्ज–१ मा वाम गठबन्धन निर्वाचन परिचालन समितिले शुक्रबार नै अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । भेलामा नेपाली काँग्रेस, राप्रपा लगायतका विभिन्न पाटी परित्याग गरी ५८ जना युवाहरु वाम गठबन्धनमा आवद्ध भएका छन् । साथै भेलाले वडास्तरीय निर्वाचन परिचलन समिति तथा उपसमितिहरु गठन गरेको छ ।