धनगढी (कैलाली), ४ मंसिर । नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले बाम गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका नेताहरुलाई सुदूर पश्चिमको विकास र उन्नतिको लागि के गर्नुभयो भन्ने गम्भीर प्रश्न उठाउनुभएको छ ।
कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार उठ्नुभएकी डाक्टर आरजुले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का विभिन्न स्थानमा आयोजित चुनावी सभामा सो प्रश्न उठाउनुभएको हो ।
उहाँले मतदाताहरुलाई संबोधन गर्दै भन्नुभयो, “तपाईहरू स्वयंले एमाले वा माओवादीलाई सोध्नुहोस् कि पछिल्ला २५ वर्षमा उहाँहरुले सुदूरपश्चिम (प्रदेश नम्बर ७) को विकासका लागि के गर्नुभयो भनेर ?”
मतदातासंगको भेटमा उहाँले यो अवधिमा सुदूरपश्चिममा भएका विकास नेपाली कांग्रेसका कारणले मात्रै भएको बताउनुभयो ।
वडा नम्बर १६ का पिपल चौतारी, रामपुर, घसिटा, विउसाह लगायतका स्थानमा भएका चुनावी सभामा उहाँले कैलाली सहित प्रदेश नम्बर ७ को विकास कांग्रेसबाट मात्रै सम्भव भएको बताउनुभयो ।
उहाँ आफ्नो लक्ष्य आम नेपाली महिलाले आफ्नै जस्तो सेवासुविधा पाउन सकुन् भन्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ म राम्रो परिवारमा जन्मे, हुर्के । राम्रै सुविधामा बसिरहेकी छु । म चाहन्छु– सबै महिलाले मेरै जस्तो सेवासुविधा र अवसर प्राप्त गर्न सकुन् । ” उहाँले सो लक्ष्य कठिन र असंभव नभएको पनि बताउनुभयो ।
नेतृ डाक्टर राणा देउवाले कांग्रेसका कारण नै संविधानमा महिलाका हकअधिकार सुनिश्चित भएको दावी गर्नुभयो । उहाँले संविधान र ऐन कानूनले सुनिश्चित गरेको यी अधिकार कार्यान्वयनका लागि पनि नेपाली कांग्रेसको जीत आवश्यक भएको बताउनुभयो ।
उहाँले सिंगो देश र सबै नेपालीको समान विकास र अधिकारका लागि कांग्रेसले नै काम गरेको बताउनुभयो ।
आयोजित चुनावी सभामा महिला, दलित, आदिवासी जनजाती, पिछडिएका वर्ग समुदायको उत्थानका लागि कांग्रेसले नै अहम् भूमिका निर्वाह गरेको चर्चा गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार जीवन राना, कांग्रेस नेताहरू प्यारेलाल राना, दिश्यश्वरी शाह, टेकबहादुर रैका, गौरि लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोमबार पनि विभिन्न पार्टी परित्याग गरेर ४५ जना कांग्रेसमा प्रवेश गरेका थिए ।