मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज: बाँकेको क्षेत्र नं. २ मा यसपटकको चुनावी रौनक निकै रोचक छ। मुख्य व्यापारिक केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडाबाहेक पूरै क्षेत्र र छेउका गाउँपालिकाहरु समेटेको यस क्षेत्रमा अहिले त्रिपक्षीय प्रतिष्पर्धा छ।

    एकातिर वाम गठबन्धन र अर्कोतिर कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन, अनि यी दुबैलाई चुनौती दिँदै छ संघीय समाजवादी फोरम नेपालले।
    वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र, लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ओमप्रकाश आजाद र संघीय समाजवादी फोरम नेपालबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा छन्।

    गठबन्धनका उमेदवार मि श्र यसअघि राष्ट्रिय जनता पार्टीमा थिए । पार्टीहरुभित्र उम्मेदवार छनोटको प्रक्रिया चलिरहँदा उनले राजपा परित्याग गरेका थिए। अनि एमालेको समर्थनमा उनी सूर्य चिन्हबाट निर्वाचन लड्न तयार भए र उनलाई माओवादीले पनि साथ दियो । मिश्र तत्कालिन मधेस आन्दोलनका बेला नेपालगन्जमा निकै सक्रिय भएर लागेका थिए । ‘नाकाबन्दी’ लाई समर्थन गरेको आरोपमा अहिले पनि नेपालगन्जवासी माझ उनी आलोचित नै छन् । गठबन्धनका आजाद भने लामो बि श्रामपछि फेरि राजनीतिमा सक्रिय भएका हुन् ।

    केन्द्रीय सहमति अनुसार नै कांग्रेस-राप्रपाबाट उनी साझा उम्मेदवार बनेका हुन् । पूर्वमन्त्रीसमेत भइसकेका इस्तियाक राई भने एक्लै मैदानमा छन् । २०६४ सालको संविधानसभा निर्वाचन जितेका उनी पूर्व श्रम रोजगार तथा यातायात मन्त्रीसमेत हुन् । ०७० को निर्वाचनमा पराजय भएपछि भने उनी सक्रिय राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् ।

    सूर्य चिन्हमा निर्वाचन लडेपनि मि श्रले एमाले प्रवेश भने गरेका छैनन् । पार्टीका आधिकारिक ‘मान्छे’ ले नभएपछि एमालेभित्रको एक तप्का नेता कार्यकर्ताहरु पनि उनीप्रति सकारात्मक छैनन् । मधेश आन्दोलनका एक सक्रिय अगुवाका हिसावले पनि उनलाई धेरै मतदाताले अहिले त्यही प्रश्न गरिरहेका छन् ‘त्यो बेला नाकाबन्दीलाई किन समर्थन दिएको ? अनि भारततिरको भूमिबाट नेपालतिर किन ढुङ्गा हानेको ? ‘

    लोकतान्त्रिक गठबन्धनको पनि उस्तै हालत छ । कांग्रेसमा टिकट वितरणको असन्तुष्टि छताछुल्ल भएको छ । स्वंय पार्टी सभापति किरण कोइरालाको नाम समेत समानुपातिक सूचीबाट हटेपछि उनी आफैँ पनि असन्तुष्ट छिन् । अनि ‘कांग्रेस एक्लैले जित्ने सम्भावना भएको’ क्षेत्रमा समेत यो सिट राप्रपालाई दिइएको भन्दै कांग्रेसको एउटा ठूलो हिस्सा असन्तुष्ट छ । यही क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उत्रिएका विजयकुमार गुप्ताको पनि सांगठनिक आधार बलियो छैन् ।

    पछिल्लो समयमा राजपाका धेरै चीरपरिचित अनुहारहरुले पार्टी छोडेर माओवादी र एमाले प्रवेश गरेका छन् । जसले गर्दा राजपाको संगठन कमजोर बन्न पुगेको छ । यी सबै असन्तुष्टि अनि कमजोरीहरुको योगफल जोड्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार राई भने चुनावी अभियानमा अरुभन्दा निकै आक्रामक तरिकाले उत्रिएका छन् । सामाजिक सञ्जाल, सञ्चारमाध्यम अनि अरु भन्दा अगाडि नै उनले निर्वाचन क्षेत्र नं. २ भित्र पर्ने अधिकांश ग्रामीण वस्तीहरुमा आफ्नो उपस्थिति देखाइसकेका छन् । अन्य क्षेत्रमा राजपा र फोरमबीच चुनावी तालमेल भएपछि केन्द्रबाटै इस्तियाकको सम्भावना देखेर बाँकेमा भने त्यो तालमेल हुन सकेन । त्यसैले महिनौ दिनअघिदेखि नै इस्यिाक चुनावी अभियानमा होमिइसकेका थिए ।

    यो क्षेत्रको निर्णायक मत मुस्लिम समुदायको हो । बाँकेको यो क्षेत्रमा मात्रै ८२ हजार ८ सय १८ मतदाता छन् । तीमध्ये करिब ३० हजार मतदाता मुस्लिम समुदायका छन् । दुवै गठबन्धन अनि अन्य राजनीतिक दलहरुबाट समेत प्रत्यक्ष चुनावका लागि कोही पनि मुस्लिम समुदायका उम्मेदवार छैनन् । सबै पार्टीहरुमा मुस्लिम समुदायलाई निर्वाचनमा टिकट नदिएको भन्दै पार्टीभित्रको यो समुदाय रुस्ट भएको छ । फोरमका उम्मेदवार राईको चुनावी योगफलको एउटा निर्णायक ‘कम्पोनेन्ट’ बनेको छ ।

    चुनावी मैदानमा मुस्लिम समुदायका एक्ला उम्मेवार देखिएका इस्तियाक भने अहिले पहाडी, मधेसी अनि थारुलगायत अन्य समुदायको ‘मन’ जित्ने अभियानमा छन् । राजनीतिमा लागेदेखि नै ‘समुदायगत’ कुराको विरोधी देखिएका उनी अहिले पनि भन्छन् ‘जातजाति, धर्म, भाषा र समुदायको नाममा लड्ने मान्छे म हैन, अरुहरुले यसैलाई आधारमा राष्ट्रवादको नारा लगाइरहेका छन् ।’ उनले आफूलाई सधैँ सबै समुदायभित्रको वर्गीय विभेद हटाउनका लागि राजनीतिमा आएको बताउँछन् ।

    लोकतान्त्रिक गठबन्धनले आफ्नो मुख्य प्रतिष्पर्धा वाम गठबन्धन नै भएको निस्कर्ष निकालेको छ । कांग्रेसले यो मुख्य बजार क्षेत्रमा राप्रपासँगलाई सिट छोड्नुको एउटा कारण भने स्थानीय तहको निर्वाचन परिणाम हो । नेपालगन्ज उपमहानगरमा राप्रपाका महामन्त्री डा. धवल समशेर राणाले फराकिलो मतान्तरले मेयर भएका छन् । तर, एकथरिको विश्लेषण के छ भने, त्यो मत राप्रपालाई नभइ ‘धवल ब्राण्ड’ लाई हो ।

    लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन कमिटीका ऋषिराज देवकोटा भन्छन् ‘फोरमले जुन प्रकारको ह्वीम फैलाएको छ त्यो हल्लामात्रै हो, जनताले बुझिसकेका छन् । इस्तियाक, मिश्र र राजपाका बिजयकुमार गुप्ता एउटै पृष्ठभूमिबाट आएका हुन् र, उनीहरुको मत पनि बाँडिन्छ, त्यसैले हाम्रो प्रतिष्पर्धा वाम गठबन्धनसँगै हुन्छ । अनि वाम गठबन्धनले भने आफ्नो प्रतिस्पर्धा कसैसँग पनि नभएको दाबी गरिरहेको छ । वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका नेता दिनेशचन्द्र यादव भन्छन् ‘अहिलेसम्म हाम्रो प्रतिस्पर्धामा कोही पनि आउन सकेका छैनन, लोकतान्त्रिक गठबन्धन र फोरमबीच प्रतिस्पर्धा होला । हामी चुनाव जित्दैछौँ ।’अन्न्पुर्ण पोष्ट्बाट

     

  • ५ मंसिर २०७४, मंगलवार १२:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित