कोहलपुरमा निर्माण गर्ने भनिएको अन्तराष्ट्रिय क्रिकेट मैदानको टेण्डर प्रक्रिया खुल्ला गरिएको छ । पहिलो चरणमा मैदान संरक्षणका लागि घेरबार गर्ने योजना अनुसार टेण्डर आह्वान गरिएको क्षेत्रिय खेलकुद विकास समिति बाँकेका अध्यक्ष भिम वलीले जानकारी दिएका छन ।
मैदान निर्माणकालागि केन्द्रबाटै बजेट निकासा भएसँगै टेण्डर प्रक्रिया खुल्ला गरिएको वलीले जनाए । मैदान निर्माण पूर्व मैदानको क्षेत्र निर्धारण गरी सुरक्षित गरीने र त्यसपछि बाँकी संरचना निर्माणका लागि प्रक्रिया अगाडी बढाउने योजना तय भएको वलीले बताए ।
२०७५ सालमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै त्यसअघि नै पूर्ण रुपमा मैदान निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप सबै प्रक्रिया अगाडी बढाएको वलीले दाबी गरे ।
यसअघि नै मैदान निर्माणकालागि आवश्यक डिपिआर (बिस्तृत परियोजना रिपोर्ट) निर्माण कार्य सम्पन्न भैसकेको छ । ४.१२ बिगाह क्षेत्रफल रहेको मैदानको अतिक्रमण रोक्न पहिलो चरणमा डिपिआर अनुसार नै मैदान संरक्षणका लागि पर्खाल लगाउने तयारी गरिएको अध्यक्ष वलीले बताए ।
यसैबिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट सहितको प्राविधिक टोलीले कोहलपुर क्रिकेट मैदानको सम्भाब्यता अध्ययन गरेको छ ।
आगामी वर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न बाँके आएको टोलीले कोहलपुरस्थित क्रिकेट मैदानको निरिक्षण गरेको हो ।
अनुगमनका क्रममा सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा रु. एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि रु. ३५ करोड गरी अनुमानित एक रु. अर्ब ५९ करोड खर्च हुने आँकलन गरिएको जानकारी दिए ।
कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँकेको नेपालगन्ज र कोहलपुरमा संचालन हुने तथा १० खेल बर्दियामा र पाँच खेल दाङमा सञ्चालन हुने पनि उनले जानकारी दिए ।