सुर्खेत, । सुर्खेतको बराहताल गाउँपालिका वडा नं। ५ चेपाङमा कांग्रेसको चुनावी सभा मंगलवार सम्पन्न भएको छ । सभामा सुर्खेत क्षेत्र नं। २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले सुर्खेतमा भएको विकास कांग्रेसले नै गरेको दावी गर्दै अवको थप विकासका लागि पनि कांग्रेसलाई नै जिताउनुपर्नेमा जोड दिए । पश्चिमको विकासलाई आफूले प्राथमिकतामा राखेको चर्चा गर्दै उनले विकासका लागि कांग्रेस उम्मेदवारहरुलाई निर्वाचित गराउनुपर्ने उल्लेख गरे ।
सूचना तथा संचार राज्यमन्त्री तथा निर्वाचन क्षेत्र नं। २ अन्तर्गको प्रदेश खका उम्मेदवार तप्तबहादुर विष्टले आफूले थालेका अधुरा कामलाई पूरा गर्नका लागि फेरि एकपटक जिताउन आव्हान गरे । उनले आफू निर्वाचित भएपछि पश्चिम सुर्खेतमा थुप्रै विकासका काम भएको जिकिर गर्दै फेरि निर्वाचित भएमा थप विकास गर्ने प्रतिवद्धता जनाए ।
वडासभापति सुरथ सुनारको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशी, नेपाल महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, कांग्रेस सुर्खेतका पूर्व उपसभापतिहरु कालीप्रसाद शाक्य, उपेन्द्रबहादुर थापा, कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावत, क्षेत्रीय सभापति लालवीर भण्डारी, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसीलगायतले कांग्रेसले जितेमात्रै लोकतन्त्र बलियो र मुलुकमा विकास हुने दावी गरेका छन् ।