फिल्म ‘पद्मावती’लाई लिएर विवाद जारी छ। बलिउड अभिनेत्री अदिती राव हैदरीले भर्खरै एउटा गम्भीर प्रश्न गरिन्, ‘भारत कुन दिशातर्फ गइरहेको छ?’ वियोगान्त फिल्म बनाउन माहिर निर्देशक सञ्जय लीला भन्सालीलाई विवादमा ल्याउने ‘पद्मावती’मा अदिती अलाउद्दीन खिलजीको श्रीमतीको भूमिकामा छिन्।
उनले ती व्यक्तिमाथि प्रश्न उठाइन्, जो देशमा महिलामाथि दिन प्रतिदिन हुने हिसांको विरोधमा चुप बस्छन्। ‘मानिसहरुलाई त्यस बेला किन रिस उठ्दैन? जब महिलामाथि हिंसा र बलात्कार हुन्छ। उनीहरु बेचिन्छन्, कतिपयको भ्रुणमै हत्या भएको हुन्छ, मैले यो बुझ्न सकिरहेको छैन। मलाई आफ्नो देशप्रति माया छ, तर म यो बुझ्न असमर्थ भइसकेकी छु।’
फिल्म डिसेम्बर १ मा रिलिज हुने तय थियो। विवादले उग्र रुप लिएपछि निर्माण पक्ष मिति सार्न गर्न बाध्य भयो।
फिल्ममा अभिनेत्री दीपिका पादुकोण रानी ‘पद्मावती’को भूमिकामा छिन्। उनीबाहेक रणविर सिंह अलाउद्दीन खिलजी र शाहिद कपुर राजा रतन सिंहको भूमिकामा देखिनेछन्।
पद्मावतीमाथि किन चुप छन् मोदी, इरानी र बलिउड : शत्रुघ्न सिन्हा
अभिनेता तथा भाजपा सांसद शत्रुघ्न सिन्हाले पद्मावतीको विवादलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, सूचना एवं प्रसारण मन्त्री स्मृति इरानी र बलिउडका कलाकारहरुको मौनताप्रति प्रश्न उठाएका छन्। ‘यत्रो विवाद हुँदा पनि मन्त्री इरानी र हाम्रा सबैभन्दा लोकप्रिय प्रधानमन्त्री मोदी यति धेरै किन मौन छन्?’ उनको प्रश्न छ।
पटनाबाट सांसद भएका सिन्हाले सोधेका छन्, ‘अमिताभ बच्चन, शाहरुख खान अनि अमिर खान सञ्जय लीला भन्सालीको फिल्मलाई लिएर उठेको विवादमा किन चुप बसेका?’ शाहरुखले भन्सालीसँग ‘देवदास’मा काम गरेका थिए, बच्चनले फिल्म ‘ब्ल्याक’मा उनै निर्देशकसँग सहकार्य गरेका थिए। तर पद्मावतीमाथिको मौनताबारे सिन्हाले प्रश्न उठाएका हुन्। फिल्मलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्दै सिन्हाले भने, ‘म त्यति बेला बोल्ने छु, जब मलाई बोल्न आवश्यक हुन्छ।
निर्माताको साथमा रहेर महान् राजपुतको बफादार अनि पराक्रमलाई ध्यानमा राखेर बोल्नेछु।’ पद्मावतीलाई लिएर राजपुत समुदाय र त्यसका सैन्य संगठनहरुले विरोध गरेका छन्। उनीहरुले भन्सालीले तथ्य तोडमोड गरेर पेश गरेको आरोप लगाएका छन्