मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हालसम्मकै सर्वाधिक धनी १२ व्यक्ति को को हुन थाहा पाउनु होस सर्वाधिक धनी कसरी भए
  • मार्गरेखा संवाददाता

  •  

    आम्दानी तथा सम्पत्ति असमानता अहिले विश्वमा निकै ठूलो समस्याका रूपमा रहेको चर्चा हुने गरेको छ । सम्पत्ति असमानताको मुद्दा प्राचीनकालमा अझ बढी पेचिलो थियो भन्न सकिन्छ । प्राचीनकालका धेरै धनाढ्यको सम्पत्ति मौद्रिक एकाइमा मापन गर्न सहज थिएन । तत्कालीन सम्पत्तिको समकालीन मूल्यांकन गर्न पनि सहज छैन । त्यसैले धेरै धनाढ्य व्यक्तिको सम्पत्ति कति थियो र त्यसको समकालीन मूल्यांकन कति हुन्छ भनेर ठ्याक्कै प्रमाण जुटाउन गाह्रो छ । तर, हालसम्मकै सर्वाधिक धनी व्यक्तिको सूचीमा प्राचीनकालका धनाढ्य मात्र नभई वर्तमान समयकै धनाढ्य समावेश हुन सफल भएका छन् । फोब्र्सले पछिल्लोपटक गरेको विश्वका अर्बपतिको सूचीको शीर्ष स्थानमा रहेका अमेजन कम्पनीका जेफ बेजोसको कुल सम्पत्ति करिब १ खर्ब अमेरिकी डलर पुगेको छ । फोब्र्सले प्रत्येक वर्ष सबैभन्दा धनी व्यक्तिको सूची तथा तिनको सम्पत्तिको विवरण प्रकाशन गर्दै आएको छ । तर, हालसम्मकै सर्वाधिक धनी व्यक्तिको चर्चा समय–समयमा हुने गरे पनि उनीहरूको सम्पत्तिको तथ्यांकमा एकरूपता भने पाइँदैन । अमेरिकी आर्थिक साप्ताहिक पत्रिका ‘टाइम’ले केही समयपहिले हालसम्मकै सर्वाधिक धनी दश व्यक्तिको सूची सार्वजनिक गरेको थियो । यसैगरी, सन् २०१० मा अमेरिकी अनलाइन समाचार संस्था ‘बिजनेस इन्साइडर’ले हालसम्मका सबैभन्दा धनी २० व्यक्तिको विवरण प्रकाशन गरेको थियो । टाइम म्याग्जिन र बिजनेस इन्साइडरका सबैभन्दा धनी १० व्यक्तिको तुलना गर्दा केही नाम दोहोरिए पनि केही फरक नाम समावेश भएका छन् । यस्ता छन्, हालसम्मकै १२ जना सर्वाधिक धनी व्यक्तिको सूची:

    १२. जेंगिज खान

    जन्म : सन् ११६२
    मृत्यु : सन् १२२७
    सम्पत्ति : खुल्न नसकेको
    राष्ट्रियता : मंगोलिया (मंगोलियन सम्राट्)
    जेंगिज खान सर्वाधिक बढी सफलता पाएका सैनिक अगुवा हुन् भन्ने तर्कमा शंका छैन । मंगोलियन सम्राट् खानको सफलताका कथा चीनदेखि युरोपसम्म फैलिएका थिए । हालसम्म उनलाई इतिहासमा सर्वाधिक बढी क्षेत्रफलमा शासन गर्ने व्यक्तिका रूपमा लिइन्छ । सर्वाधिक शक्तिसम्पन्न सम्राट् खानको सम्पत्तिको मूल्यांकन गर्नु विद्वान्को टाउको दुखाइको विषय बन्ने गरेको छ । उनीसँग यति नै सम्पत्ति थियो भनेर ठ्याक्कै भन्न गाह्रो छ । तैपनि, उनले ठूलो क्षेत्रमा राज्य गरेकाले सैन्य प्रभाव पनि धेरै स्थानसम्म फैलिएको थियो । ‘जेंगिज खान एन्ड द मेकिङ अफ द मोडर्न वल्र्ड’ नामक पुस्तकका लेखक ज्याक वेदरफोर्डका अनुसार प्राचीनकालका सैनिकजस्तो कुनै पनि क्षेत्रमा विजय हासिल गरेपछि सो राज्यको समग्र स्रोतसम्पत्ति व्यक्तिगत फाइदाका लागि प्रयोग हुन खानले दिएका थिएनन् । आफ्नो राज्य क्षेत्रका सबै खाले सम्पत्तिको लगत विवरण तयार गर्न अधिकारीलाई निर्देशन दिने र सैनिक तथा सैनिकका परिवारलाई वितरण गर्ने उनको आर्थिक व्यवहार पारदर्शी थियो । ‘आफ्नो तथा आफ्ना परिवारका कुनै पनि सदस्यको नाममा कुनै स्मारक, मन्दिर, सालिक, दरबार वा एउटा घरसम्म उनले बनाएको पाइँदैन । ‘उनी पालमै जन्मिएका थिए, पालमै मरे पनि’ वेदरफोर्डले लेखेका छन् । मृत्युपछि पनि उनलाई सामान्य मानिससरह नै कपडामा बेरेर गाडिएको थियो । १६ वर्षको उमेरमा ओंगिरत वंशकी बोर्तेसँग पहिलो विवाह गरेका खानले युद्ध जितेसँगै सम्बन्धित राज्यका रानीलाई समेत श्रीमतीकै रूपमा राखेकाले उनका ५ सयभन्दा बढी श्रीमती थिए भन्ने किंवदन्ती छ ।

    सम्पत्ति
    मौद्रिक एकाइमा सम्राट् जेंगिज खानको सम्पत्ति मापन गर्न नसकिएकाले यकिन तथ्यांक उपलब्ध छैन । तैपनि, ठूलो क्षेत्रसम्म उनले आफ्नो राज्य विस्तार गरेकाले हालसम्मकै सर्वाधिक धनीको सूचीमा उनको नाम पनि समावेश गरिएको छ ।

    ११. वारेन बफेट

    जन्म : सन् १९३० अगस्त ३०
    राष्ट्रियता : अमेरिकी
    सम्पत्ति : ८१ दशमलव १ अर्ब डलर
    वारेन बफेट अमेरिकी सेयर बजारमा लगानीका बादशाह मानिन्छन् । वर्कसायर ह्याथवे कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बफेट संसारकै सर्वाधिक सफल लगानीकर्ता हुन् । सन् २०१७ को अगस्ट महिनामा विश्वव्यापी आर्थिक तथा लगानी मिडिया कम्पनी फोब्र्सको रियल टाइम र्‍याकिङमा उनी संसारकै तेस्रो धनी व्यक्तिका रूपमा सूचीकृत छन् । सन् २०१७ को रियल टाइम र्‍याकिङको विवरणमा उनको कुल सम्पत्ति ७९ दशमलव १ अर्ब डलर पुगेको उल्लेख छ ।

    सेयर बजारमा लगानी गर्ने व्यक्तिमध्ये सर्वाधिक सफलता पाएका लगानीकर्ता भएकाले उनलाई सेयर बजारका बादशाह भनिएको हो । फोब्र्सले सूचीकृत गरेका धेरै अर्बपति उत्पादनमूलक तथा सेवा क्षेत्रका उद्यमी नै शीर्ष स्थानमा रहेका भए पनि बफेटको मुख्य व्यवसायचाहिँ धितोपत्र बजारमा लगानी गर्ने नै हो ।

    १०. बिल गेट्स
    जन्म : सन् १९५५
    राष्ट्रियता : अमेरिकी
    सम्पत्ति : ८९ दशमलव ४ अर्ब डलर

    लामो समयसम्म जीवित व्यक्तिमध्ये सर्वाधिक धनीको पहिलो नम्बरमा रहेका अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक तथा प्रविधि सल्लाहकार बिल गेट्स सन् २०१७ मा भने फोब्र्सको धनाढ्य व्यक्तिको सूचीमा दोस्रो स्थानमा परेका छन् । उनलाई अमेरिकी बहुराष्ट्रिय सपिङ कम्पनी अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले पछाडि पारेका छन् । सन् २०१४ मा ७८ दशमलव ९ अर्ब डलर सम्पत्ति रहेका ६२ वर्षीय बिल गेट्सको स्वामित्वमा हाल करिब ८९ दशमलव ४ अर्ब डलर सम्पत्ति रहेको फोब्र्सको रियल टाइम र्‍याकिङमा उल्लेख गरिएको छ । रियल टाइम ¥याकिङमा उनी दोस्रो स्थानमा रहेका छन् । सन् २०१४ मा सर्वाधिक दोस्रा धनी व्यक्ति जारा कम्पनीका सहसंस्थापक अमान्सिओ ओरटेगाभन्दा करिब ८ अर्ब डलरभन्दा बढी सम्पत्ति गेट्सको थियो । ओरटेगा हाल ७६ दशमलव ३ अर्ब डलरसहित चौथो स्थानमा रहेका छन् ।

    ९. जेफ बेजोस

    जन्म :  सन् १९६४ जनवरी १२
    राष्ट्रियता :  अमेरिकी
    सम्पत्ति :  ९९ दशमलव ६ अर्ब डलर

    अमेरिकी बहुराष्ट्रिय अनलाइन सपिङ कम्पनी अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस हाल (रियल टाइम र्‍याकिङ) सर्वाधिक धनी व्यक्ति हुन् । यसअघि लामो समयसम्म सर्वाधिक धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा रहेका बिल गेट्सलाई यसपटक उनले उछिनेका हुन् । अमेजन विश्वकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी हो । अमेजनका प्रमुख कार्यकारी अधिकृत मात्र नभई उनी साना उद्यमी, लगानीकर्ता, कम्प्युटर विज्ञानका ज्ञाता, तथा समाजसेवी पनि हुन् । सन् १९८९ मा गुगल कम्पनीको स्थापनार्थ करिब २ लाख ५० हजार डलरको सेयर उनले खरिद गरेका थिए । ब्लू स्पेस नामक अन्तरिक्ष कम्पनी तथा द वासिङटन पोस्टलगायत विभिन्न सञ्चार क्षेत्रमा समेत लगानी गरेका बेजोसलाई अमेजनले भने विश्वकै सर्वाधिक धनी व्यक्तिका रूपमा स्थापित गराउन सफल भयो । उनलाई पनि विश्वमा हालसम्मकै धनी १२ व्यक्तिको सूचीमा समावेश गर्न सकिन्छ ।

    ८. एलान रुफुस

    जन्म : सन् १०४०
    मृत्यु : सन् १०९३
    राष्ट्रियता : बेलायत
    सम्पत्ति : १ खर्ब ९४ अर्ब डलर (तत्कालीन सम्पत्तिको समकालीन मूल्यांकन–२०१४)

    पाँचौँ शताब्दीमा युरोपबाट बेलायत आएका एंग्लो सेक्सन जातिका राजा हारोल्ड गडविन्सनलाई सन् १०६६ मा पराजित गरी बेलायतमा नर्मन जातिबाट पहिलो राजा बनेका विलियम दि कन्क्वेररका भतिजा (दाजुका छोरा) एलान रुफुसलाई पनि हालसम्मकै धनी १२ व्यक्तिका रूपमा लिन सकिन्छ । राजा बनाउन काका कन्क्वेररलाई रुफुसले सहयोग गरेका थिए । ‘रिचेस्ट अफ द रिच’ (धनीका पनि धनी) पुस्तकका लेखक फिलिप बेरेस्फोर्ड र विल रविन्स्टेनका अनुसार मृत्यु हँदा रुफुसको सम्पत्ति करिब ११ हजार पाउन्डबराबर रहेको थियो । तत्कालीन समयको ११ हजार पाउन्ड बेलायती कुल गार्हस्थ उत्पादनको ७ प्रतिशतभन्दा बढी मानिन्थ्यो । हाल करिब २ हजार ८ सय खर्ब डलर कुल गार्हस्थ उत्पादन रहेको बेलायती अर्थतन्त्रको ७ प्रतिशत भनेको करिब १ खर्ब ९४ अर्ब डलरबराबर भएको टाइम म्याग्जिनले सन् २०१५ मा प्रकाशित गरेको थियो ।

    ७. जोन डी रकफेलर
    जन्म : सन् १८३९
    मृत्यु : १९३७
    राष्ट्रियता : अमेरिकी
    सम्पत्ति : ३ खर्ब ४१ अर्ब डलर (तत्कालीन सम्पत्तिको समकालीन मूल्यांकन –२०१४)

    सन् १८६३ मा पेट्रोलियम क्षेत्रको उद्योग तथा व्यवसायमा हात हालेका रकफेलर सन् १८८० सम्म आइपुग्दा अमेरिकामा पेट्रालियम पदार्थको व्यवसायको करिब ९० प्रतिशत बजार हिस्सा आफ्नो कम्पनीको अधीनमा ल्याउन सफल भए । सन् १९१८ मा अमेरिकामा संघीय आम्दानी तथा करको प्रतिफल आकलन गर्दा उनको स्वामित्वमा करिब १ अर्ब ५० करोड डलर सम्पत्ति रहेको बताइएको थियो । तत्कालीन समयको सो रकम अमेरिकी अर्थतन्त्रको करिब २ प्रतिशत हो । तत्कालीन समय (रकफेलरको समय)को १ अर्ब ५० करोड डलर सन् २०१४ मा करिब ३ खर्ब ४१ अर्ब डलरभन्दा बढी हो ।

    ६.एन्ड्रयु कार्निगी
    मृत्यु : १९१९
    राष्ट्रियता : अमेरिकी
    सम्पत्ति : ३ खर्ब ७२ अर्ब डलर (तत्कालीन सम्पत्तिको समकालीन मूल्यांकन–२०१४)

    अमेरिकी नागरिकमध्ये हालसम्मकै सर्वाधिक धनी व्यक्ति एन्ड्र्यु कार्निगी मानिन्छन् । स्कटल्यान्डका आप्रवासी कार्निगीले सन् १९०१ मा आफ्नो स्टिल कम्पनी ‘युएस स्टिल’ जेपी मोर्गान कम्पनीलाई ४८ करोड अमेरिकी डलरमा बिक्री गरेका थिए । सो रकम तत्कालीन अमेरिकी कुल गार्हस्थ उत्पादनको २ दशमलव १ प्रतिशतभन्दा बढी हो । अमेरिकी जिडिपीको २ दशमलव १ प्रतिशत सो रकम हाल करिब ३ खर्ब ७२ अर्ब डलरसरह हुन आउने सन् २०१४ मा विश्लेषण गरिएको थियो ।

    ५. जोसेफ स्टालिन
    जन्म : सन् १८७८
    मृत्यु : १९५३
    राष्ट्रियता : सोभियत संघ
    सम्पत्ति : राष्ट्रको पूरै अर्थतन्त्र कब्जामा लिएका,

    विश्व अर्थतन्त्रको करिब ९ दशमलव ६ प्रतिशत आधुनिक अर्थशास्त्रको इतिहासमा स्टालिनलाई सबैभन्दा अनौठो व्यक्तिका रूपमा लिइन्छ । सर्वाधिक शक्तिसम्पन्न निरंकुश शासकले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र सोभियत संघलाई आफ्नो नियन्त्रणमा लिएका थिए । हालसम्म पनि सोभियत संघ र स्टालिनको व्यक्तिगत सम्पत्तिबीच भिन्नता पाउन सकिएको छैन । पूरै राष्ट्रको सम्पत्ति आफ्नो कब्जामा लिएका कारण धेरै अर्थशास्त्रीले उनलाई इतिहासकै सर्वाधिक धनी व्यक्ति रूपमा लिएका छन् । स्टालिनको मृत्यु हुनुभन्दा तीन वर्ष मात्र पहिले सन् १९५० मा आर्थिक सहयोग तथा विकासका लागि संगठन ओइसिडीले विश्व अर्थतन्त्रमा करिब ९ दशमलव ५ प्रतिशत योगदान सोभियत संघको रहेको सार्वजनिक गरेको थियो । सन् २०१४ मा आइपुग्दा तत्कालीन समयको विश्व अर्थतन्त्रको साढे ९ प्रतिशत योगदानको समकालीन मूल्यांकन करिब ७५ खर्ब डलरभन्दा बढी भएको टाइम म्याग्जिनले उल्लेख गरेको छ ।

    ४. सम्राट् अकबर प्रथम
    जन्म : १५४२
    मृत्यु : १६०५
    राष्ट्रियता : भारतीय
    सम्पत्ति : तत्कालीन विश्व अर्थतन्त्रको करिब २५ प्रतिशत

    मुगल वंशका भारतीय सम्राट् अकबरले विश्व अर्थतन्त्रको करिब एक चौथाइ हिस्सा आफ्नो हातमा लिएका थिए । अकबरको शासनकालमा भारतको प्रतिव्यक्ति आम्दानी बेलायतको भन्दा बढी रहेको अर्थशास्त्री तथा इतिहासकार अंगस म्याडिसनले उल्लेख गरेका छन् । युरोपेली शासकको भन्दा पनि भारतीय शासकको जीवनशैली एकदमै विलासी भएको पनि उनको विश्लेषण छ । मुगल वंशको साम्राज्य कर उठाउने र परिचालन गर्ने विषयमा विश्वका अन्य कुनै पनि राज्यव्यवस्थाभन्दा धेरै प्रभावकारी भएको धारणा अर्का अर्थशास्त्री ब्रान्को मलानोभिकको छ । राजा अकबर प्रथमको साम्राज्यले विश्व अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको विश्वास गरिन्छ । अतः विश्व अर्थतन्त्रमा २५ प्रतिशत सम्पत्तिमा अधिकार जमाएका राजा अकबर प्रथमलाई हालसम्मका सबैभन्दा धनी व्यक्तिको सूचीमा टाइमले समावेश गरेको छ ।

    ३. सम्राट् सेन्जोङ
    जन्म : १०४८
    मृत्यु : १०८५
    राष्ट्रियता : चीन
    सम्पत्ति : विश्व अर्थतन्त्रको २५ देखि ३० प्रतिशतसम्म
    चीनमा सङ वंशले सन् ९६० देखि १२७९ सम्म शासन गरेको थियो । सङ वंशको शासनकाललाई हालसम्मकै शक्तिशाली अर्थतन्त्र भएको समयका रूपमा लिइन्छ । चिनियाँ अर्थशास्त्री, इतिहासकार तथा तामकाङ विश्वविद्यालयका प्राध्यापक रोनाल्ड ए एडवार्डस्ले सङ वंशको शासनकालमा चीनले विश्व अर्थतन्त्रमा करिब २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म योगदान गथ्र्याे । सङ वंशमा पनि सम्राट् सेन्जोङको समयमा अर्थतन्त्र उत्कर्षमा पुगेको थियो । सम्राट्हरूको प्रत्यक्ष नियन्त्रणमा समग्र राज्यको अर्थतन्त्र हुने गथ्र्याे । उनीहरूले नवीनतम प्रविधि र कर संकलनमा पनि व्यापक सुधार गरी राज्यको आम्दानी वृद्धि गरेका थिए । राज्यको सम्पूर्ण सम्पत्ति नै सम्राट्को सम्पत्ति मान्ने गरिन्थ्यो । तत्कालीन समयमा विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत योगदान गर्ने चीनको शासनसत्ता आफ्ना हातमा लिएका सेन्जोङलाई इतिहासकै १० धनी व्यक्तिभित्र टाइमले समावेश गरेको छ ।

    २. अगस्टस सिजर

    जन्म : इसापूर्व ६३
    मृत्यु : सन् १४
    राष्ट्रियता : रोमन
    सम्पत्ति : ४६ खर्ब डलर

    प्राचीन रोमन शासक अगस्टस सिजरको समयमा रोमले विश्व अर्थतन्त्रमा करिब २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म योगदान गथ्र्याे । उनको समयमा मात्र नभएर लामो समयसम्म रोमले विश्व अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी योगदान गरेको विश्लेषण अर्थशास्त्रीले गर्दै आएका छन् । स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक इआन मोरिसका अनुसार समग्र राज्यको करिब २० प्रतिशत सम्पत्ति सिजरसँग भएको तर्क गर्छन् । विश्व अर्थतन्त्रको करिब ५ प्रतिशत (विश्व अर्थतन्त्रमा २५ प्रतिशत योगदान गर्ने रोमको समग्र सम्पत्तिको २० प्रतिशत) सम्पत्ति सिजरको स्वामित्वमा रहेको थियो । वर्तमान समयको करिब ४६ खर्ब डलरबराबर सम्पत्ति हुने म्याग्जिनको विश्लेषण छ । सन् २०१४ मा आइपुग्दा तत्कालीन समयको विश्व अर्थतन्त्रको ५ प्रतिशत योगदानको समकालीन मूल्यांकन करिब ४६ खर्ब डलरभन्दा बढी भएको टाइम म्याग्जिनको विश्लेषण छ ।

    १. मान्सा मुसा
    जन्म : सन् १२८०
    मृत्यु : सन् १३३७
    राष्ट्रियता : माली
    सम्पत्ति : वर्णन गर्न नसकिने

    मध्यकालीन माली राज्य टिम्बुक्तुका राजा मान्सा मुसालाई हालसम्मकै सर्वाधिक धनी व्यक्ति मानिन्छ । अमेरिकाको भर्जिनियास्थित फेरम कलेजमा इतिहास विषयका प्राध्यापक रिचार्ड स्मिथका अनुसार मुसाको राज्यले संसारकै सबैभन्दा बढी सुन उत्पादन गथ्र्याे । त्यतिवेला मालीमा उत्पादन भएको सुनको माग अत्यधिक हुने थियो ।

    उनको सम्पत्ति कति थियो भन्ने प्रश्नको उत्तर दिन निकै मुस्किल छ । उनको सम्पत्तिको वर्णन गर्न मानिसको आयु नै छोटो हुने विभिन्न स्रोतको दाबी छ । ‘हालसम्म अध्ययन भएमध्ये सबैभन्दा धनी व्यक्ति मुसा नै हुन्’ युुनिभर्सिटी अफ मिचिगानमा इतिहास विषयका एसोसिएट प्राध्यापक रुडोल्प वेयरले उल्लेख गरेका छन् । ‘सुनै सुनका अलंकारले सजाइएका कर्मचारीद्वारा सुरक्षा दिइएका, सुनका सिंहासनमा बसेर सुनकै कप लिई सुनकै श्रीपेच लगाएका उनका तस्बिरप्राप्त भएकाले सम्पत्तिको वर्णन गर्न नसकिने स्पष्ट छ,’ उनको तर्क छ ।नयाँ पत्रिका बाट

  • १४ मंसिर २०७४, बिहीबार ०६:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित