नेपालगन्ज
नेपाली समाजमा पढेलेखेका व्यक्तिहरु धेरैजसो जागिर खाने सोचमा हुन्छन् । तर, यही समाजमा यस्ता व्यक्तिपनि छन्, जसले पढेर जागिर होईन्, आफ्नो सम्पूर्ण जीवन राजनीति र समाजसेवामा समर्पित गर्छन् । यस्तै मध्येका एक हुन्, माधवराम खत्री । जसले पढेर जागिर खाने र सुविधा सम्पन्न हिसाबले बस्ने सोच कहिल्यै बनाएनन् । यिनै माधवराम यतिबेला बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागी कडा प्रतिस्पर्धामा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका उनी साझा उम्मेदवार हुन् ।
दाङको गोल्टाकुरीमा २०२७ साल मंसिर ५ गते जन्मिएका माधवरामले कर्मथलो भने बाँकेलाई बनाए । राज्यको हरेक सेवा सुविधाबाट बििञ्चत रहेको बाँकेको क्षेत्र नम्बर १ बाट उनले राजनीतिमा ठुलो संर्घष गरेका छन् । २०४३ सालमा बालमितेरी माध्यामिक बिद्यालय भोजपुर दाङमा कक्षा ९ बाट उनी राजनीतिमा प्रवेश भएका थिए । उनलाई राजनीतिको नसाले छोएपनि पढाई भने रोकेनन् । राजनीति र समाजसेवा एक अर्काका परिपुरक हुन् भन्ने मान्यता बोकेका माधवरामले करिव दुई दशक अघि स्नातकोत्तर तह(एमबिए)उर्तीण गरेका थिए ।
बाँकेको साविक खासकुश्मा गाउँ विकास समिति वडा नम्वर ५ भम्का(हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुश्मा) का स्थायी बासिन्दा रहेका माधवराम राजनीतिमा यसरी सक्रिय भए, नेपाली काँग्रेसको विभिन्न भातृ संगठनमा आवद्ध हुदै पार्टीको मुल राजनीतमा स्थापित हुन सफल भए । बिद्यार्थी राजनीतिका क्रममा उनी २०४५ सालमा नेपाल बिद्यार्थी संघको दाङ–नेपालगन्ज सम्पर्क समितिको सचिव भएर काम गरे । २०४६ सालको जनआन्दोलनमा भुमिगत भएर बहुदल प्राप्तिका लागी आन्दोलनमा सक्रिय भएका थिए ।
२०४८ सालको झापाको कलबुडिमा नेपाली काँग्रेसको महाधिवेशनमा पर्यवेक्षेकको रुपमा सहभागी भएका माधवराम २०५० सालमा नेपाल बिद्यार्थी संघ बाँकेको अध्यक्षमा निर्वाचित भए । नेविसंघको कार्यकाल सफलता पुर्वक सम्पन्न गरेपछि भने उनी पार्टीको मुल राजनीतिमा झन् सक्रिय भए । उनी पटक–पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भए ।
पार्टीको १२ औं र १३ औं अधिवेशनबाट २ पटक बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा निर्वाचित भए । उनले राजनीतिका क्रममा कुनैपनि लाभकारी पद लिएनन् । नेपाली काँग्रेस पटक–पटक सरकारमा गएपनि उनले कुनैपनि लाभकारी पद तथा नियुक्ती लिएनन् । यसले उनको राजनीतिलाई झन् उचाईमा पु¥यायो । पार्टीको राजनीतिमा त्याग र तपस्या गर्दै आएको व्यक्तिका रुपमा गनिन्छन् ।
‘मैले अहिले सम्म कुनैपनि लाभकारी पद लिएको छैन, सधै पार्टीको राजनीतिलाई मात्र अगाडी बढाउने अवसर पाए,’ उनी भन्छन् । माधवरामको राजनीतिमा जति लगानी छ, त्यतिकै समाजसेवाका क्षेत्रमा पनि छ । बाढी पीडित, सुकुम्बासी, भुमिहिन, मुक्त कमैयाका समस्या समाधानका लागी उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावकारी भुमिका निभाउँदै आएका छन् ।
माधवरामले क्षेत्र नम्बर १ मा थुप्रै पटक बाढी पीडित, सुकुम्वासी, भुमिहिन तथा थारु वस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् । गत साउन अन्तिम साता आएको बाढी पश्चात विभिन्न रोगको संक्रमण फैलिन थालेपछि मावधरामले राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न वडामा आफै चिकित्सक र स्वास्थ्यकर्मीलाई लिएर निःशूल्क औषधी उपचार गरिदिएका थिए । ‘हामीले राजनीति मात्र गर्ने होईन, जनतालाई परेका समस्याको पनि समाधान गरिदिनुपर्छ,’ उनी भन्छन् । बाँकेमा अन्य कुनैपनि राजनीति कर्मीले यस्ता काम गरेको पाईदैन ।
यसका साथै क्षेत्र नम्बर १ को शैक्षिक स्तर माथी उठाउन पनि उनको लगानी अधिक छ । गाउँमा बिद्यालय नहुँदा साविक खासकुश्मा–५ भम्का गाउँमा रहेको गरिव, विपन्न तथा सिमान्तकृत समुदाय(खुना) का छोराछोरीहरु बर्खायामको समयमा डुंगा तरेर वारीपारी गर्नुपर्ने बाध्यता थियो । नदी वारपार गर्ने बिद्यार्थीको अवस्था देखेर माधवरामले भम्का गाउँमै हरिशिद्ध प्राथमिक बिद्यालय स्थापना गराए । ‘गाउँमा स्कुल बनेपछि गरिव, विपन्न तथा सिमान्तकृत समुदायका छोराछोरीलाई धेरै राहत भएको थियो, यसबाट उनीहरु कक्षा ५ सम्म आफ्नै गाउँमा पढेर माथिल्लो कक्षा पढ्न गाउँ बाहिरको स्कुल जान पाए ।’
माधवराम राप्तीसोनारीको वडा नम्बर १ कुसुममा रहेको कुसुमेश्वर उच्च माध्यामिक बिद्यालयका संस्थापक प्राचार्य हुन् । उक्त बिद्यालयमा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न व्यवस्थापन समितिलाई हम्य हम्य परेको थियो । बिद्यालयमा कक्षा १२ सम्मको अनुमती लिन स्नातकोत्तर तह उर्तीण गरेको स्थानीय व्यक्तिको शैक्षिक प्रमाणपत्र चाहिने भयो । त्यतिबेला यिनै माधवरामले आफ्ना शैक्षिक प्रमाणपत्र सम्बन्धित निकायमा पेश गरी कुसुममा उच्च मावि सञ्चालन गर्न नेतृत्व गरेका थिए ।
माधवरामको काम यतिमा मात्र सिमित रहेन् । बाँकेको क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा भौतिक पुर्वाधार निर्माणमा पनि अगुवाई गरेका छन् । बाँकेको बैजापुर–भम्का हुदै दाङको कालाकाटे जोड्ने सडक निर्माणका लागी उनले नेतृत्व गरेका थिए । उक्त सडक अहिले निर्माणाधिन अवस्थामा छ । ‘यो सडकका लागी मैले धेरै पटक मन्त्री र सचिव कहाँ धाएको थिए, त्यो सक्रियताले सडक बन्ने कामको सुरुवात भएको छ,’ उनले भने ।
यस्तै बाँकेको कचनापुरदेखी कम्दी जोड्ने सडक निर्माणमा पनि खत्रीको भूमिका प्रशंसनीय छ । ‘कचनापुरबाट कम्दी जोड्ने यो सडक निकै छोटो दुरिमा छ, यसले ग्रामिण क्षेत्रका जनतालाई राहत मिलेको छ,’ खत्री भन्छन् । यसैगरी उनले बाँकेको अगैयादेखी बैजापुर सम्मको कालोपत्रे गराउन धेरै ठाउँमा धाए । फलस्वरुप उक्त सडकको निर्माण कार्य सम्पन्न भएको छ ।
बाढी पीडितलाई समान रुपले राहत वितरण, अव्यवस्थित बसोबासको व्यवस्थापन, नरैनापुर र राप्तीसोनारीमा बिद्युतीकरण गर्न माधवरामले पहल गर्दै आएका छन् । ‘अहिले सम्म मैले राजनीतिक दलको नेताको हैसियतले यति कामहरु गरेको छुँ,’ उनी भन्छन् ‘कतिपय नीति÷नियमसँग बाँझिएका काम गर्न अझै थुप्रै बाँकी छन्, मेरो क्षेत्रको विकासका लागी मलाई यसपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन आवश्यक छ ।’
झण्डै १८ वर्षसम्म क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको संसदमा प्रतिनिधित्व हुन नसक्दा विकास निर्माणका काम अधुरो रहन पुगेको उनी बताउँछन् । माधवरामले भने, ‘यसले गर्दा जनजिविका, राजनीतिक र विकास निर्माण लगायत सबै सवाल अधुरो बन्न पुगेका छन्, यि अधुरा सवाललाई पुरा गर्नको लागी मैले प्रतिनिधी सभामा उम्मेदवारी दिएको हुँ ।’
चुनाव जितेपछि मुख्य रुपमा कोहलपुर नगरपालिकामा रिङ्गरोड निर्माण गर्ने, मुक्त कमैया, सुकुम्वासी तथा भुमिहिनको अधिकारका लागी अव्यवस्थित बसोबास व्यवस्थित गर्ने, राप्तीनदीको कटान डुबान समस्याको स्थायी रुपले समाधान गर्ने, बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका ठाउँको पर्यटन प्रर्वद्धन तथा निकुञ्ज प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपुर्तीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनी भन्छन्, ‘चुनाव प्रचारको समय एकदमै कम छ, सबै मतदातालाई भेट गर्न सकिएको छैन, यसका लागी म क्षमाप्रार्थी छु, मलाई यसपटक जसरी भएपनि भोट दिएर जिताउन मेरो विनम्र अनुरोध छ ।’