एकमात्र छोरा प्रकाशको निधन हुँदापनि चुनावी धपेडीका कारण आराम गर्न नपाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क चितवनको पर्यटकीय नगरी पटिहानी पुगेर भरतपुर फर्केका छन्। निर्वाचन भएको तेस्रो दिन शनिबार (२३ मंसीर) मा पटिहानी पुगेर आइतबार भरतपुर फर्केका हुन्।
चुनावी तनावमा रहेका प्रचण्ड प्रतिद्वन्द्वी बिक्रम पाण्डेसँगको मतान्तर फराकिलो हुँदै जान थालेपछि पटिहानीतर्फ लागेका थिए। यद्यपी, त्यहाँ पुग्नुको मुख्य कारण चाहिँ छोरा प्रकाशको निधनका कारण राम्रोसँग अझै सम्हालिन नसकेकी पत्नी सीता दाहालको मन भुलाउनका लागि थियो।
प्रचण्ड–सीताको साथमा भरतपुर महानगर पालिकाकी मेयर तथा छोरी रेणु दाहाल, सीता दाहालका भाई बुहारी हिमराज पौडेल र साबित्री अधिकारी, नाति प्रसिद्ध दाहाल लगायत थिए। सीमित सुरक्षाकर्मीका साथमा प्रचण्ड त्यहाँ पुगेको बताइएको छ।
आरामका लागि सुटुक्क पटियानी पुगेपछि प्रचण्डले भरतपुर महानगरपालिका–२ का वडा अध्यक्ष बिष्णुराज महतोलाई फोन गरेर आफू विशुद्ध पारिवारिक भ्रमणका लागि आएपनि पटियानीमा पर्यटनको थप विकासका लागि छलफल गर्न भन्दै बोलाएका थिए।
प्रचण्ड (फोनमा)– ‘महतोजी, म यहाँ आएको छु। जंगल भिल्ला रिसोर्टमा छु। यो मेरो नितान्त पारिवारिक भ्रमण हो। तरपनि तपाईं आउनुस्प, पटिहानीको पर्यटनको विषयमा छलफल गरौं।’
प्रचण्डको निम्तो पाएपछि वडा अध्यक्ष महतो जंगल भिल्ला रिसोर्ट पुगे। परिवारबाहेक त्यहाँ उनले कोहीपनि वाहिरी व्यक्ति देखेनन्। त्यसपछि महतोले प्रचण्डसँग भने, ‘परिवारकै सदस्य जस्तो मानेर मलाई बोलाउनु भयो। यसका लागि धन्यवाद छ।’
प्रचण्ड– ‘सन्तुष्टि र समृद्धिको आधार सबै हामीसँग छ। अब हामी पटिहानीको सुन्दरताको सन्तुष्टिमा गर्व गर्नु भन्दा पनि समृद्धको आधारमा अगाडि बढ्नु पर्छ । आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्छ। यहाँको आर्थिक क्षेत्रलाई बलियो बनाउन पर्छ। त्यसका लागि पटिहानीको पर्यटन क्षेत्र नै प्रमुख आधार हो। यसलाई चितवनकै नमुना बनाउनु महानगरपालिकाको तर्फबाट रेणु र वडाध्यक्षको हैसियतमा महतोजीले समन्वय गर्नु पर्छ।
पटिहानीको पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास र यस वरपरका बासिन्दाको जीवनस्तर उठाउने योजना सार्दा गाउँ, नगरको दीर्घकालिन विकास अगाडि बढ्छ। समृद्धि हाम्रै हातमा छ। यसको जिम्मा तपाईंहरुको हो। पटिहानीभित्र र आसपासका टोल, छिमेक, नगर र गाउँमा रहेका धार्मिक ऐतिहासिक र प्राकृतिक सम्पदालाई अगाडि ल्याउन पहल गर्नुस्, मेरो पुरा सहयोग पटिहानी विकासको लागि रहन्छ।’
प्रचण्ड र वडाध्यक्ष महतो
महतो– ‘पटिहानी शान्त र रमणीय ठाउँ छ। अझै यसको विकासको लागि पूर्वाधार विकासमा जोड हामीले दिएका छौं। प्राकृतिक विविधता सँगै हामीले सांस्कृतिक पक्षलाई पनि भुलेका छैनौं। यहाँ गर्न धेरै काम बाँकी छ। हामीलाई तपाईंको साथ र सहयोगको अपेक्षा छ।’
पटिहानीको बिकास कसरी गर्न सकिन्छ भन्ने विषयमा वडाध्यक्ष महतोसँग छलफल गरिसकेपछि वडा अध्यक्ष महतोसहित प्रचण्ड परिवार निकुञ्ज भ्रमणमा निस्केको थियो।
स्थानीय तालमा
त्यसक्रममा प्रचण्डले वडाध्यक्ष महतो र परिवारसँगै वेलशहर मध्यवर्ती सामुदायिक वनको अवलोकन भ्रमण, धनौजीको राप्तीमा डुङ्गा सयर, धनौजीको वडा कार्यालय,कमलपोखरी अवलोकन साथै वडा अध्यक्ष महतोको माछा पोखरीको अवलोकन गरेका थिए।
जंगल सफारी
साझै आफू बसेको रिसोर्टमा शनिबार साँझ भएको सांस्कृतिक कार्यक्रममा प्रचण्ड आफै नाचेका पनि थिए।
शनिबार साँझ नाच्दै प्रचण्ड
छुट्टिने बेला प्रचण्डले वडाध्यक्ष महतोसँग भने, बिष्णुजी, पटिहानीको गुरु योजना बनाएर पर्यटकीय क्षेत्रको विकासमा लाग्नुस्। जति चाँडो यो काममा लागिन्छ, त्यत्तिनै समृद्धिका आधारहरुका ढोकाहरु खुल्दै जाने छन्। मेरो पूरा सहयोग पटिहानीलाई छ।’
एकरात पटिहानीमा बिताएपछि प्रचण्ड आइतबार दिउसो भरतपुर फर्के, जहाँ उनी छोरी रेणुको निवासमा बसिरहेका छन्। शिवनगरको लाहुरेचोकमा भाडाको घरमा बस्दै आएपनि मतगणनास्थल नजिक पर्ने भएकाले प्रचण्ड भरतपुर सरेका हुन्।नेपाल खबर बाट