नेपालगन्ज, मंसिर २५ । बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके जिल्लाका ३ वटा गाउँपािलकाका शिक्षक शिक्षिकाहरुका लागि आयोजना गरिएको प्राथमिक उपचार तालिम सोमवारदेखि नेपालगन्जमा शुरु भएको छ ।
बाढी, डुबान लगायत अन्य बिभिन्न प्रकारका प्राकृतिक विपदको समयमा बिद्यालयका बालबालिकालाई हुने हानीबाट जोगाउनका लागि प्राथमिक उपचार दिन सिकाउने उदेश्यले सो तालिमको आयोजना गरिएको हो ।
सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा बाँके युनेस्को क्लबद्धारा जिल्लाका ३० वटा बिद्यालयमा संचालन गरिएको बिद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
सो तालिमको उद्घाटन गर्दै बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले बिद्यालयमा कुनै पनि प्रकारको जोखिम आएको बेला वा प्राकृतिक विपद आएको बिद्यार्थिहरुलाई प्राथमिक उपचार दिनका लागि यस्तो तालिम निकै महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले यस्ता तालिमपछि बिद्यालयमा मात्र नभई बिद्यालयको वरिपरिका क्षेत्रमा समेत प्राथमिक उपचार दिनमा सहयोग पुग्ने बताउनु भयो ।
विगतको कार्यक्रमको सफलताबाट उत्साहित भएर थप बिद्यालयमा यो कार्यक्रम संचालन गरिएको जनाउँदै उहाँले यसलाई पनि सफल पार्न सबैको सहयोग चाहिएको बताउनु भयो ।
सो अवसरमा बोल्दै सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक आत्माराम भट्टराईले बिद्यालय र बिद्यार्थिलाई शून्य क्षति पुरयाउने उदेश्यले यो तालिम संचालन गरिएको जनाउँदै सबै ठाउँमा चिकित्सक र स्वास्थ्यकर्मी नरहेकोले तालिम लिएपछि महत्वपूर्ण जिम्मेवारी आउने बताउनु भयो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी बाँकेका तालिम संयोजक निरन्जना मल्लले प्राथमिक उपचार सम्बन्धि तालिम निकै महत्वपूर्ण तालिम रहेको जनाउँदै यसको कुनै पनि बिषय बस्तुलाई हल्का रुपमा लिन नहुने कुरामा जोड दिनुभयो ।
बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानको सभापतित्वमा सम्पन्न भएको सो उदघाटन समारोहमा क्लबका कार्यक्रम संयोजक दिपेन्द्र चौधरी र अरुण यादवले पनि तालिम र कार्यक्रम बारे आफ्नो भनाई राख्नु भएको थियो ।
बाढीको उच्च जोखिममा रहेको जिल्लाका राप्तीसोनारी, डुडुवा र नरैनापुरका २ निजि र १३ सरकारी बिद्यालय गरी १५ वटा बिद्यालयका ३० जना शिक्षक शिक्षिकाको तालिममा सहभागिता रहेको छ ।
तीन दिनसम्म चल्ने सो तालिममा नेपाल रेडक्रस सोसाइटी बाँकेका तालिम संयोजक निरन्जना मल्ल, प्रहलाद बिश्वकर्मा, सिता कुमारी वली, सन्तोष कुमार मौर्य र सुशिल चौधरीले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुने छ भने विपद जोखिम न्यूनिकरणका शिक्षा फोकल पर्सन खगेन्द्र मल्लले पनि प्रशिक्षण दिनु हुने छ ।
सो तालिममा प्राथमिक उपचारबारे जानकारी गराउनुका साथै कुनै पनि विपद आएको बेला चोटपटक, बिरामी, अचेत, रगत बग्ने, टाउकोको चोटपटक पत्ता लगाउने र जलेको, बिष तथा जनावरको टोकाईपछिको प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा सहभागिहरुलाई तालिम दिइने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो ।