मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
  • मार्गरेखा संवाददाता

  • २ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ ।

    दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।

    राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।

    विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।

    यो जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतमा आयोग केन्द्रीय कार्यालयको टिमले भेरिफाइ गरिरहेको छ । जिल्लाबाट अंक र अक्षरमा मत परीणाम मगाएर इन्ट्री गर्ने काम भइरहेको र यसको एक दुई दिनमा सकिने एक कर्मचारीले बताए ।

    यो सकिएपछि मात्र आयोगले औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउनेछ । एक अधिकारीले भने, ‘भेरिफाइ गर्दा यो मत कायम रहन पनि सक्छ । केही तलमाथि हुनपनि सक्छ । तर, धेरै फरक नपर्ला ।’

    कुन दललाई कति सिट ?

    प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

    यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ ।

    माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन् ।

    नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा (तत्कालीन राप्रपा नेपाल) पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।

    पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।

    प्रतिनिधिसभामा ठूला ५ दल, एक सिटे पाँच सांसद

    १६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएका छन् ।

    एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० (दुई स्वतन्त्रसहित) सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।

    प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ । तर, दुबै पहिलो दल एमाले भन्दा निकै सानो छन् । कांग्रेस र माओवादी मिल्दा पनि एमाले बराबर हुँदैन ।

    पहिलो संविधानसभामा ठीक विपरित थियो । एमाले र कांग्रेस मिल्दा पनि माओवादी ठूलो दल थियो ।

    प्रतिनिधिसभामा दुई क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल ।

    प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६/६ सिट पाएका छन् । समग्रमा मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।

    अन्य दल भने एक सिटे भएका छन् । राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् ।

    समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।स्रोत अनलाइन खबरबाट

  • २ पुष २०७४, आईतवार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित