२८ साउन, नेपालगन्ज । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि आतंङ्क मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।हिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।
शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।
अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।
बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन ।
प्रहरी उपरीक्षक तामाङले घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको बताए । बाँकेमा राप्तीनदीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बाढीबाट प्रभावित हुने स्थानहरुको पहिचान गरी क्षति न्यूनिकरण गर्न र हुनसक्ने जोखिबाट बचाउन विभिन्न टोलि परिचालन गरेको र केही तयारी अवस्थामा राखेको जानकारी दिए ।
उता, अबिरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्गको कुशम होहलपुर सडक खण्डअन्तर्गत पर्ने गावर खोलाको पुल बगाएको छ । गावरदेखि १२ किलोमिटर पश्चिम गढौली नाकाको पुल समेत बाढीले बगाएपछि जनजीवन प्रभावित हुन पुगेको छ ।दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ ।