श्रावण २८, २०७४- धन कमाउने धेरै माध्यम छन् । तीमध्ये इमान्दारिता र परिश्रमले आर्जेको धन मात्रै फाप्ने गरेको भनाइ पुरानै हो । गैरकानुनी रूपमा कमाएको धनले मानिसलाई कहिल्यै शान्ति र अमनचयन प्राप्त हुँदैन । व्यक्तिले अथाह सम्पत्ति कमाए पनि सधैं डर र त्रासमा ऊ बाँच्नुपर्छ । धनले बिलासिता जीवनशैली अपनाउन सकिएला तर गहिरो निन्द्रा खोसिन सक्छ । कानुनी लफडा त छँदै छ, जेलसमेत पर्ने भय सधैं व्यक्तिसँगै रहने गर्छ । यस्तै डरमा बाँचेकाहरूमध्ये कोलम्बियाली पूर्वअर्बपति पाब्लो इमिलिओ इस्कोबार ग्राभिरिया पनि एक हुन् ।
कोलम्बियाली लागूपदार्थ कारोबारी उनलाई ‘फोब्र्स’ले अन्तर्राष्ट्रिय अर्बपतिको सूचीमा समावेश गरेका सात वर्षसम्म विवाद झेल्नुपरेको थियो । सन् १९८७ मा पत्रिकाले विश्वका अर्बपतिको पहिलोपटक जारी गरेको सूचीमा उनको नाम समावेश गरिएको थियो । पत्रिकाको त्यो पहिलो संस्करण थियो । पाब्लो इस्कोबार आफूले गरेको गैरकानुनी कामप्रति पश्चाताप गर्दै कोलम्बिया सरकारसँग माफी पाउन मुलुकको राष्ट्रिय ऋणको भुक्तानी गर्ने प्रस्ताव गरेको भन्दै पत्रिकाले नाम समावेश गरेको तर्क त्यसताका राखेको थियो । सन् १९८८ मा उनको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर थियो । उनको यो कुल सम्पत्ति सन् १९९१ सम्म ९लगातार ४ वर्षसम्म० स्थिर रहेको थियो । सन् १९९२ मा दुई अर्ब अमेरिकी डलरभन्दा केही बढीमा उनको सम्पत्ति सीमित भएको थियो । तर, १९९३ मा एक अर्ब डलरमा झरेको थियो । त्यसपछि बिस्तारै उनको सम्पत्ति ओरालो लाग्दै गएको थियो ।
‘कोकिनका राजा’ भनेर चिनिने पाब्लो कोलम्बियाली लागूऔषधका बादशाह थिए । आफ्नो बद्नाम करियरलाई उचाइमा पुर्याएको समयमा संयुक्त राज्य अमेरिकामा ८० प्रतिशतसम्म कोकिनको तस्करी उनी गर्थे । ड्रग लर्ड ९लागूऔषधका कुख्यात व्यापारी० पाब्लो त्यस्ताका विश्वका सर्वाधिक धनाढ्य ‘टप टेन’ मै परेका थिए । अघिल्लो वर्ष कुख्यात तस्करहरूबारे सार्वजनिक टेन–इपिसोडको शृंखलामा उनको नाम सर्वाधिक चर्चामा रह्यो । ‘द फेमसपिपुल डट कम’ का अनुसार उननले आफ्नो जीवनमा ड्रग्स क्षेत्रमा एकछत्र कायम गरेका थिए । ड्रग धन्दा उत्कर्षमा रहेका बेला उनी सातामा ४ सय २० मिलियन डलरसम्म कमाउँथे । उनी प्युएर्टो ट्रिउन्फोमा ठूलो स्टेटका मालिक थिए । उनको स्वामित्वमा रहेको उक्त इस्टेटमा बनाइएको चिडियाखाना घोडा, जिराफ र हात्तीसहितका जनावरहरूको प्रमुख आकर्षणको केन्द्र थियो ।
पाब्लोको अवैध गतिविधिका कारण हजारौं मानिस मारिएका थिए । तर, ड्रग माफियाका ती ‘नेता’ लाई कोलम्बियामा गरिबहरूले एक मसिहाका रूपमा स्वागत गर्दै थिए । उनले आफ्नो आम्दानीको अधिकांश हिस्सा चर्च र अस्पतालहरूमा दान गरेकाले त्यो सम्मान पाएको बताइएको छ । उनले गरेको आर्थिक सहयोगबाट भोकाहरूले खाना पाउँथे । मुलुकमा आधारभूत संरचनाको निर्माणमा समेत उनको सहयोग रकम उपयोग गरिन्थ्यो । तर, ड्रग कारोबारमा अवरोध कडा गरेकाहरूलाई उनले एकपछि अर्को गर्दै हत्या गर्थे । एक प्रतिवेदनअनुसार उनकै आदेशमा चार हजार मानिसको हत्या भएको थियो । हत्या गरिएकाहरूमा दुई सय त न्यायाधीश नै थिए । त्यस्तै प्रहरी, पत्रकार र सरकारी अधिकारीसहित करिब एक हजारको हत्या भएको थियो ।
उनलाई कोलम्बिया सरकारले जुनसुकै बेला पनि अमेरिकासमक्ष सुपुर्दगी गर्न सक्ने डर थियो । किनभने उनी अमेरिकी जेलमा आफ्नो समय बर्बाद गर्न चाहन्नथे । त्यस्तो त उनी लागूऔषधका कुख्यात र नामुद कारोबारी त छँदै थिए, कानुनी रूपमा चिहानमा राखिने ढुंगाको बिक्रीसमेत गर्न थालेका थिए । पछि महँगा कारहरू चोरी गरी बेच्ने काम समेत गरेका थिए । मानिसलाई धनले कहिले पुगेको छ र रु उनी पनि धनका निकै भोका थिए । त्यसैले त साधारण परिवारमा जन्मेका उनी रातारात अर्बपति बन्न भ्याएका थिए । उनका बुबा कृषक थिए भने आमा एउटा विद्यालयकी शिक्षिका ।
अमेरिका र आफ्नै मुलुकमा समेत ‘मोस्टवान्टेड’ सूचीमा परेपछि उनी परिवारका साथ लुक्न बाध्य भएका थिए । त्यसैक्रममा उनकी छोरी एक दिन बिरामी भइन् । तिनलाई न्यानो चाहिएको थियो । छोरी म्यान्युएलालाई न्यानो बनाउन उनले डलरका बिटा नै जलाएका थिए । त्यसताका उनले १ करोड २ लाख ६१ हजारभन्दा बढी रुपैयाँ जलाएका थिए । इस्कोबारसँग आफ्नो पैसा ओसार्न ‘लियरजेट’ विमानसमेत थियो ।
उनीसँग धन र संसाधनको कुनै कमी थिएन । उनलाई थाहा थियो कि यो रकमबाट सबै कुरो सम्भव छ । त्यसैले उनले कोकिनको कारोबार गर्न विमानका पाइलटलाई समेत उपयोग गरेका थिए । पाइलटले विमानको टायरमा कोकिन तस्करी गर्थे । पाइलटलाई ठूलो रकमबाट पुरस्कृत गर्थे । पाइलटले कोकिनको तौलअनुसार मूल्य लिन्थे । कहिलेकाहिँ ५ लाख अमेरिकी डलरसम्म लिन्थे ।
इस्कोबारले अमेरिकामा सुपुर्दगीबाट बच्न कोलम्बियाली अधिकारीलाई घूस दिने प्रयास गरेका थिए । आफूलाई स्वतन्त्र बनाइदिन कोलम्बियाको ऋण भुक्तानी गरिदिने प्रस्ताव गरेका थिए । सञ्चार माध्यमहरूका अनुसार उनले सरकारसँग १० अर्ब अमेरिकी डलरको प्रस्ताव गरेका थिए । अकुत सम्पत्ति कमाउनका लागि यी ड्रग मास्टर पागल झैं बनेका थिए । त्यसैले त उनी नोटको बन्डल बनाउन आवश्यक पर्ने रबर ब्यान्डमा मासिक २५ सय डलर खर्चन्थे । पाब्लो इस्कोबारले आफ्नो जीवनमा ३० अर्ब अमेरिकी डलरसम्मको सम्पत्ति आर्जन गरेका थिए ।
लागूऔषध तस्करीको सञ्जाल फैलिँदै उत्कर्षमा पुगेपछि उनी दिनमा एक टनभन्दा बढी परिमाणको कोकिन तस्करी गर्न थालेका थिए । उनी गैरकानुनी धन्दाबाट धनार्जन गरे पनि गरिबको जीवनस्तर उकास्न र अभावमा बाँचेकालाई सहयोग गर्न ठूलो रकम खर्चिने गर्थे । यो कामबाट कोलम्बियामा उनले ‘रोबिन हुड’ को उपनामसमेत पाएका थिए । उनी ‘डन पाब्लो’ र ‘एल प्याट्रोन’ को नामले समेत चिनिन थालेका थिए । मुसाले उनको सम्पत्तिको १० प्रतिशतसम्म नष्ट गरिदिन्थ्यो । पाब्लोले कोलम्बिया सरकारसँग एउटा सम्झौता पनि गर्न सफल भएका थिए । उक्त सम्झौतामा उनलाई अमेरिका सुपुर्दगी गर्नुको साटो स्वदेशमै पाँच वर्षको कैद सजाय दिने उल्लेख थियो । त्यसका लागि पाब्लोले आफ्नै छनोटको एउटा जेल बनाएका थिए, जहाँ उनी आफ्नै गार्डसहितको स्वतन्त्र जीवन बिताउने सोचमा थिए । उनले आफ्ना लागि बनाएको विलासी झ्यालखाना ‘ला क्याट्राल’ मा फुटबल मैदान, बार, जाक्कुजी ९शरीरको मालिस हुने गरी पानीको फोहोरा निस्कने ठूलो नुहाउने घर० र कृत्रिम झर्नासमेत निर्माण गरेका थिए ।
कोलम्बिया सरकार अमेरिकाको पक्षमा उभिएपछि पाब्लोलाई पक्राउ गर्न छ सयजनालाई खटाइएको थियो । २ डिसेम्बर १९९३ मा पाब्लो इस्कोबार एउटा मुठभेडमा मारिए । तर, धेरैले उनी पक्राउ हुनबाट बच्न आफैंलाई गोली हानी आत्महत्या गरेको बताउने पनि गरेका छन् ।
कान्तिपुर दैनिकमा ्रप्रकाशित