मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मोदीसँगै हरिद्धार
  • मार्गरेखा संवाददाता

  •  

    यात्रा हो हत्पत् र लत्पत् भै हाल्छ । मिलाउँदा मिलाउँदै नमिलेका र सम्झँदा सम्झँदै बिर्सिएका कैयौं कुराहरु यात्रासँगसँगै समावेस हुने गर्छन् । दुई महिना अगाडिको योजना थियो भारत भ्रमणको । विद्यालयका धेरै शिक्षकहरु भ्रमणमा सामेल हुँदै थियौं । करिब दुई हप्ते भ्रमणको योजना निर्माणमा तल्लीन थिए साथीहरु ।
    योजनाहरु क्षण– क्षणमा परिवर्तन भै रहेका थिए । दार्जलिङ्ग सिलगुढी हुदँै कोलकत्ता हेर्ने योजना पहिलो योजना थियो । धेरै गाडी फेर्र्नु पर्ने र चाहेको बेलामा टिकट नपाइने समस्या देखिएकोले यो योजना फेल खायो ।
    दोस्रो योजना मुम्बइ हुँदै गोवा पुग्ने बन्यो । यो योजनामा पनि लामै छलफल भयो । दुरीको हिसाबले धेरै घुमाइएको हिसाबले थोरै महसुस गरे साथीहरुले । ट्रेनको डिब्बा भित्रबाट त के नै देखिन्थ्यो र ? मुम्बइ र गोवाको लागि खरो रुपमा उत्रनु भएको थियो पिताम्बर सर । लामै बहस भयो दोस्रो योजनामा पनि । तर बिकल्पहरु खुल्ला थिए । यात्रा मनोरन्जन पूर्ण हुनुपर्छ भन्ने कुरामा सबैको एकमत थियो ।
    भ्रमणमा समाबेस हुने नहुने कुरामा छवि सरले ठोस निर्णय दिनु भएको थिएन । यद्यपि हरेक योजनामा सक्रिय सहभागिता भने कायमै थियो । पहिलो योजनाका योजनाकार कृष्ण अधिकारी हुनुहुन्थ्यो भने दोस्रो योजनाकार पिताम्बर पौडेल । तेस्रो योजना सहित देखा पर्नुभयो छविलाल बराल । हरिद्धार, ऋषिकेष, देहरादुन, मनसुरी हुँदै दिल्ली घुम्ने योजना आयो छवि सरको । अब बहस झनै चर्कियो । भारतको रुपैडिया बाहेक अन्यत्र गएको थिइन म । जता गए पनि मेरा लागि ठाँउहरु नयाँ थिए । त्यसैले यी योजनाहरुसँग मेरो बिमति थिएन । छवि सरको योजनाले मूर्त रुप लियो । भ्रमणमा तीर्थराज पौडेल, खिम बहादुर खड्का, कृष्ण अधिकारी, पिताम्बर पौडेल, प्रकाश अर्याल र बलराम सुबेदी सहित आठ जना हुने भयौं । भ्रमण टोलीको नाइके कृष्ण अधिकारी छानिनु भयो ।
    हामी सबै उस्तै परेछौं । भाषा सम्बन्धि समस्या देखियो । घरमा पनि कुरा चलाएँ । केही जानकारी सुमित्राले दिइन् । हाम्रा कुरा चाख दिएर सुन्थिन् छोरी आयुष्मा । कतिपय हिन्दी कार्टुनका डायलगहरु कण्ठ थिए उनलाई । चिन्ता लागेछ बाबुको । चलन चल्तीका केही हिन्दी शब्दहरु लेखी झोलाको कुनामा राख्दिएकी रहिछन् छोरीले । हाँसो उठ्यो मलाई ।
    दिन नजिकिदैं थिए । परीक्षा सञ्चालन, नतिजा प्रकाशन र आगामी शैक्षिक सत्रको गुरु योजना निर्माण गर्ने जिम्मेवारी मेरो काँधमा थियो । मुखैमा रहेको एस.एल.सी. परीक्षा छोडेर कसरी जाने भन्ने प्रश्नले कुुटुकुटु चिमोटिरहन्थ्यो । मनमा उठेका कुराहरुको पोको तिर्थ सरसँग बिसाएँ । सजिलै फुकाइदिनुभयो उहाँले । चैत्र २३ गते सुरु हुने भनिएको भ्रमण १९ गते हुने पक्का भयो ।
    हामी रुपैडियाको बाटो हुँदै हरिद्धार जाने भयौं । राती नै हिड्ने तयारीका साथ तिर्थराज पौडेल, पिताम्बर पौडेल, कृष्ण अधिकारी, खिम बहादुर खड्का, प्रकाश अर्याल र बलराम सुवेदी बाँसगढीबाट यात्रामा निस्किसक्नु भएको थियो ।
    छवि सर र मैले गाडी बुकिंङको जिम्मा लिएका थियौं । तोकिएको समयमा गाडी आएन । गाडी २० गते बिहान मात्र कोहलपुर आउने भयो । हामी सबै छवी सरको घरमा बास बस्यौं । रात चढ्दै थियो । रमाइलो बढ्दै थियो । हामी विभिन्न कुरामा खुबै हाँस्यौं । एक पटक हरि त्रिपठी सरलाई सम्झियौं । उहाँ लगाएत केही सर र मेडमहरु भ्रमणमा छुट्नु भएको थियो ।
    झिसमिसेमै गाडी कोहलपुर आइपुग्यो । हामीले चिया पिइसकेका थियौं । छवी सर रोटी खान पस्नु भएको फर्कनु भएको थिएन । ‘बिहान बिहान कस्तो रोटी खान मन लागेको ?’ कृष्ण सरको शव्द खस्न नपाउँदै गललल्ल हाँसे साथीहरु । मनले मागेपछि कसको के लाग्छ र ?
    बिहान ८.१५ मा हामीले नेपालगन्ज छोडेका थियौ । दोहोरो नागरिकता भएका अजय सिहं नाम गरेका गुरुजी ले हामीलाई सवार गराउँदै थिए । टाढा टाढाका दृष्यहरुलाई आँखाभित्र कैद गर्दै स्मृतिमा सेभ गर्ने प्रक्रिया चलिरहेको थियो ।
    ‘मनमा इमोसन् जागे रे….. ’ बोलको गीत सुन्दै रप्mतारमा थिए गुरुजी । केही समयमा नै नानपारा पुग्यौं हामी । कतै उखु र कतै गहुँबारीका ठूला ठूला फाँटहरु देखिन्थे । उन्नत प्रविधिबाट कृषि कार्य शुरु भैसकेको रहेछ भारतमा ।
    घाग्रा नदीको नजिकै पुग्दा हामीलाई नेपालको कर्णाली नदीको याद आयो । हामी नेपालबाट पश्चिम हानिदै थियौं कर्णाली उर्फ घाग्रा नदी दक्षिणपूर्व । हामी दुवैको यात्रा भारतमा चल्दै थियो । हामी केही दिनमा हामै्र भूमिमा फर्कदै थियौं तर नेपालको सुगन्ध बोकेको पानी सधैँका लागि जादैँ थियो । मौन थियो घाग्राको पानी । कसैको पर्वाह नगरी हानिंदै थियो समुद्रतिर ।
    नदीको छेउछाउमा सुकुम्बासी बस्तीहरु छरपष्ट थिए । खुट्टामा चप्पल नभएका महिलाहरु र शरीरमा कपडा नलगाएका केटाकेटीहरु झुप्राका वरिपरि देखिन्थे ।
    कर्णाली नदीको कुरा चल्दै थियो । प्रकाश अर्यालले ‘मेरी पुतारी घरमा पाहुना आइरचन् चाक सफा अर’ भनेको अर्थ सोध्नुभयो । हामी अक्क न बक्क भयौं । उहाँ यही वाक्यलाई दोहोर्याएर तेहेर्याएर भन्दै हुनुहुन्थ्यो । साथीहरु गललल्ल हाँसे । यस्तो भाषा कर्णाली अञ्चलको एक क्षेत्रमा बोलिन्छ रे । हामीलाई यसकोे अर्थ के थाहा ? बुहारीलाई ‘पाहुना आउनु भाछ गलैंचा बिच्छ्याइदेऊ’ पो भनेको रहेछ । हुन पनि टोल र गाँउ अनुसार अलग भाषिका प्रयोगमा रहेका उदाहरणहरु बर्गेल्ती भेटिन्छन् नेपालमा ।
    सिसिया चौराहा नजिकै एक होटलमा नास्ता खायौं । घाग्रा नदीको छेउमा गुरुजी ले गाडी चेक गरे । मोदी र मोदीको चुनाव चिन्न भएको झण्डा निकाली गाडीको अगाडि लगाए । हामी चुपचाप थियौं । झण्डा राखेको कसैलाई मन परेको थिएन । मोदीकै निर्देशनमा नेपालमा अघोषित नाकाबन्दी लगाइएको थियो । नेपालीहरुलाई भारत विरोधी बनाउन उस्काइरहेका थिए मोदी । उनैको झण्डा लगाएर हिड्नुपर्दा नमिठो अनुभव भैरहेको थियो ।
    शारदा नदीको नजिकै पुगेपछि हाम्रो गाडी पुनः रोकियो । गुरुजी हामीसँग नजिकिदै थिए । छवि सरले ख्याल ख्यालमै मोदीको झण्डा गाडीबाट हटाउने प्रयास गर्नुभयो । हत्त न पत्त गुरुजी ले झण्डा पुनः राख्दै ‘तपाई कुरै बुझ्नुहुन्न’ मात्र भने । कुरो त मैले पनि बुझेको थिइन । सायद अरु साथीहरुले पनि । उनी नेपाली थिए किनकि उनीसंग नेपाली नागरिता थियो । तर भारतीय झण्डाप्रति गर्व थियो उनलाई । केही समय पहिला तराइमा नेपाली झण्डा जलाएका थिए केही मदेसबादी दलहरुले । एक पटक संगै राखेर हेरें अजय सिहं र नेपाली झण्डा जलाउनेहरुलाई । केही फरक लागेन । नेपालमा अजय सिहंहरु कति छन् कति ? भारतीय झण्डा ओड्ले र ओछ्याउनेको कमी छैन नेपालमा ।
    नेपाली झण्डा फहराउन मन लाग्यो गाडीमा । तर आँट आएन कसैको । नेपाली झण्डा फहराउन पाएको भए सान बढ्थ्यो सायद हाम्रो, तर मोदीलाई सगैं डुलाउने भयौं हामीले यात्राभरि । मोदी अघि अघि हामी पछि पछि……।
    यता झण्डाका कुरा उता टनकपुरको सम्झना । कतै भारत भ्रमणमा निस्केर गल्ती त गरेनौं जस्तो पो लाग्न थालेको थियो । टनकपुर पुग्दा कुन देशप्रेमी चिन्तित भएको छैन र ? भारतको हेपाहा प्रवृत्तिलाई कुन नेपालीले सहर्ष स्वीकारेको छ र ? जनकका देशका हामी, बुद्धका देशका हामी । धैर्यता हाम्रो मुल मन्त्र बनेको छ । त्यसैले त धैर्य छौं हरेक कुरामा । सहनशील छौं झण्डा जल्दा पनि । देश डुबाउन खोज्नेहरुलाई पनि कति सजलै क्षमा दिएकाछौं हामीले ।
    हाम्रो गाडी पुरनपुर पुगेको थियो । दिनको ठिक १ बजेकोले निकै गर्मी थियो । फटाफट खाना खायौं । नजिकै बकैनाको रुख थियो । रुख मुनी डोरीवाला खाट । सबै अटाएनौं । उभिएरै बकैनाको शीतलतामा सुस्तायौं केही बेर । बकैनाको बोटलाई साक्षी राखेर केही तस्बिर लियौं । हाम्रो गाडी अगाडि बढ्यो । मिलक भन्ने ठाँउको सडक वरिपरि लगाइएका सुन्दर पूmलहरुले सडकको शोभा बढाइरहेका थिए । टाढा टाढासम्म आँपका बगैंचा गहुँबारीका ठूला ठूला फाँट । गहुँबारी मै सिपाही भैm खडा भएका लहरे पिपलका बोटहरु साच्चिकै हेर्न लायक थिए । हामी कहाँ विरुवाले बाली बिगार्यो, तापस बनायो भनेर रुख ढाल्ने प्रचलन छ तर लहरे पिपलको जङ्गलभित्र निकै मौलाएको गहुँ देख्दा अनौठो मान्यौं हामीले । यो प्रविधि कहिले सिक्ला नेपालले ?
    साँझ ५ बजे मुरदावाद पुगियो । हरिद्धार पुग्न अभैm १६३ कि.मी. बाँकी थियो । भिकनपुरमा ६ बजे चिया खायौं । अँध्यारो हाम्रो पछि–पछि आउँदै थियो । हाम्रो बसाइको कुनै ठेगान थिएन । पिताम्बर सरले एक जना आफन्तसँग सम्पर्क गर्ने कोषिश गर्दै हुनुहुन्थ्यो । ठुलै प्रयासपछि आफन्त फेला परे । खान र बस्नका लागि होटलको व्यवस्था गरिदिन आग्रह गर्नुभयो पिताम्बर सरले । अब भने हामी केही ढुक्क भएका थियौं । नरपुर शिब मन्दिर चोकबाट दक्षिण हुँदै पश्चिम हुँइकिएको हाम्रो चारपाङ्ग्रे प.दिनदयाल उपाध्याय पार्किङ स्थल हरिद्धारमा ८ः३० बजेमात्र पुगेको थियो । हामीसगैं हाम्रो गाडीको अघि बसेका मोदी खै कति पटक हरिद्धार पुगेका थिए थाहा भएन । म भने पहिलो पटक पुगेको थिएं हरिद्धारमा ।

  • २९ श्रावण २०७४, आईतवार १६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित