मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

न खाने छ, न बस्ने’
  • मार्गरेखा संवाददाता

  • न खाने छ, न बस्ने’

     

    होलिया बाँके ।गृहमन्त्री जनार्दन शर्मा प्रभाकर हेलिकोप्टर चढेर माथि आकाशमा उड्दै गर्दा बाँके होलियाका शेषनारायण चौहान बाटोमा बसेर छिमेकीले दिएको बासी रोटी टोक्दै थिए । एक टुक्रा रोटी टोक्दै उनले माथितिर मुन्टो फर्काए अनि फेरि रोटी टुक्रा पार्दै भने ‘हाम्लाई हेरेर गए, अरु त के गर्लान् र ?’
    तीन दिनदेखि यहाँका धेरै बाढीपीडितहरु भोकभोकै छन् । शनिबार ठाउँठाउँमा चाउचाउ अनि चिउरा पु¥याएको नेपाली सेनाको हेलिकोप्टर आइतबार दिनभरि गृहमन्त्रीलाई घुमाउनमै व्यस्त भयो । अहिले डुडवा गाउँपालिकाका चौखेरी, टपेरी, बनकट्टी, प्रिपहवा, बेतहनीलगायतका ठाउँहरुमा मानिसहरु भोकभोकै उद्धारको पर्खाइमा बसिरहेका छन् । चौखेरीमा करिब ३–४ सय घरहरु राप्ती नदी र खहरेखोलाको बीचमा फँसेका छन् । उनीहरु शुक्रबार रातिदेखि घरको छतमै बसिरहेका छन् । धेरैजसो घरहरुमा पानी पसिसकेको छ । सबैको घरमा भएका खानेकुरा अनि लत्ताकपडाहरु बाढीले बगाएको छ र, मानिसहरु भोकै छन् । तर, अहिलेसम्म त्यहाँ कुनै पनि राहतका सामग्री पुग्न सकेको छैन ।
    आफ्ना बालबच्चा अनि घरमा बचेखुचेका सामानहरुलाई एकै ठाउँमा पोका पारेर बाटोछेउमा बसिरहेकी रुपरानी चौहानले आइतबार बिहानमात्रै आफन्तले ल्याइदिएको खाना छोराछोरीसँग बाँडेर खाइन् । सानो स्याउलाले बारेको उनको झुपडीभित्र शुक्रबार बिहान राप्तीको पानी पसको थियो । त्यसले घरका सबै अन्नपात अनि लत्ताकपडाहरु हिलोमा मिसाइदियो । कति बगाएर लग्यो । छानामा कोचिएका केही कपडा अनि भाँडाकुँडा र एउटा खटिया मात्रै बचेको छ अब उनीसँग । त्यही खटिया(चारपाइ) हिलाम्य सडकमा बसेर उनी राहत कुरिरहेकी छिन् । ‘हेलिकोप्टर त उडिरहेको देख्छु तर, कोही पनि आएको छैन’ उनी भन्छिन् ‘आफू त जसोतसो सहिन्छ, छोराछोरीको भोक सहन सकिन्न ।’


    बाढी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेर आइतबार नै गृहमन्त्री जनार्दन शर्मा फर्किसकेका छन् । उनले बाँके र वर्दियाका बाढीग्रस्त क्षेत्रको हवाइ निरीक्षण गरेका थिए । त्यसपछि नेपालगन्ज विमानस्थलमा उनले जिल्लाका सबै सुरक्षा निकाय तथा कर्मचारीहरुलाई उद्धारमा खटिन निर्देशन दिए । उनले सबै सुरक्षा निकायलाई चौविसै घण्टा उद्धारमा खटिन निर्देशन दिएका थिए ।
    हेलिकोप्टरबाट बाढीग्रस्त क्षेत्र हेर्न आएका उनले राप्तीसोनारी गाउँपालिकामा ओर्लिएर पीडितका गुनासाहरु पनि सुनेका थिए । गृहमन्त्री शर्माले सिमानामा बनाइएका बाँधका ढोकाहरु खोल्नका लागि भारत सरकारसँग कुटनीतिक पहल भइरहेको पनि जानकारी दिए ।
    जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको क्षति विवरण अझैँ एकीन गरिसकेको छैन । विपत परेका सबै ठाउँमा पानी भरिएका कारण त्यहाँ उद्धारका लागि समेत जान नसकिएको उसले जनाएको छ । निमित्त प्रमुख जिल्लाअधिकारी कृष्णबहादुर खड्काका अनुसार नरैनापुर, राप्ती सोनारी, होलिया, बेतहनिया, डुडुवालगायतमा स्थानमा थुप्रै गाउँहरु डुबानमा परेका छन् भने धेरै जोखिमपूर्ण अवस्थामा छन् । सबैजसो ठाउँका घरहरुमा पानी पसेर खानेकुराहरु बगाएको छ । लत्ताकपडाहरुसमेत नभएका कतिपय ठाउँका मानिसहरु उद्धारका लागि पर्खिरहेका छन् ।
    सबैभन्दा बढी अहिले राप्तीसोनारीको बैजापुरमा भएको छ । त्यहाँ अहिलेसम्म कुनै पनि राहत पुगेको छैन । न त उद्धारकर्मीहरु नै पुगेका छन् । बाटो पूरै बन्द भएको छ । बाटोमा भएका धेरैजसो पुलहरु तथा कल्भर्टहरुसमेत भाँचिएका छन् । गाउँभरि राप्ती पसेपछि त्यसले धेरै पशुपंक्षीहरु मरेका छन् । त्यसको दुर्गन्ध टाढाटाढासम्म फैलिन थालेको स्थानीयवासी बताउँछन् । त्यहाँका करिब एकहजार भन्दा बढी घरहरु डुबानमा परेका छन् । मानिसहरु सबै घर छोडेर भागेका छन् भने सबै घरभरि पानी भरिएको छ । त्यहाँ सञ्चार समेत विच्छेद भएका कारण अहिलेसम्म कुनै पनि जानकारी आउन सकेको छैन ।
    भारतले लक्ष्मणपुर बाँधका ढोकाहरु खोलिदिएपछि राप्तीको पानी धेरै घटिसकेको छ । तर, अझैँ पनि वर्षा नरोकिएपछि खतरा भने उत्तिकै छ । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदिश सिंहका अनुसार शनिबार नै भारतले बाँधका ढोका खोलिदिएको थियो । ‘ढोका खोलेपछि पानी केही घटेको छ तर, समस्या उस्तै छ, सबैको घरमा पानी पसेको छ’ होलियामा बाढीमा फँसेकाहरुलाई उद्धार कार्यमा जुटेका उनले भने ‘यहाँ कोही राहत दिन पनि आएको छैन, मान्छेहरु तीन दिनसम्म घरको छतमा भोकभोकै बसिरहेका छन् ।’
    राजमार्ग अवरुद्ध्
    पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर–दाङ सडकखण्डका पुलहरु ठाउँठाउँमा भत्किएका छन् । पुल भत्किँदा शनिबारदेखि हज्जारौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
    शनिबार राजमार्गको गन्धौली खोलाको पुल भत्किएको थियो । पुल भत्किएपछि खोलामा बनाइएको अस्थायी बाटो पनि खोलाले बगाएको छ । त्यस्तै अगैयास्थित गावर खोलाको पुल पनि पूरै भत्किएको छ । राजमार्गका दुई मुख्य पुुलहरु भाँचिएपछि अहिले पूर्वपश्चिम रागमार्ग पूरै अवरुद्ध भएको छ ।
    इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख डिएसपी सुरेशकुमार काफ्लेले अहिले खोलामा डोजर लगाएर अस्थायी बाटो बनाउने प्रयास भइरहे पनि भारी वर्षाका कारण काम हुन सकेको छैन । चुरेको पहाडमा ठूलो वर्षा भइरहेका कारण खोलाहरु प्नि उर्लिइरहेका छन् । उनका अनुसार अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा ठप्प छ । यात्रुहरु बाटोमै अलपत्र छन् । ‘हामीले कुनै न उपया निकालेर यात्रुहरुलाई गन्तव्यमा पठाउने प्रयास गरिरहेका छौँ’ डिएसपी काफ्लेले भने ‘तर, खोला उर्लिइरहेका छन्, पानीको सतह झन् झन् बढिरहेको छ ।’ राजमार्गका अरु धेरै पुलहरु समेत निकै जोखिममा छन् ।

     

     

  • ३० श्रावण २०७४, सोमबार ११:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित