काठमाडौं, १३ भदौ । माओवादी केन्द्रले पार्टीको भ्रातृसंगठन अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत चयन हुन नसके निर्वाचनका माध्यमबाट गर्न निर्देशन दिएको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मंगलबार विज्ञप्ति जारी गरी विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको उल्लेख गरेकी छन् ।
अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनअन्तर्गत भोलि बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि दावेदारीको भीड देखिएको छ । मनोनयन दार्ताको प्रारम्भिक नतिजाअनुसार ३३ पदाधिकारीका लागि चार सयभन्दा बढीको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्यालले उम्मेदवारी दिएका छन् । नौजना उपाध्यक्ष पदका लागि मदन चुँडाल, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, वीरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपेश पुनलगायतले उम्मेदवारी दिएका छन् । महासचिवमा खेमबहादुर सिंह, उत्तम अधिकारी, राजेश्वरी सुवेदीलगायतले उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा केशव रावल, नवराज ऐर, अर्जुन लुइँटेलको उम्मेदवारी परेको छ । खुला सचिवमा विश्वास कार्की, समावेशी सचिवमा सुब्बा श्रेष्ठ र प्रदेश सचिवमा मीनकुमार शिवाकोटीलगायतेको उम्मेदवारी परेको छ ।
क्रान्तिकारीको सम्मेलनले एक—एक अध्यक्ष, महासचिव र कोषाध्यक्ष, ९ जना उपाध्यक्ष, ५ उपमहासचिव, १६ सचिव गरी ३३ सदस्यीय पदाधिकारीसहित २ सय ४३ केन्द्रीय समिति निर्वाचित गर्नेछ ।