मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकी एथलेटिक्स मा कीर्तिमानी केशरी किन खाडी भासिइन्?
  • मार्गरेखा संवाददाता

  • गत महिना एथलेटिक्स खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबईतर्फ लागिन्। उनी चाहन्नथिन्, आफू विदेश गएको अरुले थाहा पाउन्।

    तर, एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङले त्रिभुवन विमानस्थलमा केशरी बिदाइ भएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि केही दिन यो चर्चाको विषय बन्यो। प्रशिक्षक गुरुङका अनुसार आफ्नो उक्त तस्बिर सामाजिक सञ्जालमा राखेकोमा केशरी दुखी भइन्।

    उनी आफू खाडी पुगेकोबारे कसैले थाहा नपाउन् भन्ने चाहन्थिन्’, प्रशिक्षक गुरुङ भन्छन्। केशरी नेपाली एथलेटिक्सकी सशक्त खेलाडी थिइन्। राष्ट्रिय स्तरमा उनले जति पनि प्रतियोगितामा सहभागिता जनाइन्, विरलै स्वर्ण पदक गुमाउनु पर्‍यो।

    ट्रिपल जम्प, हाइजम्प, लङजम्प र १ सय हर्डल्समा उनको नाममा राष्ट्रिय कीर्तिमान (टाइमिङको) छ। एउटै प्रतियोगितामा तीन/चार वटा स्वर्ण पदक जित्थिन्, धेरैपटक राष्ट्रिय कीर्तिमान सुधार गरिन्। लामो समय नेपाल प्रहरीका लागि खेलेकी २६ वर्षीया केशरीले यस विभागीय टोलीको शान धेरै पटक बढाइन्।

    तर जानकारहरुका अनुसार आफ्ना उपलब्धिलाई विभाग र सरकारले वास्ता नगरेकोमा उनी विगत केही समयदेखि निकै दुखित थिइन्। ‘खेलेर नाममात्र छ, त्यसबाहेक केही छैन। यहाँ कसैले मूल्यांकन गर्दैन। पैसा पनि थोरै छ, बढुवा पनि हुँदैन’, आफू निकटसँग केशरी भन्ने गर्थिन्।

    खाडीमा केशरी रोजगारीका लागि गएको विषयप्रति सरोकारवालाको चासो देखिएन। सामान्य मानिस खाडी भासिनु र त्यही ठाउँमा यति ठूलो खेलाडी जानुपर्ने बाध्यताबीच कुनै फरक देखिएन। राजधानी चुप रह्यो, देश चुप रह्यो। केशरीको खाडी रोजगारी बाध्यता र पछिल्लो प्रतिक्रिया बुझ्न म केही दिनअघि बर्दियास्थित केशरी चौधरीको घर पुगेंँ।

    केशरीको परिवारलाई पछ्याउँदै उनको गाउँ पुग्दा

    नेपालगन्जबाट करिब ७० किलोमिटर टाढा बर्दियाको जोगीगाउँस्थित बबई नदीको किनारमा रहेछ, उनको घर। घर नपुग्दै गाउँमा भेटिएका उनका अग्रज दाइलाई केशरी खाडी भासिएको बताउँदा उनी तीन छक्क परे।

    केशरी चौधरीका बुबा जगतराम थारु र हजुरबुबा मंगलबहादुर थारु। तस्बिरहरु: गजेन्द्र बोहोरा

    केशरी अध्ययन गरेको युवक माविका प्रधानाध्यापक मुकुन्दप्रसाद पौडेल निकै दुखित देखिए। खेलकुदमा नयाँ पुस्ता निस्कनेमा उनले शंका व्यक्त गरे। यो त्यही स्कुल थियो जसबाट राष्ट्रपति कप खेल्दै उनले आफ्नो क्षमता देखाइन्, अब्बल भइन्, घरेलु एथलेटिक्समा उनको सम्भावना देखियो।

    यसपछि हामी केशरीको घर पुग्यौंं जहाँ उनका बुवा जगतराम थारु तथा हजुरबा र हजुरआमा (मंगलबहादुर र जानकी थारु) भेटिए। केशरी विदेश जानु परेकोमा दुखित थियो परिवार। ‘हामीले धेरैपटक उनलाई सम्झायौं तर मनाउन सकेनौं। छोरीले राम्रै सोचेर निर्णय गरेकी होली सम्झियौं। हामी गाउँको मान्छेलाई कसले हेरिदिन्छ र ?’ केशरीका बुबाले भेटलगत्तै गुनासो गरे।

    उनलाई यत्ति थाहा छ, छोरीले खेलेर आफ्नो शान बढाई, गाउँमा इज्जत दिई। ‘छोरीले धेरै समय कुरी तर उसले सोचेजस्तो भएन। उसको सपना पनि ठूलो थिएन’, अब भने केशरीका बुबा निराश बन्दै थिए।

    नातिनी विदेशिएकोबारे कुरा भइरहँदा केशरीका हजुरबा पनि हामीसँग जोडिए। ‘केशरीले हाम्रो शान खुबै बढाई। केशरीको हजुरबा भनिँदा खुब खुसी लाग्थ्यो’, हामीबीच घुसेर उनी भन्दै थिए।

    जोगीगाउँमा अधिकांश चौधरीको बसोबास छ, जसमा छोरीचेलीको सपना त्यति ठूलो छैन। तर, केशरीले यसबीचमा ठूलो सपना देखिन्, ठूलो सम्भावना देखाइन्, गाउँलाई चिनाइन्, देशभर चिनिइन्, सफल भइन्।

    राज्यको निकै कम लगानीबीच उनले गरेका मिहेनत सामु देशका अन्य खेलाडी धेरै पछाडि देखिन्थे। मैले केशरीले जितेका अहिलेसम्मका पदकहरु देखाइदिन आग्रह गरें। जगतराम सिलिङतिर पदक खोज्न थाले।

    ‘बाढीले अस्ति घर डुबाएको थियो। त्यतिबेला धेरै कुरा बगे। केशरीकापदक र प्रमाणपत्र पनि बगे। बाढीले बचेका पदकलाई बोरामा हालेर सिलिङमा राखिदिएको थिएँ,’ जगतरामको कुरा सुनेर मन कुँडियो।

    उनी भने पदक राखेको पोको खोज्न थाले। तर, उनी आफ्नै कामको हतारोमा पनि देखिन्थे। बुझ्दा उनको परिवार बबई नदीमा ढुंगागिटी खोज्ने काम गर्दो रहेछ।

    यसपछि उनको पछाडि लाग्दै परिवार काम गरिरहेको ठाउँतर्फ लागेँ, जहाँ उनकी श्रीमती सुगनिया थरुनी, जेठो छोरा गोपाल थारु र बुहारी सम्झना थारु ढुंगागिटी खोज्दै एक ठाउँमा जम्मा गरिरहेका थिए।

    ‘परिवार त पाल्नै पर्‍यो। केही न केही त गर्नै पर्‍यो’, काम गरिरहेका परिवारका सदस्यतर्फ हेर्दै केशरीका बुबा भन्दै थिए।

    बिहान उठेदेखि बेलुका साँझसम्म यो परिवारको दैनिक यहीँ बित्ने रहेछ। ‘उमेर हुँदै कमाएँ भने भोलिको दिन राम्रो हुन्छ भन्दै बहिनी गई’, नजिकै आएर केशरीका दाइ गोपालले भने।

    जब केशरीले हात पारेका सफलताबारे रेडियोमा समाचार बज्थ्यो, यो परिवारलाई लाग्थ्यो, अब केशरीको भविष्य नेपालमै राम्रो हुने भयो, नाम र दाम दुवै कमाउने भई। तर, केशरीले आठ/दश वर्ष काठमाडौंमा बस्दा पनि कपडा र केही हजार रुपैयाँबाहेक दिन सकिनन्। ‘हिँड्ने बेलामा उसको तलब १७/१८ हजार थियो। अझ यति तलब भएको केही वर्षमात्र भएको थियो।

    ‘त्यसले काठमाडौंमा के गर्नु ? धन्न यताबाट पठाउनु चाहिँ परेन’, केशरी बिदेशिएकोमा एक प्रकारको सन्तुष्टि यतिबेलाको उनका बुवाको अनुहारमा देखिन्थ्यो। केशरी नौ लाख रुपैयाँ तिरेर दुबई गएको परिवारलाई थाहा छ तर त्यो पैसा कसरी निकालिन् थाहा छैन।

    ‘त्यत्रो पैसा हामीले कहाँबाट निकाल्नु ?’ केशरीकी आमा भन्दै थिइन्। त्यतिबेलासम्म लगभग साँझ परिसकेको थियो।

    परिवारसँग पुन घर फर्किएँ। यतिबेलासम्म पदकहरु राखेको पोको खोजिसकेका रहेछन्। धेरै पदक खिया लागेर माटो र धुलो लागेर नचिनिने अवस्थामा रहेछन्।

    उसको केही पदक नेपालगन्ज ठूली दिदीकोमा छ। ऊ यता आउँदा नेपालगन्जमा धेरै बस्ने भएकाले उसका केही पदक त्यतै छ जस्तो लाग्छ’, केशरीका दाइ गोपालले पदकको पोको खोल्दै भनें।

    केशरीले कतिवटा पदक जितिन्, उनको परिवारलाई यकिन छैन र गनिसाध्य पनि थिएन। तर अब केशरीले पदक जितेकोबारे समाचार उनीहरुले सायदै सुन्न पाउने छन्। उनीहरुलाई थाहा छैन, केशरी अब समाचारमा आउने छिन् कि छैनन, हिजोअस्तिजस्तै।

    भोलिपल्ट बिहान नेपालगन्जमा रहेकी केशरीकी दिदीलाई भेट्ने लक्ष्य राखेर त्यस साँझ म नेपालगन्ज फर्किएँ।

    केशरीलाई सानैदेखि प्रशिक्षण गराएका प्रशिक्षक चन्द्र गुरुङ पनि नेपालगन्जमै बस्ने भएकाले मैले उनीसँग पनि कुरा गर्न सम्पर्क गरें। बिहान केशरीकी दिदीको घरमा भेट्ने तय भयो। उक्त घरमा केशरीेले खेल्दै गरेका तस्विरलाई ठूलो बनाएर भित्तामा राखिएका थिए, सम्मानपत्रहरु पनि त्यहाँ थिए।

    ‘केशरी विदेश गएपछि उनको कोठामा राखिएका पदक र सम्मानपत्र मैले यहाँ ल्याइदिएको हुँ’, पदक देखाउँदै प्रशिक्षक गुरुङ भन्दै थिए। आफूले धेरै प्रयास गरे पनि केशरीलाई रोक्न नसकेको उनको भनाइ थियो। ‘पुलिसमा बढुवाका लागि धेरै प्रयाश गरे पनि सफल भएन। यति ठूलो खेलाडी सिपाही पदमा कति वर्ष बस्ने? केशरीभन्दा पछाडि आएका खेलाडी आर्थिक र पदीय हिसाबमा उनीभन्दा अगाडि थिए। कुराहरु धेरै छन्। यो धेरै ठूलो दुर्भाग्य हो’, गुरुङले भने।

    देशका लागि दुर्भाग्य

    नेपालगन्जबाट फर्किएपछि यस घटनालाई अरु खेलाडीले कसरी लिइरहेका छन् भन्ने बुझ्न चाहें।

    राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी संघका पूर्वअध्यक्ष, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी चार स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी विष्टको प्रतिक्रिया यस सन्दर्भमा उचित थियो। शंखमूलस्थित उनकै घरमा पुगेर मैले कुरा गरेँ।खेलाडीले आफ्नो खेलाडी जीवनपछि राम्रो हुन्छ भने विदेशिनु राम्रै हो। युरोप, अमेरिकामा खेलाडी गएका पनि छन्। यो राज्यले उनीहरुलाई राख्न नसकेर यस्तो अवस्था आएको हो। तर एउटा कीर्तिमानी खेलाडी खेल्दाखेल्दै वैदेशिक रोजगारीकै लागि खाडीमा भासिनु यो देशका लागि योभन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन,’ बिष्ट भन्दै थिए।देश सञ्चार बाट

     

  • १९ पुष २०७४, बुधबार ११:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित