जाडोमा देखिने प्रमुख शारीरिक समस्या हुन्– जोर्नीको दुखाइ, घुँडाको पीडा, दम, रुघाखोकी, इन्फेक्सन, ज्वरो आदि । यस्ता प्रकृतिका सम्भावित समस्याबाट बच्न शारीरिक अभ्यासले ठूलो भूमिका खेल्छ । नियमित योग गर्नाले पनि यस्ता शारीरिक समस्याबाट छुटकारा मिल्छ । जाडोमा गरिने एउटा प्राणायाम हो, सूर्यभेदी । यसले शरीरलाई न्यानो राख्न मद्दत गर्नुका साथै नसासम्बन्धी रोगलाई पनि निको पार्न सहयोगी भूमिका खेल्छ ।

सूर्यभेदी प्राणायामको विधि
- पहिला योगगुन्द्रीलाई जमिनमा व्यवस्थित गर्नुहोस् र चकटी पनि व्यवस्थित रूपमा राख्नुहोस् ।
- अब दायाँ हातले नासिका मुद्रा र बायाँ हातले ज्ञान मुद्रा बनाउनुहोस् ।
- त्यसपछि नासिका मुद्रा सेरोफेरो व्यवस्थित गर्नुहोस् । र, दायाँ नासिकाबाट श्वास लिनुहोस् र बायाँ नासिकाबाट छोड्नुस् । पुनः बायाँ नासिकाबाट श्वास लिएर दायाँ नासिकाबाट छोड्नुस् । २७ पटकसम्म यस्तो गतिविधि दोहोर्याउन सक्नुहुन्छ ।
फाइदा
- यस्तो प्राणायामले शरीरका सम्पूर्ण नसा खुलाउन सहयोग पुर्याउँछ । त्यस्तै, नाडीको समस्याबाट पनि छुटकारा मिल्छ ।
- दमको रोग छ भने पनि यस्तो प्राणायाम गर्दा ठूलो राहत मिल्छ ।
रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायतका समस्या भएका पनि यस्तो प्राणायामबाट लाभान्वित हुन्छन् । - सूर्यभेदी प्राणायामले शरीरमा हुने इन्फेक्सनबाट पनि बचाउँछ ।नयाँ पत्रिकाबाट