नेपालगन्ज २७ पुष । नेपालगन्ज क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा सदस्य तथा ओलम्पियन सुरेन्द्र हमालले पृथ्वीनारायण शाहको योगदानकै कारण आज हामी नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ठकुरी पत्रकार समाज नेपालले आयोजना गरेको नवनिर्वाचित ठकुरी जनप्रतिनिधि र बृद्धबृद्धालाई न्यानो लुगा वितरण कार्यक्रममा शुभकामना दिदै उनले भने ‘विभिन्न टुक्रामा विभाजित नेपाललाई एकीकरण गरि सिङ्गो देश निर्माण गर्न पु¥याएको महत्वपूर्ण योगदानलाई राज्यले विर्सदै गएकोमा चिन्ता ब्यक्त गरे ।’ हमालले भने –राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पुर्खाले विखण्डीत राष्ट्रलाई एकीकरण गरि एकशुत्रमा बाँधेपनि देशीविदेशी विभिन्न तत्वहरुले यसलाई विखण्डन पार्न खोजेकाले सबै नेपाली सजग र सचेत हुनुपर्नेमा जोड दिए ।
उनले ‘राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका दिव्यउपदेशलाई नै आत्मसाथ गरि अघि बढेमा हाल देशका थुप्रै समस्या हलहुनेमा विश्वास ब्यक्त गरे । हमालले सरकारले नै राष्ट्रिय एकता दिवस र पृथ्वीनारायाण शाहका योगदानलाई बिर्सनु ईतिहास बिर्सनु हो जो किमार्थ सही होइन । उने भने ‘पुर्खाले नेपाललाई बचाएका हुन्, हामीले अब नेपाल र नेपालीको स्वाभिमान बचाईराख्नुपर्छ ।’
विस १७७९ पुस २७ गते गोरखामा जन्मेका राजा पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए । उनको यही योगदानको सम्मानमा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइन्छ । २०६२÷०६३ को परिवर्तनपछि सरकारले पुस २७ मा दिइँदै आएको बिदा कटौती गरेको थियो । लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाएकोछ । यसको चौतर्फी विरोध र चर्को आलोचना भएपछि यसपालिदेखि सरकारले पुनः पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर यसलाई सरकारले नै संस्थागतरुपमा कार्यान्वयन गरिनुपर्ने जनअपेक्षा रहेकोछ ।
ठकुरी पत्रकार समाज नेपालकी अध्यक्ष करुण शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागेश्वरी मन्दिर परिसरमा रहेका ५० जना बृद्धबृद्धा, अपांङ्गता भएका ब्यक्तिलाई न्यानो लुगा वितरण गरिएको थियो । न्यानो लुगामा ट्राउजर, गलबन्दी र टोपी वितरण गरिएको थियो ।
सो कार्यक्रममा नवनिर्वाचित ठकुरी जनप्रतिनिधिहरु क्रमस सुनिलसिंह हमाल, समीर प्रताप सिंह, विरेन्द्रबहादुर शाह,उज्जलसिंह राठौर तथा सुमन मल्ललाई बधाई दिइएको थियो ।
कार्यृक्रममा समाजका कानुनी सल्लाहकारद्वय लोकबहादुर शाह, बलबहादुर चन्द, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, पूर्व अध्यक्ष एवं सल्लाहकारद्वय शुक्रऋषी चौलागाई र रुद्र सुवेदी, मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, नेपालगन्ज वडाप्रहरी कार्यालय ईन्चार्ज राजन गौतम लगायतको उपस्थिती रहेको उपाध्यक्ष निशा शाहले जानकारी दिइन ।