नेपालगन्ज माघ ५ । डुडुवा गाउँपालिका बनकट्टी (बाँके) ५ माघ । बाँकेको डुडुवा गाउँपालिका कार्यालयमा बाढीपीडितको रकम वितरणको विषयलाई लिएर केही दिन अघि गरिएको तालाबन्दी गर्ने समूहलाई कारवाहीको माग गरिएको छ । बाढीपिडितका लागि आएको रकम वितरण नगरेको भन्दै माघ २ गते राजनीतिक दबावमा अपरिचित समूहले तालाबन्दी गरेको थियो ।
‘तालाबन्दी गर्ने समूहको पहिचान गरी स्थानिय प्रहरी प्रशासनले कारवाही गर्नुपर्छ’ गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको माग छ ।
सो गाउँपालिकाको सूचना तथा संचार शाखावाट प्रेसित समाचारमा गाउँपालिकाको मानमर्दन हुने गरी गरिएको त्यसखाले अराजक प्रवृति पुनः दोहोरिन नदिन प्रशासनिक निकाय सजग हुनुपर्ने माग समेत गरिएको छ ।
‘गाउँपालिकाद्धारा संचालन हुने गतिविधिका विषयमा चित्त नबुझे छलफल गर्न सकिन्छ, तर त्यसो नगरि केहि नक्कली राजनीतिक बाढी पीडितवाट भएको तालाबन्दीमा संलग्नमाथि कानून बमोजिम कारवाही हुनुपर्छ’—अध्यक्ष चौधरीको माग छ ।
जिल्ला विपत व्यवस्थापन समितिको निर्देशन अनुसार गाउँपालिका अन्तर्गत वडा नंं ३ का वडा अध्यक्षले गैरबाढीपीडित ३० प्रतिशतको नाम मात्र संकलन गरि पठाएको बाँकी ७० प्रतिशतको नाम छुटाएकाले ७० प्रतिशतका लागि रकम नआएपछि रकम वितरणमा समस्या भएको गाउँपालिकाद्धारा प्रेसित समाचारमा उल्लेख छ ।
राजनीतिक दबावका कारण रकम वितरण गर्न सकिएको छैन । गत साउनमा आएको बाढीले प्रभावितहरुका लागि सरकारले प्रति परिवार रु २ हजार १ सय राहत उपलब्ध गराएको थियो । गाउँपालिकाको वडा नं. ३ का केही टोल बाहेक सबै वडामा रकम वितरण गरिसकिएको छ ।
गत माघ २ गते राहत वितरणका विषयमा केहि व्यक्तिले सो गाउँपालिका कार्यालय र वडा नं. ३ को कार्यालयमा तालाबन्दी गरेका थिए ।