माघ ९, बाँके/नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सव २०७४ को पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रचण्ड नेपालगञ्ज आउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मुल समितिका संयोजक नन्दलाल बैश्यलले उद्योग वाणिज्य संघको विशेष आग्रहमा प्रचण्ड नेपालगञ्ज आउन लागेको जानकारी दिए । प्रचण्डसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भनावी राणा पनि महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने बैश्यले जानकारी दिए । साथै उक्त रमारोहमा हेलिकोप्टरबाट पुष्पवर्षा गर्ने तयारी गरिएको संयोजक बैश्यले बताए ।
संघिय संरचना कायम भएपछि नेपालगञ्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको बताउँदै संयोजक बैश्यले महोत्सवबाट संकलीत रकम बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताए । उनले महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहने जानकारी दिए ।
महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताउँदै नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजय कुमार टण्डनले महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको बताए । ५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताए । महोत्सवलाई ब्यवस्थितरुपमा संचालन गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको महासचिव टण्डनले जानकारी दिए ।
माघ ११ गतेबाट संचालन गरीने महोत्सवको उद्घाटन समारोह अघि नगरका बिभिन्न क्षेत्रबाट साँस्कृतीक झाँकी सहितको कलश यात्रा निकाल्ने तयारी गरीएको छ । उक्त समारोहकालागी हात्तीको पनि ब्यवस्था मिलाइएको र आवश्यक तयारी समेत पुरा भैसकेको बताईएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने उद्योग वाणिज्य संघद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।