मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देउवाले कांग्रेसको संसदीय दलको नेतामा अघि सारे नयाँ नाम, पौडेल समुह धर्मसंकटमा
  • मार्गरेखा संवाददाता

  • प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् ।

    पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै चर्को आलोचना खेपिरहेका देउवाले कोइरालालाई संसदीय दलको नेता बताएर नेतृत्व हस्तान्तरणको संकेत दिन खोजेको बताइएको छ ।

    पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल सम्ुहका भनिएका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा आफू प्रतिस्पर्धा गर्ने अभिव्यक्ति दिइरहेका बेला देउवाले पौडेल समुहकै कोइरालालाई अघि सारेर पौडेल समुहलाई कमजोर बनाउने खेल खेलेको अनुमान कतिपय नेताहरुले गरेका छन् ।

    पौडेल समुहबाट संसदीय दलको नेतामा दाबी गरेका सिंहलाई पनि देउवाले कोइरालालाई अघि सारेपछि समस्या हुने निश्चित छ ।

    पौडेललाई पनि आफ्नै समुहका नेतालाई देउवाले च्यापेपछि धर्मसंकटमा पर्ने निश्चित छ । कोइरालालाई नै समर्थन गर्दा प्रकाशमानलाई मनाउनुपर्ने चुनौति छ भने समर्थन नगर्दा आफ्नै समुहबाट महामन्त्रीमा विजयी भएका कोइराला रुष्ट हुने सम्भावना छ ।

    देउवाले प्रकाशमानसँग प्रतिस्पर्धा गर्नुभन्दा कोइरालाई अघि सार्दा सहज हुने भएकाले नयाँ रणनीति लिएको बुझिएको छ । यद्यपी देउवाले पौडेल समुहका कोइरालालाई संसदीय दलको नेता बनाउँदा देउवा समुहकै कतिपय नेताहरु भने रुष्ट हुने देखिन्छ ।

    पार्टीको पराजयपछि निकै आलोचना खेपेका देउवाले नेतृत्व हस्तान्तरणको माग गर्ने युवा नेताहरुको समुहबाट विश्वप्रकाश शर्मालाई प्रवक्ता र बद्री पाण्डेलाई राष्ट्रियसभाको उम्मेदवार बनाएर युवा नेताहरुको समुह फुटाइसकेका छन् ।

    अब कोइरालालाई अघि सार्दा पौडेल समुह कमजोर बन्ने अनुमान देउवाको छ ।

    प्रकाशमानसिंह एक्लै भिड्ने तयारीमा-

    नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति चुनौती दिने तत्परता लिएपछि देउवाले ‘चम्किएका’ नेताहरूलाई काबुमा लिएर सिंहसँग भिड्ने तयारी गरेका छन् ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी तेइस (२३) सांसदमध्ये प्रकाशमानले मात्र संसदीय दलको नेतामा चुनाव लड्ने सार्वजनिक घोषणा गरेका छन् ।

    यस्तैप्रकारको अठोट महामन्त्री शशाङ्क कोइरालाबाट जाहेर हुन सक्ने आशा आमकाङ्ग्रेस कार्यकर्ताले गरेका थिए । तर, कोइराला देउवालाई अप्ठ्यारो पर्ने कुनै कदम चाल्ने स्थितिमा नरहेको बुझिन्छ ।

    संसदीय दलको नेता दाबी गर्न सक्ने हैसियतका अन्य नेताहरू रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला निर्वाचनमा पराजित भएका कारण संसदीय दलमा देउवालाई चुनौती दिन सक्ने नेताहरूको अभाव खट्किएको बेला प्रकाशमान सिंहले दलको नेतामा देउवासँग भिड्ने तत्परता लिएका हुन् ।

    निर्वाचनमा महापराजयपछि चौतर्फी आलोचनाको केन्द्रबिन्दु बनेका शेरबहादुर देउवाले पार्टीको पराजयका निम्ति आफू मात्र नभई सबै नेता उत्तिकै जिम्मेवार रहेको बताउँदै आएका छन् ।केही युवावयका नेताले देउवामाथि ‘नैतिकता’को दबाब दिन सङ्गठित प्रयास गरेपछि देउवाले युवाहरूलाई काबुमा लिन गरेको प्रयासमा उनी धेरै हदसम्म सफल हुन पुगेका छन् ।

    देउवालाई विस्थापित गरेपछि को नेता बन्ने भन्ने प्रश्नको जवाफ नभेटेर वरिष्ठ नेताहरू अलमलिएका बेला ‘बलिष्ट’ नेताहरूलाई समेत काबुमा राख्ने सफलता पाएपछि देउवा आगामी महाधिवेशनसम्म सभापति र संसदीय दलको नेतासमेत रहने सम्भावना बढेको छ ।

    यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान प्रतिकूल गठन भएको संसदीय बोर्ड र कार्य सम्पादन समितिको विघटनलाई मुख्य मुद्दा बनाएर देउवालाई रक्षात्मक बनाउन गरेको प्रयास पनि निरर्थक हुने देखिएको छ ।गत निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण ‘विधान प्रतिकूल संसदीय बोर्ड र कार्य सम्पादन समिति गठन हुनुलाई’ मानिएको छैन ।

    पौडेलको ‘मुद्दा’लाई मूल विषयबाट कार्यकर्ताको ध्यान हटाउन गरिएको प्रलापका रूपमा लिइएको छ । निर्वाचनलगत्तै आफूविरुद्धको गतिविधिमा ‘वरिष्ठ’भन्दा ‘बलिष्ट’ नेताहरू ज्यादा सक्रिय भएको पाएपछि देउवाले लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी सुम्पिएर जुर्मुराउँदै गरेको युवा पुस्तालाई ‘न्युट्रलाइज्ड’ गरेका छन् ।

    अर्का लोकप्रिय युवा नेता बद्री पाण्डेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णयले पनि असन्तुष्ट युवाहरूलाई नै प्रभावित गरेको छ । अन्य युवा नेताहरूलाई पनि विभिन्न आश्वासन दिएर देउवाले मत्थर तुल्याएको बुझिन्छ । कोइरालाहरू देउवापछाडि पार्टीको नेतृत्व आफूमा आउनुपर्ने सोच राख्दछन् । त्यसैले रामचन्द्र पौडेल या प्रकाशमान सिंहहरूले लिने कुनै पनि प्रकारको तत्परतामा कोइरालाहरूको हार्दिक सहयोग हुने स्थिति छैन ।

    अर्कोतिर देउवाले आफूपछिको नेता बनाइने आश्वासन डा. शशाङ्क कोइरालालाई दिएको बताइन्छ । केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गर्न सफल नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने स्पष्ट सङ्केत दिइसकेका छन् ।

    त्यसैले पनि रामचन्द्र पौडेल र प्रकाशमान सिंहहरूद्वारा चालिने कमदप्रति कोइरालाहरूको साथ–सहयोग नरहने वा देखावटीका निम्ति मात्रै रहने देखिएको छ । देउवासँग असहमत नेताहरू ‘एक’ नभएकोले प्रकाशमान सिंहले देउवालाई दिने चुनौती सार्थक नहुने सम्भावना छ । प्रतिनिधिसभाका २३ सदस्यमध्ये बहुसङ्ख्यक (कम्तीमा १४) सांसदको साथ प्रकाशमानलाई हुने स्थिति भए पनि समानुपातिकतर्फका सांसदको ठूलो सङ्ख्या देउवाकै पक्षमा जाने देखिन्छ ।

    समानुपातिकतर्फ कम्तीमा २५ र प्रत्यक्षतर्फको कम्तीमा नौ गरी जम्मा ३४ भन्दा बढी मत लिएर संसदीय दलमा देउवा विजयी बन्न सक्ने अवस्था छ । दलको नेता बन्न कम्तीमा ३२ मत प्राप्त गर्नुपर्ने हुन्छ । देउवा समर्थीत ब्यक्ती पराजित गर्न नसकिने देखिएमा कतिपय सांसदहरू देउवालाई साथ दिएर ‘क्रेडिट’ लिन अग्रसर हुने सम्भावनालाई समेत विचार गर्दा कम्तीमा अठ्तीस मत देउवालाई प्राप्त हुने अनुमान पनि गर्न सकिन्छ ।

    जे होस्, देउवाले पार्टीभित्र आफूविरुद्धको आक्रोश मत्थर गर्ने सफलता प्राप्त गरेका छन् ।यसनिम्ति देउवाको पाँच खम्बा मानिने पत्नी आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र विमलेन्द्र निधिको खास योगदान भएको बताउन थालिएको छ ।

  • १५ माघ २०७४, सोमबार १२:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित