तुलसीपुर १६ माघ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कृषकहरुलाई जीवन निर्वाहमुखी मात्रै नभएर व्यावसायिक कृषि प्रणाली अवलम्वन गर्न आग्रह गरेका छन् । उनले कृषिप्रधान देश तरकारी, खाद्यान्न र फलफुलका लागि पनि छिमेकी देशमा निर्भर रहनु विडम्वनाको कुरा भएको वताउँदै कृषिमा आधुनिकीकरणका लागि उपमहानगरले जुनसुकै सहयोग गर्न पनि तयार रहेको वताए । अनुदान खानका लागि मात्रै वनावटी कृषक वन्ने रोग वढिरहेको भन्दै उनले अनुदान लगेर काम नगर्ने कृषकलाई कडा कारवाही गर्ने पनि वताए । “तपाईहरुका योजना अनुसार उपमहानगरले अनुदान दिन्छ तर अनुदान लिएर काम गर्नुभएन भने फोटो सहित सुचना पाटीमा लगेर टाँसिनेछ ” उनले भने “ राम्रो काम गर्नुहोस् तपाईहरुलाई सम्मान गर्ने , विदेशमा नयाँ नयाँ कृषि प्रणालीका वारेमा जानकारी दिनका लागि भ्रमण गराउँने जिम्मा हाम्रो भयो ” ।
कृषिको रुपान्तरणका लागि कृषकहरुले पनि चासो दिनुपर्ने वताउँदै पाण्डेले पढेलेखेका मान्छेहरुले कृषि पेशामा नलाग्दा समस्या आएको वताए । उनले भने “नपढेको मान्छेले कसरी विउविजन लगायतका कागजमा के लेखेको छ भनेर थाहा पाउँछ ?” उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न मोवाइल एप्लिेकेसनहरु समेत आएको वताउँदै कृषि क्षेत्रलाई समुन्नत वनाउन शिक्षित मान्छेहरु नै यसमा लाग्नुपर्ने वताए ।
तुलसीपुर उपमहानगरपालिकाका व्यावसायिक कृषकहरुसँगको छलफल कार्यक्रममा वोल्दै पाण्डेले काम गर्ने कृषकका लागि आवश्यकता अनुसार उपमहानगरले थप अनुदान दिने समेत वताए । उपमहानगरपालिकाले कृषि अनुदानका लागि आह्वान गरेको प्रस्तावना पेश गरेका २४ कृषकहरुले प्रस्तावनका वारेमा छलफल समेत गरेका थिए । उनीहरुले उपमहानगरले आर्थिक सहयोगसँगै वजार व्यवस्थापन र ढुवानीमा पनि सहयोग गर्नुपर्ने वताएका थिए । यसका साथै ठाउँ अनुसार कृषि र पशुपालनको पकेट क्षेत्र छुट्याउनुपर्ने समेत वताएका थिए ।