मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज लाग्ने खग्रास चन्द्रग्रहण के हो थाहापाउनु हो र कुन कुन राशीलाई ग्रहणको प्रभाव गर्दछ
  • मार्गरेखा संवाददाता

  • आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।

    व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

    ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ। चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ।

    २०७४ साल माघ १७ गते बुधवार पूर्णिमा तिथिमा खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाली समयअनुसार साँझ ५ः३२ बजे ग्रहणको स्पर्श हुनेछ। साँझ ६ः३६ बजे ग्रहणको सम्मिलन (चन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश) हुनेछ भने ७ः१६ बजे ग्रहणको मध्य र ७ः५३ बजे उन्मिलन (चन्द्रबिम्ब छायाबाट निस्कन सुरु) हुनेछ। बेलुकी ८ः५७ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा २५ मिनेट रहनेछ।

    काठमाडौंमा साँझ ५ः५५ बजे चन्द्रोदय भएपछि मात्र ग्रहण देख्न सकिनेछ। चन्द्रमा ग्रस्तोदित भए पनि नदेखिएको ग्रहणको दोष नलाग्ने शास्त्रीय मान्यताअनुसार काठमाडौंवासीका लागि चन्द्रोदय समय ५ः५५ बजेदेखि ग्रहण लागेको मानिनेछ। यसर्थ काठमाडौंमा ग्रहणको पर्वकाल ३ घण्टा २ मिनेटको हुनेछ। स्थानभेदले चन्द्रोदय फरक–फरक समयमा हुन सक्छ। चन्द्रोयअघि नै ग्रहणले स्पर्श गरिसकेको भए आफ्नो ठाउँमा चन्द्रमा उदाउने समयका आधारमा ग्रहण सूतक लाग्छ।

    अस्ट्रेलिया, एसियाको पूर्वी भाग तथा क्यानडाको पश्चिमउत्तर क्षेत्रबाट पूरै अवधि देख्न सकिने चन्द्रग्रहण पश्चिम एसियामा ग्रस्तोदय र अमेरिकामा ग्रस्तास्त देखिनेछ। पश्चिम युरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने चन्द्रग्रहण देख्न सकिने छैन।

    ग्रहणमा निषेध र कर्तव्य

    यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा चन्द्रमाबाट आउने विषमय तथा विकृत किरणहरूको वर्षाले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्दछ। यसर्थ पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।

    चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) र सूर्यग्रहण सुरु हुनुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्दछ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। अझ चन्द्रमा ग्रस्तोदित भएको अवस्थामा अघिल्लो चन्द्रदर्शन हुँदैखेरि भोजनादि गरिसक्नुपर्ने शास्त्रनिर्देश पनि पाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहण लाग्ने दिन बिहान ८ः५५ बजेदेखि अशक्त, बाल, वृद्ध र आतुरलाई बाहेक भोजनादि नगर्न सुझाएको छ। बाल, वृद्धलगायत अशक्तहरूले पनि कम्तीमा एक प्रहर (३ घण्टा) अघिदेखि भोजन गर्न नहुने शास्त्रनिर्देश रहेको छ।

    ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ। ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

    ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ। ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ।

    स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।

    विभिन्न राशिहरूलाई ग्रहणको प्रभाव

    ग्रहणले कसैका लागि भाग्य र कसैलाई दुर्भाग्य निम्त्याउन सक्छ। आफ्नो नामराशिदेखि गन्दा ३, ६, १० र ११ औं राशि कर्कट भएमा उक्त ग्रहण शुभफलदायी हुन्छ। अन्यथा हुनेहरूका लागि भने ग्रहण प्रतिकूल नै हुन्छ। शास्त्रीय मान्यताअनुसार शुभफल मिल्ने राशिवालाहरूले मात्र ग्रहण हेर्नु शुभ हुन्छ। अन्य राशिहरूले ग्रहण हेरेमा बताइएका प्रतिकूल फलमा बढोत्तरी हुन्छ।
    यसपालि लाग्ने चन्द्रग्रहण कर्कट राशिअन्तर्गत तिष्य नक्षत्रमा स्पर्श भई अश्लेषा नक्षत्रमा सकिनेछ। यसर्थ कर्कट राशि र त्यसमा पनि विशेष गरी तिष्य र अश्लेषा जन्मनक्षत्र हुनेहरूका लागि यो ग्रहण बढी कष्टदायी मानिन्छ। त्यस्तै मेष, सिंह र धनु राशि हुनेहरूलाई पनि ग्रहण विशेष प्रतिकूल रहनेछ।

    ग्रहणफल–

    मेष : पीडा
    वृष : श्रीप्राप्ति
    मिथुन : हानि
    कर्कट : घात
    सिंह : व्यय
    कन्या : लाभ
    तुला : सुख
    वृश्चिक : मानहानि
    धनु : कष्ट
    मकर : पति वा पत्नीलाई पीडा
    कुम्भ : सुख
    मीन : चिन्ता

  • १७ माघ २०७४, बुधबार ०५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित