मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकाले नाला सफा नगर्दा बाटो बन्द भएपछि जनता आक्रोशित
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, २२ माघ ः विकासको ठुलो ठुलो कुरा गर्ने तथा नेपालगञ्जलाई नेपालकै उत्कृष्ट नगर बनाउने उद्घोष गर्दै आएको उपमहानगरपालिकाले लामो समयदेखि एउटा सानो नाला सफा नगर्दा बाटो अवरुद्ध भएपछि स्थानीय आक्रोशित भएका छन् ।
    नेपालगञ्ज–११ का स्थानीय बासिन्दाले वडा अध्यक्ष, मेयर र उपमेयर लगायत उपमहानगरपालिकामा पटक पटक आफ्नो टोलको नाला सफा गराउन र बाटो सुचारु गराउन आग्रह गर्दा पनि सनुवाई नभएपछि आक्रोशित भएर जनप्रतिनिधि बिरुद्ध नाराबाजी गरेका छन् ।
    वडा नम्बर ११ को त्रिभुवनचोकदेखि विपी चोकको बिचमा पर्ने मूख्य सडकको उत्तरतर्फको कुम्हारनटोल जाने बाटो छेउको नाला पुरिंदा सो बाटो डुबानमा परी लामो समयदेखि आवागमन नै बन्द भएको छ । नालाको पानीले गर्दा बाटो बन्द हुँदा पछाडीको भागमा पर्ने सयौं घरका सर्वसाधारणलाई आवागमनमा निकै सास्ती भएको छ ।
    एमालेका वरिष्ठ नेता मौलाना अब्दुल जब्बार मन्जरीको घर छेउबाट उत्तरतर्फ जाने बाटोमा रहेको नालाको लामो समयदेखि सफाई नहुँदा नालाको अतिनै फोहोर पानी सडकमा भरिंदा आवागमन बन्द भएको स्थानीय राजु सिद्दिकीले बताए ।
    उनले सो बारेमा पटक पटक जनप्रतिनिधिहरुलाई जानकारी गराउँदा तथा उपमेयर वडा अध्यक्ष र सदस्यलाई नालानै देखाउँदा पनि केही नगरिएको गुनासो गरे ।
    सडकमा नालाको पानी भरिएपछि कुम्हारनटोल नयाँ बस्तीमा बसोबास गर्ने करिब सय भन्दा बढी घरदुरीका बासिन्दालाई आवागमन गर्न समस्या भएको जनाउँदै सो बाटो हिंडदा धेरै जना खसेर घाइते भएको तथा आधा दर्जनजति मोटरसाइकल दुर्घटनामा परेको अर्का स्थानीय रिजाउल मुस्तफाले बताए ।
    मुख्य सडक जोड्ने सो बाटोमा नालाको पानी भरिएर आवागमनमा समस्या परेपछि उक्त क्षेत्रमा रहेका विरामीलाई अस्पताल लैजान तथा बालबालिकालाई बिद्यालय पुर्याउन सबैभन्दा बढी समस्या भएको अर्का स्थानीय इम्तियाज राइले बताएका छन् ।
    शव लैजाने बाटो समेत नहुँदा स्थानीयले आफै बनाए
    नालाको पानीले अवरुद्ध भएको सोही बाटोको पछाडी पर्ने कुम्हारन टोलमा शनिवार राती स्थानीय कलिम खानको निधन भएपछि उनको शवलाई अन्तिम संस्कारका लागि लैजाने बाटो समेत नहुँदा स्थानीयले आफै ग्राभेल खसाएर आइतवार बाटो अग्लो बनाएका छन् ।
    शवलाई लैजाने बाटो पनि नभएपछि बाध्य भएर स्थानीयले मिलेर रकम जम्मा गरी ग्राभेल खसाल्न लगाई बाटो अग्लो पारेको मौलाना अब्दुल जब्बार मन्जरीले बताए ।
    उनले राती एक्कासी विरामी भएका खानलाई बाटोकै समस्याले अस्पताल पुरयाउन ढिलाई भएपछि उनको निधन भएको पनि बताए ।
    उपमहानगरपालिकाका जनप्रतिनिधिलाई पटक पटक आग्रह गरिएपनि सुनुवाई नगर्दा स्थानीय निकै आक्रोशित भएका छन् । वडा नम्बर ११ का वडा अध्यक्ष उज्ज्वलसिंह राठौरलाई पनि पटक पटक आग्रह गर्दा केही दिनमा आफै सो नाला सफा हुने जनाउँदै आएको स्थानीयको भनाई छ ।
    वडा नम्बर ११ का वडा सदस्य मुबारक सिद्दिकीले आफुले सो सडक र नालाको बारेमा पटक पटक वडा अध्यक्ष, मेयर र उपमेयर लगायतलाई जानकारी गराएको तर उहाँहरुले कुनै पनि वास्ता नगरेकोले यस्तो भएको बताए ।

     

  • २२ माघ २०७४, सोमबार १४:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित