मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा प्रधानमन्त्रीकप भलिबल सुरु, एपीएफ र न्यु डायमण्ड विजयी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जः नेपालगन्जमा पाँचौ प्रधानमन्त्रीकप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । फागुन सात गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बंगलादेश, भारत र नेपालका पाँच गरी सातवटा टिम सहभागी छन् ।

    प्रतियोगिताको पहिलो दिन दुईवटा टिमले आफ्नो विजय सुरु गरेका छन् । पहिलो दिन शिवम् न्यु डायमण्ड र सशस्त्र प्रहरीको एपीएफ टिम विजयी भएका छन् । पहिलो खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पुलिसलाई २५–१९, २५–१४ र २७–२५ को सोझा सेटमा हराएको हो ।

    त्यस्तै दोस्रो खेलमा बंगलादेशको इफान ग्रुप क्लवलाई शसस्त्र प्रहरीको एपीएफले पनि २५– ९, २५–७ र २५–११ को सोझो सेटमा हराएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

    प्रतियोगिताको उद्घाटन गर्दै बाँके क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायाले प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता अन्तराष्ट्रियकरण गराएकोमा आयोजकलाई धन्यवाद दिँदै खेल नेपालगन्जको गौरव भएको बताए । ‘निरन्तर पाँच वर्षदेखि प्रतियोगिता हुँदैं आएको छ, अहिले अन्तराष्ट्रियकरण भएको छ’ उनले भने, ‘यसले हामी सबैलाई गौरवान्वित बनाएको छ, यसले अन्तराष्ट्रिय स्तरका प्रतियोगिता गर्न हामी सक्षम छौं भन्ने सन्देश दिन पनि सफल भएको छ ।’

    प्रतियोगिताको सद्भावना दुतका रुपमा नेपालगन्ज आएकी मिस नेपाल निकिता चण्डकले महिलाको प्रतियोगिता सद्भावना दुतको रुपमा सहभागी हुन पाउनु राम्रो अवसर भएको बताइन् ।

    उनले प्रधानमन्त्रीकपले आफ्नो कार्यक्षेत्र विस्तार गराएकोमा आगामी दिनमा एशियाली देशलाई सहभागी गराउनेतर्फ आयोजकले सोच्नुपर्ने बताइन् । ‘यो खेल अन्तराष्ट्रियकरण भएको छ, आगामी दिनमा यसको दायरा पनि बढाउन हामी सबैको पहल हुनेछ,’ उनले भनिन् ।

    यस्तै नेपालगन्ज उपमहानगरपालिकि उपमेयर उमा थापामगरले नेपालगन्जलाई खेल नगरीका रुपमा विकास गर्ने बताइन् । बजेट विनियोजन गर्दा आफूुहरुले पूर्वाधारपछि खेल क्षेत्रलाई प्राथमिकता दिएको भन्दै छिट्टै नेपालगन्जको पहिचान नै खेलकुदको केन्द्रका रुपमा स्थापित हुने दाबी गरिन् ।

    आयोजक बाँके भलिबल संघका जिल्ला अध्यक्ष टीएस ठकुरीले निकै मेहनतका कारण पाँचौं संस्करणसम्म त्रिदेशीय सहभागीता बनाउन सफल भएको बताए । उनले आगामी दिनमा खेलको स्तरवृद्धिका साथै समेट्ने क्षेत्र पनि विस्तार गर्ने उल्लेख गरे ।

    पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री भएको समयमा उनको सम्मानका लागि भन्दै गृहनगर नेपालगन्जमा प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता स्थापना भएको थियो । स्थापनाकालदेखि नै निरन्तर पाँचौं संस्करणसम्म सफलतापूर्व खेल सम्पन्न भएकाले आगामी दिनमा सहभागीता बढाउँदै लैजाने आयोजकले जनाएको छ ।

    लिक कम नकआउटमा सञ्चालित प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, आयोजक टिम, विदेशी टिममा बंगलादेश र भारत देहरादुनको टिमको सहभागीता रहेको छ । प्रतियोगिता फागुनको ७ गते सम्म चल्नेछ ।

    प्रतियोगितामा विजेताले दुई लाख, उपविजेताले एकलाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । यस वर्ष देखी प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होम मिडियाको एक्सन स्पोर्टसले गर्नेछ ।

  • ४ फाल्गुन २०७४, शुक्रबार ०७:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित