कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कोहलपुर पर्यटन महोत्सवको विषयलाई लिएर सुचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ ले प्रत्यायोजन गरेको हरेक नागरिकलाई सूचनाको अधिकारलाई संरक्षण र प्रचलनमा ल्याउन आरटिआई कोहलपुर समूहले संघसँग सूचना माग गरेको हो । समूहका अध्यक्ष जय सिंह के.सी. र सचिव निर्मल आचार्यले माग गरेको सूचनामा संघको आयोजनामा सम्पन्न औद्योगिक व्यापार मेलामा खरिद गरिएका आथित्य सत्कारमा प्रयोग भएका मायाको चिनो, कदर पत्र, सम्मान पत्र र प्रशंसा पत्र कति परिमाणमा कति मूल्यमा खरिद गरिएको र खरिद गरिएको सामाग्रीहरुका विवरण खुलाई खरिद कुन विधी प्रक्रियाबाट गरिएको यसको विषयमा पूर्ण रुपमा सूचनाका माग गरिएको छ । राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउन, राज्य, सार्वजनिक संस्था र नागरिकको हितमा प्रतिकुल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था रहेको भन्दै माग गरिएको सूचनामा महोत्सव सञ्चालन अवधीमा कति परिमाणमा टिकट विक्री भयो ? र टिकट विक्रीबाट कति रकम संकलन भएको छ सो को सबै यथार्थपरक विवरणहरु पनि माग गरिएको छ । साथै सचिवालय उप–समितिले खरिद गरेका वस्तु तथा सेवाहरुको सबै विवरण र खरिद पक्रिया विधी बारे पनि सूचना माग गरिएको हो । संविधानले प्रत्याभूत गरेको कानुनी व्यवस्था अनुसार शासन सञ्चा
लनका सन्दर्भमा सरकार तथा सार्वजनिक निकायहरूद्वारा गरिने क्रियाकलापको बारेमा जान्न पाउनु जनताको नैसर्गिक अधिकार भएकाले यस्ता क्रियाकलापले जनताको जीवनमा प्रत्यक्ष एवं परोक्ष रूपमा असर पार्ने भएकाले हकको संरक्षण गर्न सूचना माग गरिएको आरटिआई समूह कोहलपुरका सल्लाहकार एवम् पत्रकार भिम रावतले बताएका छन् । सूचना माग सहितको पत्र कार्यालयमा पदाधिकारीहरुले बुझ्न आलटाल गरेपछि समूहले शुक्रवार नै हुलाक कार्यालयमार्फत पत्र पठाएर सूचना माग गरेको छ । संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई पटक–पटक सूचना माग सहितको पत्र बुझ्न आग्रह गरेका थियौं तर उहाँले कार्य व्यवस्ताको वहाना देखाउँदै पत्र बुझ्न नमानेपछि हुलाक कार्यालयमार्फत पत्र सम्प्रेषण गरेर सूचना माग गर्न बाध्य भयौं, समूहका अध्यक्ष के.सी.ले भने । नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष प्रदिप वाग्ले, स्थानीय पत्रकारहरु, समूहका सल्लाहकारहरु राजेश आचार्य, पुजन विश्वकर्मा लगाएतको टोली सूचना मागका लागि संघको कार्यालय पुगेको थियो । संघका पदाधिकारीहरु उपस्थित नभएपछि मौलिक हकको सम्बद्र्वन गर्न समूहले हुलाक कार्यालय मार्फत सूचना माग गरेको बताइएको छ ।