नरैनापुर) बाँके, चैत्र ११ ।न्यायिक समिति संघ बाँकेको चौथो बैठक नरैनापुर गाउँपालिकामा बसेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरस्थित गाउँपालिका कार्यालयमा संघको ‘मोबाइल मिटिङ्ग’ आइतबार बसेको हो । बैठकले संघलाई आवश्यक पर्ने ऐन, कानुन, कागजपत्र, फारामको ढाँचा ड्राफ्ट गर्ने जिम्मा संघका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई दिने निर्णय गरेको छ । ८ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरुको उपस्थितिमा बैठक बसेको हो । न्यायिक समितिको संयोजक स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ । बैठक अघि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले सबै उपप्रमुखहरुलाई गाउँपालिका कार्यालयमा स्वागत गर्नुभएको थियो । अध्यक्ष शाहले गाउँपालिकाले संचालन गरिरहेका गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयो । संघका संयोजक थापाले न्यायिक समितिको सहजताका लागि इजलास कक्ष, कानुन शाखा, कर्मचारीको व्यवस्थापन, दक्षता अभिबृद्धि तालिम गर्न गाउँपालिकालाई आग्रह गर्नुभएको थियो । न्यायिक समितिको काम, कर्तव्य, अधिकार र उपाध्यक्षको जिम्मेवारीबारे प्रष्ट हुन अध्यक्षलाई सहयोग पुर्याउने हेतुले सबै स्थानीय तहहरुमा ‘मोबाइल मिटिङ्ग’ राख्दै आएको थापाले बताउनुभयो । समितिको अर्को बैठक बैशाखमा राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्णय भएको संघले जनाएको छ । यसअघि कोहलपुरमा पहिलो, नेपालगञ्जमा दोस्रो र डुडुवामा संघको तेस्रो बैठक बसेको थियो ।