नेपालगन्ज ३० चैत । बाँकेको बाढी प्रभावित क्षेत्रका बिद्यालयहरुलाई बाँके युनेस्को क्लबले शैक्षिक तथा खेलकुदका सामाग्री बितरण गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ का बाढीवाट प्रभावित ५४ विद्यालय तथा ३० वटा बालबिकास केन्द्रलाई आज सो सामाग्री बितरण गरिएको हो ।
बाढी प्रभावित बालबालिकाहरुलाई कोकाकोलाको सहयोग कार्यक्रम अन्तरगत सो सामाग्रीहरु बितरण गरिएको हो । सेभ द चिल्ड्रेनको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके जिल्लाका बिभिन्न स्थानमा सहयोग कार्यक्रम संचालन गरिरहेको छ ।
कोही पनि बालबालिका शिक्षाको पहूचबाट नछुटुन भन्ने उद्देश्यले सो सामाग्री बितरण गरिएको युनेस्कोले जनाएको छ । बालबालिकाको शिक्षाको स्तर उकास्न यो सहयोगले मद्दत पुग्ने युनेस्को क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले यस्ता किसिमका सहयोगले बालबालिकाको अध्ययनले निरन्तरता पाउने विश्वास ब्यक्त गर्नुभयो । वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष खुमबहादुर बस्नेतले गाउँपालिकामा शिक्षाको समग्र विकासका लागि योजना बनाएको भन्दै शिक्षाको गुणस्तरियता तथा व्यवहारिक शिक्षाको विकासमा लाग्ने प्रतिबद्धता गर्नुभयो ।
उक्त सामाग्रीमा ३३ वटा शैक्षिक तथा खेलका सामाग्रीहरु रहेका छन । सामाग्रीमा कपी, कलम, मार्कर, फुटबल, भलिबल, लुडो, स्कीपिङ्ग, नेटजाली, सिटी लगायतका सामाग्रीहरु रहेका छन । सो वडाका अध्यक्ष बस्नेत, गाउँपालिका शिक्षा समितिका सदस्य टोपबहादुर सुनार, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक बिजय बिश्वकर्माले बिद्यालय तथा केन्द्रका प्रतिनिधीहरुलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो ।
यस अघि नरैनापुरका ४ बिद्यालयलाई समेत सो सामाग्रीहरु बितरण गरि सकिएको छ, भने नेपालगन्ज उप–महानगरपालिकाका ५ वटा श्रोत केन्द्रलाई समेत उक्त सामाग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको बताईएको छ । कार्यक्रम अन्तरगत बाढीवाट प्रभावित परिवारलाई पनि सहयोग उपलव्ध गराउने कार्यक्रम रहेको क्लबका अध्यक्ष सिद्दिकीले जानकारी दिनुभयो ।
क्लबका बरिष्ठ कार्यक्रम अधिकृत साजिद अली सिद्दिकीले संचालन गरेको बितरण कार्यक्रममा बाँके युनेस्कोका कार्यकारी निर्देशक रबि तुलाधर, कार्यक्रम संयोजक कृष्ण चौधरी, विद्यालय व्यवस्थापन समिति, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।