आइतबार दिउँसोबाट परेको अविरल वर्षातपछि खोला नालामा आएको बाढीमा परी बाँकेमा चार जनाको मृत्युभएको छ। डल्लीपुर नालामा आएको बाढीले बगाउँदा बैजनाथ गाउँपालिका-५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको छ। सोमवार बिहान नाला पार गर्ने क्रममा बगेर बेपत्ता भएका सुनारको शव ५०० मिटर तल झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। अविरल वर्षापछि जेठी नालामा आएको बाढीले बगाउँदा बैजनाथ गाउँपालिका-३, बनकटवाका ७२ वर्षीय तुलाबहादुर बुढाको पनि मृत्यु भएको छ। नालामा डुवेर बेपत्ता भएका बुढाको खजुरा गाउँपालिका -४ इगाउँ नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए।
यसैगरी सडकनजिक जमेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका-४, कौवापुरका ४ वर्षीय रन्जित पासीको सडक नजिकको खाल्डोमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै डुडुवा गाउँपालिका-२ जाफर पुर्वाका ४ वर्षीया रीमादेवी यादवको घर नजिकको खाल्डोमा डुवेर मृत्यु भएको प्रहरी निरीक्षक राठौरले जानकारी दिए। बाँकेको किरण नाला, पेडारी नाला, डुडुवा नाला, जेठी नालामा बाढी आएको छ। पेडारी नालामा बाढी आउँदा नेपालगन्ज-गुलरिया सडक खण्डमा आवागमन प्रभावित भएको छ। बाढीले राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको यातायात सेवा प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले सम्भावित बाढीबाट क्षति हुन नदिन खोज तथा उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिए । प्रशासनले बाढीको बढी जोखिममा रहेका नरैनापुर, डुडुवा र राप्ती सोनारीमा पूर्व तयारीका लागि यसअघि नै पत्राचार गरिसकेको छ ।